व्यवस्था 9
9
इस्राएलीहरूको अनाज्ञाकारीता
1“हे इस्राएलका मानिसहरू हो! सुन! आज तिमीहरूले यर्दन नदी पार गर्न आँटेका छौ र तिमीहरूभन्दा ठूला शक्तिशाली जातिहरूका देशलाई अधीनमा लिन आँटेका छौ। तिनीहरूका सहरहरू ठूला-ठूला र तिनमा लाएका अग्ला-अग्ला पर्खालहरू आकाश छुने छन्। 2त्यहाँका मानिसहरू अग्ला र बलिया छन्, तिनीहरू दैँत्यजस्ता हुन् र तिनीहरूको अघि कोही खडा रहन सक्दैन भनी तिमीहरूले सुनेका छौ। 3तर अब तिमीहरू आफैं देख्नेछौ, परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको अघि-अघि दन्कने आगोझैँ जानुहुनेछ। तिमीहरू अघि बढ्दैजाँदा उहाँले प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूको हार गराउनुहुनेछ र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ र चाँडै नाश पार्नेछौ।
4“तिमीहरूका निम्ति परमप्रभु परमेश्वरले तिनीहरूलाई धपाइसक्नुभएपछि हामी योग्य थियौं र नै उहाँले हामीलाई यो देश अधीन गर्नलाई ल्याउनुभएको हो भनी आपसमा भनाभन् नगर। त्यसो होइन तर यी मानिसहरू दुष्ट छन् र नै परमप्रभुले यिनीहरूलाई धपाउन लाग्दै हुनुहुन्छ। 5तिमीहरू असल छौ र जे ठीक छ सो गर्दछौ भनेर परमप्रभुले त्यो देश तिमीहरूलाई अधीन गर्न दिनुभएको होइन। तर तिनीहरू दुष्ट छन् र उहाँले तिम्रा पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्न चाहनुहुन्छ र नै तिनीहरूलाई धपाउनुहुनेछ। 6तिमीहरूले यो निश्चय जान, तिमीहरू योग्य भएका हुनाले परमप्रभुले यो मलिलो भूमि तिमीहरूलाई दिनुभएको होइन। अँहँ, तिमीहरू त ढिट मानिसहरू हौ।
7“तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई कसरी उजाड-स्थानमा रिस उठाएका थियौ, त्यो कहिल्यै नभुल। मिश्र छोडेको दिनदेखि यहाँ आइपुगेको दिनसम्म तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गरेका छौ। 8सीनै पर्वतमा पनि तिमीहरूले परमप्रभुलाई रिस उठायौ। उहाँ यति रिसाउनुहुन्थ्यो कि तिमीहरूलाई नाश पार्न चाहनुहुन्थ्यो। 9#प्रस्थान 24:18परमप्रभुले तिमीहरूसित बाँध्नुभएको करार लेखिएका ढुङ्गाका पाटीहरू लिनलाई म पर्वतमाथि गएँ। म त्यहाँ चालीस दिन र चालीस रात बसें र केही खानपान गरिनँ। 10तब परमप्रभुले मलाई ती दुईवटा ढुङ्गाका पाटीहरू दिनुभयो, जसमा उहाँले आफ्नै हातले त्यस दिन तिमीहरूलाई भन्नुभएका कुराहरू लेख्नुभएको थियो। त्यस दिन तिमीहरू पर्वतमा भेला भएका बेलामा उहाँले आगोबाट ती कुराहरू बोल्नुभएको थियो। 11हो, चालीस दिन र चालीस रातपछि त्यो दिन परमप्रभुले मलाई दुईवटा ढुङ्गाका पाटीहरू दिनुभयो, जसमा उहाँले करार लेख्नुभएको थियो।
12“तब परमप्रभुले मलाई भन्नुभयो, ‘झट्टै पर्वतबाट तल ओर्ली, तैँले मिश्रबाट डोर्याएका मानिसहरू भ्रष्ट भएका छन् र दुष्ट काम गरिरहेका छन्। मैले तिनीहरूलाई जे गर्नू भनी आज्ञा गरेको थिएँ, त्यो तिनीहरूले मानेनन् र आफ्नो लागि एउटा मूर्ति बनाइसकेका छन्।’
13“परमप्रभुले मलाई यो पनि भन्नुभयो, ‘म जान्दछु कि यी मानिसहरू कस्ता ढिट छन्। 14मलाई रोक्ने चेष्टा नगर्। म तिनीहरूलाई नाश गर्न चाहन्छु र अब उसो तिनीहरूको सम्झना मेटिनेछ र म तँलाई यिनीहरूभन्दा ठूलो र शक्तिशाली जातिको पिता बनाउनेछु।’
