YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 14:1-14

प्रस्‍थान 14:1-14 सरल नेपाली

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई फर्केर गई मिग्‍दोल र लाल समुद्रका बीचमा भएको बाल-सेफोनको नजिकको पी-हहीरोतको सामुन्‍ने पाल टाँग्‍नू भन्। तब मिश्रका राजाले इस्राएलीहरू यही देशमा डुलिरहेका छन् र मरुभूमिले तिनीहरूको बाटो थुनिदिएको छ भनी ठान्‍नेछ। म त्‍यसको मन कठोर गराउनेछु र त्‍यसले तिमीहरूलाई खेद्‌नेछ; तर त्‍यो र त्‍यसको सेनामाथि विजय गर्नेछु र मेरो महिमा हुनेछ। तब मिश्रीहरूले परमप्रभु म नै हुँ भनी जान्‍नेछन्।” इस्राएलीहरूले त्‍यसै गरे। जब मिश्रका राजाकहाँ इस्राएलीहरू भागे भन्‍ने खबर पुग्‍यो, तब तिनले र तिनका भारदारहरूले आफ्‍नो मन फेरेर यसो भने, “हामीले के गर्‍यौं हँ? हामीले इस्राएलीहरूलाई भाग्‍न दियौं र हाम्रा दास-दासीहरू गुमायौं!” राजाले आफ्‍नो लडाइँका रथ र सेनालाई तयार पारे। तिनी आफ्‍ना सबैभन्दा असल ६०० रथहरू र तिनका कप्‍तानहरूसमेत र अरू सबै रथहरू लिएर तिनीहरूका पछि लागे। परमप्रभुले राजाको मन कठोर गराउनुभयो र तिनले इस्राएलीहरूलाई खेदे, जो विजयी बनेर अगाडि गइरहेका थिए। मिश्री सेनाले आफ्‍ना सबै घोडा, रथ र सारथीहरूसँग लिएर तिनीहरूलाई खेदे र लाल समुद्रछेउमा पी-हहीरोत र बाल-सेफोनको नजिकै टाँगेका पालमा तिनीहरूलाई भेटे। मिश्री राजा र सेनालाई आफूमाथि आइलागेका देखेर इस्राएलीहरू डराए र सहायताको निम्‍ति परमप्रभुलाई पुकारे। तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान थिएन र? तिमीले हामीलाई के यो उजाड मरुभूमिमा मर्नलाई ल्‍याउनुपर्थ्‍यो र? मिश्रबाट निकाली ल्‍याएर अब हामीलाई यो के गर्‍यौ? यस्‍तै हुन्‍छ भनी हामीले के अघिबाटै भनेका थिएनौं र? हामीलाई छोडिदेऊ र मिश्रीहरूका दासदासी नै रहन देऊ भनी हामीले तिमीलाई पहिले नै भनेका थियौं। यहाँ मरुभूमिमा मर्नुभन्दा त बरु त्‍यहाँ मिश्रमा दास-दासी भएर बस्‍नु नै असल हुन्‍थ्‍यो।” मोशाले उत्तर दिए, “नडराओ! दह्रो होओ! आज तिमीहरूलाई कसरी परमप्रभुले बचाउनुहुनेछ, सो तिमीहरूले देख्‍नेछौ। यी मिश्रीहरूलाई फेरि कहिल्‍यै पनि तिमीहरूले देख्‍नेछैनौ। परमप्रभुले तिम्रा लागि लड्‍नुहुनेछ, तिमीहरूले केही गर्नुपर्नेछैन।”

प्रस्‍थान 14 पढ्नुहोस्