YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 28:3-14

व्‍यवस्‍था 28:3-14 सरल नेपाली

“परमप्रभुले तिम्रा सहर र खेतबारीहरूलाई आशिष् दिनुहुनेछ। “परमप्रभुले तिमीहरूलाई धेरै छोरा-छोरीहरू, गाई-गोरु र भेडाहरू र प्रशस्‍त अन्‍नबाली दिएर आशिष् दिनुहुनेछ। “परमप्रभुले तिम्रा उब्‍जनीका अन्‍न र तीबाट तयार गरिएका भोजनमाथि आशिष् दिनुहुनेछ। “परमप्रभुले तिम्रा हर काममा आशिष् दिनुहुनेछ। “तिम्रा बैरीले हमला गरेको बेलामा परमप्रभुले तिनको हार गराउनुहुनेछ। तिनीहरूले एक बाटोबाट हमला गर्न आउनेछन् तर सात बाटो भएर भाग्‍नेछन्। “परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा काममा आशिष् दिनुहुनेछ र ढुकुटीहरू अन्‍नले भरिदिनुहुनेछ। अनि उहाँले दिन लाग्‍नुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मान्‍यौ र उहाँले आज्ञा गर्नुभएको हर कुरा गर्‍यौ भने उहाँले आफ्‍नो प्रतिज्ञाअनुसार तिमीहरूलाई आफ्‍नो निजी प्रजा बनाउनुहुनेछ। तब पृथ्‍वीका सारा जातिले तिमीहरूलाई परमप्रभुले आफ्‍नो निजी प्रजा गरी चुन्‍नुभएको छ भनी देख्‍नेछन् र तिमीहरूसित डराउनेछन्। तिम्रा पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देशमा परमप्रभुले तिमीहरूलाई धेरै-धेरै सन्‍तान र गाई-वस्‍तु अनि प्रशस्‍त अन्‍नबाली दिनुहुनेछ। आकाशको आफ्‍नो भरिभराउ भण्‍डारबाट वर्षा ऋतुमा उहाँले पानीको झरी दिनुहुनेछ र तिम्रा सबै काममा आशिष् दिनुहुनेछ र तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ। तर तिमीहरूले चाहिँ उनीहरूबाट केही कुरा ऋण लिनुपर्नेछैन। परमप्रभु तिम्रा परमेश्‍वरले धेरै जातिहरूका बीचमा तिमीहरूलाई पछ्याउनेहरू होइन तर अगुवाहरू बनाउनुहुनेछ। मैले आज तिमीहरूलाई दिँदैगरेका उहाँका आज्ञाहरू तिमीहरूले विश्‍वासयोग्‍यतासाथ पालन गर्‍यौ भने सधैँ तिम्रो फलिफाप हुनेछ, कुनै कुरामा कहिल्‍यै असफल हुनेछैनौ। तर कहिल्‍यै पनि कुनै प्रकारले तिनलाई तोड्‍नुहुन्‍न अथवा अरू देव-देवताको पूजा वा सेवा गर्नुहुँदैन।