15“यसकारण ती करार लेखिएका ढुङ्गाका दुईवटा पाटीहरू बोकेर म फेरि पर्वतबाट झरें। त्यस बेला पर्वतबाट आगोको ज्वाला निस्किरहेको थियो। 16मैले देखें कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरले दिनुभएका आज्ञा तोडिसकेका रहेछौ र बाछोको रूपको एउटा धातुको मूर्ति आफ्नो निम्ति बनाएर उहाँको विरुद्धमा पाप गरिसकेका रहेछौ। 17र त्यहाँ तिमीहरूका सामुन्ने मैले ती ढुङ्गाका पाटीहरू फ्याँकेर टुक्रा-टुक्रा पारिदिएँ। 18तब फेरि एकचोटि म चालीस दिन र चालीस रातसम्म परमप्रभुको अघि आफ्नो शिर निहुराएर पस्रिएँ र केही खानपान गरिनँ। मैले त्यसो गरें किनभने तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेर उहाँलाई रिस उठाइसकेका थियौ। 19#हिब्रू 12:21परमप्रभुको डरलाग्दो क्रोधले गर्दा म डराएँ किनभने उहाँ यति रिसाउनुभएको थियो कि तिमीहरूलाई नाश पार्न तयार हुनुहुन्थ्यो। तर फेरि एकपल्ट परमप्रभुले मेरो बिन्ती सुन्नुभयो। 20परमप्रभु हारूनसित पनि पूरै रिसाउनुभएको थियो र उसलाई पनि मार्न सक्नुहुन्थ्यो। यसकारण मैले त्यस बेला हारूनको लागि पनि बिन्ती गरें। 21तिनीहरूले बनाएको त्यो पापको वस्तु– धातुको बाछो– मैले लिएर आगोमा फ्याँकिदिएँ। त्यसपछि त्यसलाई मैले टुक्रा-टुक्रा पारेर फुटाएँ, पिंधेर धुलो पारें र पहाडबाट बहेर आएको खोलामा त्यो धुलो फालिदिएँ।
22 #
गन्ती 11:3;
प्रस्थान 17:7;
गन्ती 11:34
“तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई तबेरा, मस्साह र किब्रोथ-हत्तावामा पनि रिस उठायौ। 23#गन्ती 13:17; व्यवस्था 1:21; गन्ती 13:31; व्यवस्था 1:26; हिब्रू 3:16अनि उहाँले दिँदै गर्नुभएको देश अधीनमा लिनू भन्ने आज्ञा दिएर जब उहाँले तिमीहरूलाई कादेश-बर्नेबाट पठाउनुभयो, तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गर्यौ, उहाँमाथि भरोसा गरेनौ र आज्ञा मानेनौ। 24मैले तिमीहरूलाई चिनेको बेलादेखि यस्तो सधैँ तिमीहरूले परमप्रभुको विरोध गरेका छौ।
25“यसकारण यी चालीस दिन र रातभरि म परमप्रभुको अघि आफ्नो शिर निहुराएर पस्रिबसें किनभने म जान्दथें कि उहाँले तिमीहरूलाई नाश गर्ने सङ्कल्प गरी सक्नुभएको थियो। 26र मैले प्रार्थना गरें, ‘सार्वभौम पराक्रमी परमप्रभु! आफ्ना निज प्रजालाई नाश नपार्नुहोस्, जसलाई तपाईंले आफ्ना महान् शक्ति र बलले मिश्रदेखि निकाली ल्याउनुभयो। 27आफ्ना सेवक अब्राहाम, इसहाक र याकूबलाई याद गर्नुहोस् र यी मानिसहरूका ढिटपना, दुष्टता र पापमा ध्यान नदिनुहोस्। 28होइन भने तिनीहरूले भन्नेछन् कि तपाईंले आफ्ना प्रजालाई आफूले प्रतिज्ञा गरेको देशमा लैजान सक्नुभएन र तपाईंले आफ्ना मानिसहरूलाई उजाड-स्थानमा मार्न लैजानुभयो किनभने तपाईंले तिनीहरूलाई घिन गर्नुहुन्थ्यो। 29जे भए तापनि तपाईंले आफ्ना निज प्रजा बनाउनलाई चुन्नुभएको जाति यो नै हो, जसलाई आफ्नो महान् शक्ति र बलले मिश्रबाट निकाली ल्याउनुभयो।’
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 9: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.