प्रस्‍थान 20:1-23

प्रस्‍थान 20:1-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो: “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ। “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू। “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु। “परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू। छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌। किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो। “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌। “हत्‍या नगर्नू। “व्‍यभिचार नगर्नू। “चोरी नगर्नू। “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। “आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।” जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे। तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस्‌ र हामी सुन्‍नेछौं, तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।” मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वर तिमीहरूलाई जाँच्‍नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।” मानिसहरू टाढ़ै उभिरहे। परमेश्‍वर हुनुभएको त्‍यो बाक्‍लो बादलमा उहाँको नजिक मोशा गए। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्‍नू: स्‍वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ। मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्‍ना निम्‍ति नबनाउनू।

शेयर गर्नुहोस्
प्रस्‍थान 20 पढ्नुहोस्

प्रस्‍थान 20:1-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरले यी कुराहरू भन्‍नुभयो: “म नै याहवेह, तेरा परमेश्‍वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ। “मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्‍नू। आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्‍वर, डाह गर्ने परमेश्‍वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु; तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु। तैँले याहवेह, आफ्ना परमेश्‍वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन। शब्बाथलाई पवित्र राखेर त्यसको सम्झना गर्नू। छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू; तर सातौँ दिन याहवेह तेरा परमेश्‍वरका निम्ति शब्बाथ हो। यस दिन तैँले केही काम नगर्नू; न त तैँले, न तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न तेरा पशुहरूले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू। किनकि छ दिनमा याहवेहले आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकहरू बनाउनुभयो, तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो। यसकारण याहवेहले शब्बाथलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र तुल्याउनुभयो। तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्‍वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्। तैँले मानव हत्या नगर्नू। तैँले व्यभिचार नगर्नू। तैँले चोरी नगर्नू। तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू। तैँले तेरा छिमेकीको घरको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।” जब सारा मानिसहरूले गर्जन, बिजुली देखे; अनि तुरहीको आवाज सुने, र पर्वत धुवाँले भरिएको देखे, तब तिनीहरू डरले थरथर कामे। तिनीहरू टाढै उभिए, अनि मोशालाई भने, “हामीसित तपाईं नै बोल्नुहोस्, र हामी सुन्‍नेछौँ। तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौँ।” अनि मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वरको डर तिमीहरूमा रहिरहोस्, साथै उहाँले तिमीहरूलाई जाँच गर्न र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।” त्यसैले मानिसहरू टाढै उभिरहे। अनि मोशाचाहिँ परमेश्‍वर उपस्थित हुनुभएको त्यस बाक्लो कालो बादलको नजिक गए। तब याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘मैले तिमीहरूसित स्वर्गबाट बोलेको तिमीहरूले देखेका छौ: तिमीहरूले मेरो साथमा अरू देवी-देवताहरू नबनाउनू, न त आफ्ना निम्ति चाँदी वा सुनका देवी-देवताहरू नै बनाउनू।

शेयर गर्नुहोस्
प्रस्‍थान 20 पढ्नुहोस्

प्रस्‍थान 20:1-23 पवित्र बाइबल (NERV)

तब परमप्रभुले भन्नुभयो, “म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। “तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन। “तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ। कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु। तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हुनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ। “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन। “विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैँ ध्यानमा राख। हप्तामा छ दिन आफ्नो काम गर। तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन। किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो। “तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्नु पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ। “तिमीहरूले कसैको हत्या गर्नु हुँदैन। “तिमीले व्यभिचार गर्नु हुँदैन। “तिमीले कुनै चीज चोरी गर्नु हुँदैन। “तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन। “तिमीहरूले छिमेकीहरूका घर, पत्नी, पुरूष अनि स्त्री, कमारा, कमारीहरू अथवा तिनीहरूको केही चीजहरूको चाहना गर्नु हुँदैन” यस समयमा मानिसहरूले बेंसीमा गर्जनहरू सुने अनि पहाडमा आगो देखे। तिनीहरूले तुरहीको आवाज सुने। तिनीहरूले पर्वतबाट धुवाँ निस्केको देखे। मानिसहरू डराए र डरले कामे। तिनीहरू पर्वतदेखि धेरै टाढा उभिएर हेरे। तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसँग कुरा नगरून्। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।” तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।” जब मोशा कालो बादलभित्र गए जहाँ परमेश्वर हुनु हुन्थ्यो मानिसहरू पर्वतदेखि टाढै उभिए। तब परमप्रभुले इस्राएली मानिसहरूलाई यी कुराहरू भन्नु भनी मोशालाई भन्नु भयो, “स्वर्गबाट मैले तिमीसित कुरा गरेको तिम्रा मानिसहरूले देखे। यसकारण म सँग-सँगै पूज्नको निम्ति चाँदी अथवा सुनको मूर्तिहरू नबनाऊ।

