जहिलेजहिले इस्राएलका मानिसहरूले पाल टाँगेर डेरा बनाउँथे, मोशाले पालदेखि केही टाढासम्म पवित्र पाल लगेर राख्थे। त्यसलाई परमप्रभुको पवित्र पाल भनिन्थ्यो र त्यहाँ परमप्रभुको राय लिन चाहने मानिस जानेगर्थ्यो। जहिलेजहिले मोशा त्यहाँ जान्थे, मानिसहरू आ-आफ्ना तम्बुको ढोकानिर उभिएर मोशा पवित्र पालभित्र नपसेसम्म तिनलाई हेरिरहन्थे। मोशा भित्र पसेपछि बादलको खम्बा उभिएर पवित्र पालको ढोकामा खडा रहन्थ्यो र बादलको बीचबाट परमप्रभुले मोशासित कुरा गर्नुहुन्थ्यो। मानिसहरूले बादलका खम्बालाई पालको ढोकामा देख्नेबित्तिकै शिर निहुराएर ढोग्थे। जसरी मानिसले आफ्नो साथीसित कुरा गर्छ, त्यसरी परमप्रभु मोशासित मुखामुख कुरा गर्नुहुन्थ्यो। त्यसपछि मोशा पालमा फर्कन्थे। तर तिनलाई मद्दत गर्ने युवा नुनको छोरो यहोशूचाहिँ त्यहीँ पवित्र पालमा बस्थे। मोशाले परमप्रभुलाई भने, “तपाईंले यी मानिसहरूलाई त्यस देशमा डोर्याई लैजान मलाई भन्नुभएको साँचो हो, तर मसँग क-कसलाई पठाउनुहुनेछ त्यो त भन्नुभएन। तपाईंले भन्नुभयो कि तपाईंले मलाई चिन्नुहुन्छ र मसँग प्रसन्न हुनुहुन्छ। त्यसो हो भने मलाई आफ्नो इच्छा भन्नुहोस् र म तपाईंको सेवा गरेर तपाईंलाई प्रसन्न तुल्याइरहूँ। तपाईंले यस जातिलाई आफ्नै प्रजा सम्झनुहोस्।” परमप्रभुले भन्नुभयो, “म तँसित जानेछु र तँलाई विजय दिनेछु।” मोशाले उत्तर दिए, “तपाईं हामीसित जानुहुन्न भने हामीलाई यस ठाउँ छोड्न नलाउनुहोस्। तपाईं हामीसित जानुहुन्न भने कसरी तपाईं आफ्ना प्रजा र मसित प्रसन्न हुनुहुन्छ भन्ने कुरा मानिसहरूले थाहा पाउनेछन्? परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले भनेझैँ म गर्नेछु किनभने म तँलाई राम्ररी चिन्छु र तँसित प्रसन्न छु।” मोशाले बिन्ती गरे, “कृपा गरी मलाई तपाईंको उपस्थितिको चम्किलो ज्योति देखाउनुहोस्।” परमप्रभुले उत्तर दिनुभयो, “म मेरो सारा गौरव तेरो सामुबाट पार गराउनेछु र तेरो अघि आफ्नो पवित्र नाम उच्चारण गर्नेछु। म परमप्रभु हुँ र मैले चुनेकाहरूलाई म आफ्नो करुणा र दया देखाउँछु। म तँलाई मेरो अनुहार हेर्न दिनेछैनँ किनभने कोही पनि मेरो मुहार हेरेपछि जिउँदो रहन सक्दैन। तर यहाँ मेरो छेउमा एउटा स्थान छ, यही स्थानको चट्टानमाथि तँ खडा हो। मेरो उपस्थितिको चम्किलो ज्योति जब पार हुनेछ, तब म तँलाई चट्टानको एउटा धाँदोमा राख्नेछु र म पार नभएसम्म मेरो बाहुलीले तँलाई छोपिराख्नेछु। तब म मेरो बाहुली हटाउनेछु र तैँले मेरो पिठ्युँ देख्नेछस्, मुहारचाहिँ देख्नेछैनस्।”
प्रस्थान 33 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 33:7-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू