मोशा ठूलो भएपछि आफ्ना भाइ-बन्धु इस्राएलीहरूकहाँ गए र त्यहाँ तिनीहरूले दु:ख गरेर धेरै काम गरेको देखे। त्यहाँ मोशाले आफ्नै एक जना इस्राएली भाइलाई एउटा मिश्रीले कुटिरहेको देखे। मोशाले चारैपट्टि हेरे, उनलाई कसैले हेरेको थिएन। त्यस मिश्रीलाई मारेर त्यसको लाश उनले बालुवामा पुरिदिए। भोलिपल्ट जाँदा उनले दुई हिब्रूहरूलाई आपसमा झगडा गरिरहेको देखे। अन्याय गर्नेचाहिँलाई उनले भने, “तिमीले किन आफ्नै भाइलाई हिर्काउँदै छौ?” त्यस मानिसले जवाफ दियो, “कसले तिमीलाई हाम्रा हाकिम र न्यायाधीश खटायो? त्यो मिश्रीलाई जस्तै मलाई पनि मार्ने?” मोशा डराए र सोचे, “मेरो कुरा मानिसहरूलाई थाहा भएछ।” यो कुरो राजाले पनि चाल पाएर तिनले मोशालाई मार्ने चेष्टा गर्न लागे; तर मोशा भागेर गई मिद्यान देशमा बस्न थाले। एक दिन मोशा एउटा इनारको छेउमा बसिरहेका थिए। मिद्यानको पूजाहारी यित्रोका सात वटी छोरीहरू पानी भर्न आए र आफ्ना बुबाका भेडा-बाख्राले पिउने पानीका डुँडहरू भर्न लागे। तर केही गोठालाहरूले यित्रोका छोरीहरूलाई लघारे। तब मोशाले ती केटीहरूको बचाउ गरे र तिनीहरूका भेडाबाख्राहरूलाई पानी खुवाइदिए। तिनीहरू घर फर्की आएपछि बुबाले सोधे, “आज कसरी तिमीहरू यति चाँडै आयौ?” केटीहरूले भने, “एउटा मिश्रीले गोठालाहरूदेखि हाम्रो बचाउ गरे र हाम्रा पशुहरूलाई पनि पानी तानेर पियाए।” “उनी कहाँ छन्?” बुबाले छोरीहरूलाई सोधे, “किन त्यस असल मानिसलाई त्यहीँ छोडेर आयौ? जाओ, उनलाई हामीसँग खानपान गर्न डाकेर ल्याओ।” मोशा त्यहाँ बास गर्न राजी भए। यित्रोले आफ्नी छोरी सिप्पोरासित मोशाको विवाह गरिदिए। सिप्पोराले एउटा छोरो जन्माइन्। मोशाले, “म यस देशमा परदेशी छु,” भने र त्यसको नाम गेर्शोम राखे। धेरै वर्षपछि मिश्रका राजा मरे तर इस्राएलीहरू कमारा काममा पेलिएर अझै कराइरहेका थिए र सहायताको निम्ति पुकार गर्न लागे। तिनीहरूको पुकार परमेश्वरकहाँ पुग्यो। परमेश्वरले तिनीहरूको विलाप सुन्नुभयो र आफूले अब्राहाम, इसहाक र याकूबसँग गर्नुभएका करारलाई सम्झनुभयो। उहाँले इस्राएलीहरूलाई हेर्नुभयो र तिनीहरूको निम्ति फिक्री गर्नुभयो।
प्रस्थान 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 2:11-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू