YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 4:5-14

व्‍यवस्‍था 4:5-14 सरल नेपाली

“परमप्रभु तेरा परमेश्‍वरले भन्‍नुभएअनुसार मैले सबै नियमहरू तिमीहरूलाई सिकाएको छु। जुन देशमाथि तिमीहरूले हमला गरी अधीन गर्न लागेका छौ, त्‍यहाँ ती नियमहरू पालन गर। विश्‍वासी भई ती नियमहरू पालन गर र अरू जातिका मानिसहरूले तिमीहरू कति बुद्धिमान् रहेछौ भनी देख्‍नेछन्। यी सबै नियमहरू सुनेपछि तिनीहरूले भन्‍नेछन्, ‘यस महान् जातिसित कस्‍तो बुद्धि र समझशक्ति रहेछ!’ “खाँचो परेका बेलामा जसरी परमप्रभु हाम्रा परमेश्‍वर हाम्रा नजिक आउनुहुन्‍छ, त्‍यसरी नजिक आउने ईश्‍वर अरू जस्‍तै ठूलो जातिसँग पनि छैन। जहिले हामी उहाँलाई सहायताको लागि पुकार्छौं, उहाँले हामीलाई उत्तर दिनुहुन्‍छ। अरू जत्तिकै ठूला जाति भए तापनि तिनीहरूसित आज मैले तिमीहरूलाई सिकाएजस्‍ता न्‍यायपूर्ण नियमहरू छैनन्। होशियार होओ! तिमीहरूले आफ्‍ना आँखाले जे देखेका छौ, त्‍यो आफू बाँचुञ्‍जेलसम्‍म नभुल्‍ने निश्‍चय गर। आफ्‍ना छोरा-छोरी र नाति-नातिनालाई सीनै पर्वतमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको अघि उभिएका दिनको बारेमा भन। त्‍यो दिन उहाँले मलाई यसो भन्‍नुभएको थियो, ‘मानिसहरूलाई भेला गर्‌। म चाहन्‍छु कि तिनीहरूले मेरा कुरा सुनून् र तिनीहरू बाँचुञ्‍जेलसम्‍म मेरा आज्ञा मान्‍न सिकून् र आफ्‍ना सन्‍तानलाई मेरो डर मान्‍न सिकाऊन्।’ “तिम्रा छोरा-छोरीहरूलाई भन कि तिमीहरू कसरी कालो धुवाँको बादलले ढाकेको र आगो आकाशसम्‍म दन्‍किरहेको पर्वतको फेदमा गएर उभिएका थियौ। तिनीहरूलाई भन कि कसरी परमप्रभु आगोबाट तिमीहरूसित बोल्‍नुभयो र तिमीहरूले उहाँको बोली त सुन्‍यौ; तर उहाँलाई कुनै किसिमको रूपमा पनि देख्‍न सकेनौ। उहाँले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले कसरी पूरा गर्नुपर्छ, सो उहाँले भन्‍नुभयो; अर्थात् उहाँले दुईवटा ढुङ्गाका पाटीमा लेख्‍नुभएका दश आज्ञाहरू नै तिमीहरूले मान्‍नुपर्छ। तिमीहरूले हमला गरी आफ्‍ना अधीन गर्न लागेका देशमा पालना गर्नुपर्ने सबै नियमहरू तिमीहरूलाई सिकाउनू भनी परमप्रभुले मलाई आज्ञा गर्नुभयो।

व्‍यवस्‍था 4 पढ्नुहोस्