YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 20:1-23

प्रस्‍थान 20:1-23 सरल नेपाली

परमेश्‍वरले यी वचनहरू भन्‍नुभयो, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, तिमीहरू दास-दासी भएर बसेका मिश्रदेशबाट मैले तिमीहरूलाई निकाली ल्‍याएँ। “मबाहेक अरू कुनै देवता-देवीलाई तिमीहरूले नपुज्‍नू। “तिमीहरूले आफ्‍नो लागि स्‍वर्ग वा पृथ्‍वी वा पृथ्‍वीमुनि पानीमा भएको कुनै पनि कुराको मूर्ति नबनाउनू। तिमीहरूले कुनै मूर्तिलाई नढोग्‍नू न त तिनीहरूको पूजा नै गर्नू किनभने म तिमीहरूका परमेश्‍वर परमप्रभु हुँ अनि कोही मजस्तै हुन खोजेको म सहन्‍नँ। मलाई घृणा गर्नेहरूलाई तिनीहरूका सन्‍तानका तेस्रो र चौथो पुस्‍तासम्‍म म दण्‍ड दिनेछु। तर जसले मलाई प्रेम गर्छ र मेरा आज्ञा मान्‍छ, तिनीहरूका हजारौँ पुस्‍ताहरूमाथि म मेरो प्रेम देखाउनेछु। “कुनै खराब उद्देश्यको निम्ति मेरो नाम नलिनू किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ र मेरो नामको दुरुपयोग गर्नेलाई म दण्‍ड दिनेछु। “विश्रामको दिन मान्‍ने गर र त्‍यस दिनलाई पवित्र राख। तिमीहरू आफ्‍ना काम छ दिनसम्‍म गर, तर सातौँ दिनचाहिँ मलाई अर्पण गरिएको विश्रामको दिन हो। त्‍यो दिन कसैले काम नगर्नू। तिमीहरू, तिमीहरूका छोरा-छोरी, कमारा-कमारी, गाई-वस्‍तु र तिमीहरूका देशमा बास गर्ने परदेशी, कसैले पनि केही काम गर्नेछैन। म परमप्रभुले छ दिनमा पृथ्‍वी, आकाश, समुद्र र त्‍यहाँ भएका सबै थोक बनाएँ र सातौँ दिनमा विश्राम लिएँ। त्‍यसैकारण म परमप्रभुले विश्रामको दिनलाई आशिष् दिएर पवित्र पारें। “आफ्‍ना आमा-बुबालाई आदर गर र मैले दिएको देशमा तिमीहरू धेरै दिनसम्‍म बाँच्‍नेछौ। “तिमीहरूले हत्‍या नगर्नू। “तिमीहरूले व्‍यभिचार नगर्नू। “तिमीहरूले चोरी नगर्नू। “तिमीहरूले कसैलाई झूटो दोष नलाउनू। “तिमीहरूले अर्काका घर, स्‍वास्‍नी, कमारा-कमारी, गाई-गोरु, गधा वा अरू कुनै कुराको पनि लालच नगर्नू।” जब मानिसहरूले आकाशको गर्जन र तुरहीको सोर सुने अनि बिजुली चम्‍केको र पर्वतबाट निस्‍केको धुवाँ देखे, तब तिनीहरू डरले काँपे र टाढा उभिए। तिनीहरूले मोशालाई भने, “तिमी हामीसित बोल्‍यौ भने हामी तिम्रा कुरा सुन्‍नेछौं; तर परमेश्‍वर हामीसित बोल्‍नुभयो भने हामी मर्नेछौं भन्‍ने हामीलाई डर छ।” मोशाले उत्तर दिए, “नडराओ, परमेश्‍वर तिमीहरूको जाँच गर्न आउनुभएको हो किनभने तिमीहरूले पाप नगर्नू भनी उहाँको डर तिमीहरूले मान्‍न सिकाउन उहाँ आउनुभएको हो।” तर मानिसहरू टाढै उभिरहे अनि मोशा मात्र कालो बादलको छेउमा गए, जहाँ परमेश्‍वर हुनुहुन्‍थ्‍यो। परमप्रभुले इस्राएलीहरूलाई यसो भन्‍न मोशालाई आज्ञा दिनुभयो, “म परमप्रभुले कसरी स्‍वर्गबाट तिमीहरूसित बोलें सो तिमीहरूले देखेका छौ। तिमीहरूले मबाहेक अरू सुन वा चाँदीका देवताहरू बनाएर नपुज्‍नू।

प्रस्‍थान 20 पढ्नुहोस्