YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 3:1-11

प्रस्‍थान 3:1-11 सरल नेपाली

एक दिन मोशाले आफ्‍ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडाबाख्रा चराइरहेका थिए। उनले पशुका बथानलाई मरुभूमि पार गराएर पवित्र पर्वत सीनैमा पुर्‍याए। त्‍यहाँ परमप्रभुका दूत एउटा पोथ्राको बीचमा जलिरहेको ज्‍वालाको रूपमा उनको अघि प्रकट भए। मोशाले देखे कि पोथ्रा जलिरहेको थियो; तर भस्‍म भएको थिएन। “यो त उदेकको कुरा हो, पोथ्राचाहिँ किन भस्‍म हुँदैन? म छेउमै गएर हेर्नुपर्‍यो,” उनले मनमा भने। मोशालाई नजिक आएको देखेर पोथ्राको बीचबाट परमप्रभुले उनलाई बोलाउनुभयो, “मोशा! ए मोशा!!” मोशाले उत्तर दिए, “हजुर, म यहाँ छु।” परमेश्‍वरले भन्‍नुभयो, “छेउमा नआइज। तेरो खुट्टामा भएको जुत्ता फुकाल् किनभने तँ पवित्र भूमिमा उभिएको छस्। म तेरा पुर्खाहरूका परमेश्‍वर हुँ, अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ।” मोशाले आफ्‍नो अनुहार छोपे किनभने उनी परमेश्‍वरलाई हेर्न डराए। परमप्रभुले भन्‍नुभयो, “मिश्रमा मेरा प्रजालाई कति निष्‍ठुरतासित सताइँदै छ, मैले देखेको छु। निष्‍ठुरी नाइकेहरूका हातदेखि छुटकारा पाउन तिनीहरूले गरेको पुकार मैले सुनेको छु। तिनीहरूका दु:ख र पीडा म सबै जान्‍दछु। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट बचाउन र मिश्रदेशबाट निकाली एउटा फराकिलो देशमा पुर्‍याउन म आएको छु। त्‍यो देश धनी र मलिलो छ, त्‍यहाँ अहिले कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरू बसेका छन्। मैले साँच्‍चै आफ्‍ना प्रजाको पुकार सुनेको छु र मिश्रीहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो देखेको छु। अब म तँलाई मिश्रदेशको राजाकहाँ पठाउँदै छु र तैँले मेरा प्रजालाई त्‍यसको देशदेखि डोर्‍याएर निकाली ल्‍याउनेछस्।” तर मोशाले परमेश्‍वरलाई भने, “म को हुँ र? म कसरी राजाकहाँ गएर इस्राएलीहरूलाई निकाली ल्‍याउन सक्‍छु?”

प्रस्‍थान 3 पढ्नुहोस्