YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 10:1-15

प्रस्‍थान 10:1-15 सरल नेपाली

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “गएर राजालाई भेट्। मैले राजा र उसका भारदारहरूको मन कठोर बनाएको छु। तिनीहरूका बीचमा मैले यी आश्‍चर्यका कामहरू गरें र ती गर्दा कसरी मिश्रीहरूलाई मूर्ख बनाएको थिएँ, त्‍यो कुरा तिमीहरूले आफ्‍ना छोरानातिहरूलाई भन्‍न सकौला भनेरै मैले तिनीहरूको मन कठोर गरेको छु। तिमीहरू सबैले म परमप्रभु हुँ भनी जान्‍नेछौ।” यसकारण मोशा र हारून राजाकहाँ गएर भने, “हिब्रूहरूका परमेश्‍वर परमप्रभु भन्‍नुहुन्‍छ, ‘कहिलेसम्‍म तिमीहरू मलाई अस्‍वीकार गरिरहन्‍छौ? मेरा प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुजून्। तैँले मेरा कुरा नमानी बसिस्‌ भने भोलि म तेरो देशमा सलहहरू ल्‍याउनेछु। यति धेरै सलहहरू हुनेछन् कि तिनीहरूले सारा जमिन ढाक्‍नेछन्। असिनाले छोडेका सबै थोक, बाँचेका रूखहरूसमेत तिनीहरूले खानेछन्‌। तेरा महलहरू र भारदारका र प्रजाका सबै घरहरू सलहहरूले भरिनेछन्। त्‍यति धेरै सलहहरू त तेरा पितापुर्खाहरूले कहिल्‍यै देखेका थिएनन्।” मोशा फनक्‍क फर्केर हिँडे। राजाका भारदारहरूले तिनलाई भने, “यस मानिसले कहिलेसम्‍म हामीलाई दु:ख दिइरहने हो? इस्राएलीहरूलाई छोडिदिनुहोस् र तिनीहरू गएर परमप्रभु आफ्‍ना परमेश्‍वरलाई पुजून्। के हजुरलाई थाहा छैन, मिश्रदेश नै नष्‍ट भइसक्‍यो?” तब मोशा र हारून राजाकहाँ ल्‍याइए र राजाले भने, “तिमीहरू गएर आफ्‍ना परमेश्‍वर परमप्रभुलाई पुज्‍न सक्‍नेछौ। तर तिमीहरूमध्‍ये को-को जाने?” मोशाले उत्तर दिए, “हामीहरू सबै, बालबच्‍चाहरू र बुढा-बुढीहरूसमेत सबै नै जानेछौं। हामीहरू आफ्‍ना छोरा-छोरी, भेडाबाख्रा सबै लैजानेछौं किनभने हामीले परमप्रभुलाई आदर गरेर एउटा चाड मनाउनुपर्छ।” राजाले भने, “म परमप्रभुको नाममा कसम खाएर भन्‍छु कि म तिमीहरूलाई आइमाई, छोरा-छोरीहरू लैजान दिनेछैनँ। तिमीहरूले विद्रोह गर्न जाल रचेको स्पष्‍ट देखिन्छ। अँहँ, परमप्रभुलाई आराधना गर्न चाहन्‍छौ भने खालि पुरुषहरू मात्र गएर आराधना गर।” त्‍यसो भनेर मोशा र हारून राजाको सामुबाट निकालिए। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलहहरू मिश्रमा आऊन् भनी आफ्‍नो हात पसार्‌। खेतबारीमा उब्जिएका हरथोक र असिनाबाट बचेका हरेक चीज तिनीहरूले आएर खानेछन्।” मोशाले आफ्‍नो लौरो उचाले र परमप्रभुले त्‍यस दिन र रातभरि मिश्रदेशमा पूर्वबाट बतास ल्‍याउनुभयो। भोलिपल्‍ट बिहान त्‍यो बतासले सलहहरू ल्‍यायो। ती हुलका हुल आए र सारा देशभरि बसे। त्‍यति धेरै सलहहरू न त अघि आएका थिए न पछि नै आउनेछन्। तिनीहरूले ढाकिएर सारा जमिन कालै भयो। असिनाबाट बाँचेका सबै थोक, रूखको फलहरूसमेत तिनीहरूले खाए। मिश्रदेशमा भएका रूखको हरियो-परियो र सागपात केही रहेन।

प्रस्‍थान 10 पढ्नुहोस्