शेयर गर्नुहोस्
प्रस्‍थान 20 पढ्नुहोस्

प्रस्‍थान 20:1-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले यी वचनहरू भन्‍नुभयो, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, तिमीहरू दास-दासी भएर बसेका मिश्रदेशबाट मैले तिमीहरूलाई निकाली ल्‍याएँ। “मबाहेक अरू कुनै देवता-देवीलाई तिमीहरूले नपुज्‍नू। “तिमीहरूले आफ्‍नो लागि स्‍वर्ग वा पृथ्‍वी वा पृथ्‍वीमुनि पानीमा भएको कुनै पनि कुराको मूर्ति नबनाउनू। तिमीहरूले कुनै मूर्तिलाई नढोग्‍नू न त तिनीहरूको पूजा नै गर्नू किनभने म तिमीहरूका परमेश्‍वर परमप्रभु हुँ अनि कोही मजस्तै हुन खोजेको म सहन्‍नँ। मलाई घृणा गर्नेहरूलाई तिनीहरूका सन्‍तानका तेस्रो र चौथो पुस्‍तासम्‍म म दण्‍ड दिनेछु। तर जसले मलाई प्रेम गर्छ र मेरा आज्ञा मान्‍छ, तिनीहरूका हजारौँ पुस्‍ताहरूमाथि म मेरो प्रेम देखाउनेछु। “कुनै खराब उद्देश्यको निम्ति मेरो नाम नलिनू किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ र मेरो नामको दुरुपयोग गर्नेलाई म दण्‍ड दिनेछु। “विश्रामको दिन मान्‍ने गर र त्‍यस दिनलाई पवित्र राख। तिमीहरू आफ्‍ना काम छ दिनसम्‍म गर, तर सातौँ दिनचाहिँ मलाई अर्पण गरिएको विश्रामको दिन हो। त्‍यो दिन कसैले काम नगर्नू। तिमीहरू, तिमीहरूका छोरा-छोरी, कमारा-कमारी, गाई-वस्‍तु र तिमीहरूका देशमा बास गर्ने परदेशी, कसैले पनि केही काम गर्नेछैन। म परमप्रभुले छ दिनमा पृथ्‍वी, आकाश, समुद्र र त्‍यहाँ भएका सबै थोक बनाएँ र सातौँ दिनमा विश्राम लिएँ। त्‍यसैकारण म परमप्रभुले विश्रामको दिनलाई आशिष् दिएर पवित्र पारें। “आफ्‍ना आमा-बुबालाई आदर गर र मैले दिएको देशमा तिमीहरू धेरै दिनसम्‍म बाँच्‍नेछौ। “तिमीहरूले हत्‍या नगर्नू। “तिमीहरूले व्‍यभिचार नगर्नू। “तिमीहरूले चोरी नगर्नू। “तिमीहरूले कसैलाई झूटो दोष नलाउनू। “तिमीहरूले अर्काका घर, स्‍वास्‍नी, कमारा-कमारी, गाई-गोरु, गधा वा अरू कुनै कुराको पनि लालच नगर्नू।” जब मानिसहरूले आकाशको गर्जन र तुरहीको सोर सुने अनि बिजुली चम्‍केको र पर्वतबाट निस्‍केको धुवाँ देखे, तब तिनीहरू डरले काँपे र टाढा उभिए। तिनीहरूले मोशालाई भने, “तिमी हामीसित बोल्‍यौ भने हामी तिम्रा कुरा सुन्‍नेछौं; तर परमेश्‍वर हामीसित बोल्‍नुभयो भने हामी मर्नेछौं भन्‍ने हामीलाई डर छ।” मोशाले उत्तर दिए, “नडराओ, परमेश्‍वर तिमीहरूको जाँच गर्न आउनुभएको हो किनभने तिमीहरूले पाप नगर्नू भनी उहाँको डर तिमीहरूले मान्‍न सिकाउन उहाँ आउनुभएको हो।” तर मानिसहरू टाढै उभिरहे अनि मोशा मात्र कालो बादलको छेउमा गए, जहाँ परमेश्‍वर हुनुहुन्‍थ्‍यो। परमप्रभुले इस्राएलीहरूलाई यसो भन्‍न मोशालाई आज्ञा दिनुभयो, “म परमप्रभुले कसरी स्‍वर्गबाट तिमीहरूसित बोलें सो तिमीहरूले देखेका छौ। तिमीहरूले मबाहेक अरू सुन वा चाँदीका देवताहरू बनाएर नपुज्‍नू।

शेयर गर्नुहोस्
प्रस्‍थान 20 पढ्नुहोस्