“त्यसपछि हामी अन्तमा फर्केर परमप्रभुको आज्ञाअनुसार लाल-समुद्रको बाटो भएर उजाड-स्थानमा गयौं र धेरै दिनसम्म एदोमका डाँडाहरूमा डुलिहिँड्यौं। “तब परमप्रभुले मलाई भन्नुभयो कि ती पहाडहरूमा डुलिहिँडेर हामीले धेरै समय बिताइसकेका थियौं र अब हामी उत्तरतिर लाग्नुपर्नेछ। मलाई उहाँले तिमीहरूलाई यसो भन्ने आदेश दिनुभयो, ‘तिमीहरूका टाढाका नातेदारहरू एसावका सन्तानको देश एदोमका डाँडाहरूबाट भएर तिमीहरू जान आँटेका छौ। तिनीहरू तिमीहरूसित डराउनेछन्, तर तिमीहरूले तिनीहरूसित लडाइँ सुरु नगर्नू किनभने म तिमीहरूलाई तिनीहरूका देशको एक बित्ता जमिन पनि दिनेछैनँ। एदोम मैले एसावका सन्तानलाई दिएको छु। तिमीहरूले तिनीहरूबाट खानेकुरा किन्न सक्नेछौ।’ “याद राख, परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूले गरेका हरेक काममा आशीर्वाद दिनुभएको छ। ठूलो उजाड-स्थानमा डुलिहिँड्दा उहाँले तिमीहरूको हेरविचार गर्नुभयो। यी बितेका चालीस वर्षभरि उहाँ तिमीहरूसित रहनुभएको छ र आफूलाई चाहिएको हरथोक तिमीहरूले पाएका छौ। “र हामीहरू हिँड्यौं र एलात र एस्योन-गेबेरबाट मृत सागरतिर जाने बाटो छोडेर उत्तर-पूर्वको मोआबतर्फ लाग्यौं। परमप्रभुले मलाई भन्नुभयो, ‘लोतका सन्तान मोआबका मानिसहरूलाई नचलाउनू, तिनीहरूसित लडाइँ सुरु नगर्नू। आर सहर मैले तिनीहरूलाई दिएको छु र तिनीहरूको कुनै पनि जग्गा-जमिन म तिमीहरूलाई दिनेछैनँ’।” (एमी भनिने एउटा शक्तिशाली अग्ला वंश आरमा बस्थे। अर्को अग्ला वंश अनाकीहरूजस्तै तिनीहरू अग्ला-अग्ला थिए। अनाकीजस्तै तिनीहरूलाई रपाई पनि भनिन्थ्यो तर मोआबीहरूले तिनीहरूलाई एमी भन्दथे। होरीहरू एदोममा बस्ने गर्थे तर एसावको पुर्खाहरूले तिनीहरूलाई खेदे, तिनीहरूका जातिलाई नाश पारे र आफैं त्यहाँ बसोबास गर्न लागे। ठीक त्यसरी नै पछिबाट इस्राएलीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएको देशबाट आफ्ना शत्रुहरूलाई खेदे।) “त्यसपछि हामीलाई परमप्रभुले भन्नुभएअनुसार हामीले जेरेद नदी पार गर्यौं। हामीले कादेश-बर्ने छोडेको अठ्तीस वर्षपछि यो भएको हो। परमप्रभुले भन्नुभएअनुसार त्यस पुस्ताका सबै लडाकू मानिसहरू मरिसकेका थिए। तिनीहरू सबै नाश नभइञ्जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठेको थियो। “तिनीहरू सबै मरिसकेपछि परमप्रभुले हामीलाई भन्नुभयो, ‘आज तिमीहरू मोआब देशको बीचबाट आर सहर भएर जानुपर्नेछ। तब तिमीहरू लोतका सन्तान अम्मोनीहरूका देशको छेउमा पुग्नेछौ। तिमीहरूले तिनीहरूलाई नचलाउनू वा तिनीहरूसित लडाइँ सुरु नगर्नू किनभने मैले तिनीहरूलाई दिएको कुनै पनि जग्गा-जमिन म तिमीहरूलाई दिनेछैनँ’।” (यो देशलाई रपाईहरूको देश पनि भनिन्थ्यो। त्यहाँका बासिन्दाहरूको नामै रपाई थियो। अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मी भन्दथे। तिनीहरू अनाकीहरूजस्तै अग्ला थिए। तिनीहरूको सङ्ख्या धेरै थियो र तिनीहरू एउटा शक्तिशाली जाति थिए। तर परमप्रभुले तिनीहरूलाई नाश पार्नुभयो र अम्मोनीहरूले तिनीहरूको देश जितेर त्यहाँ बसोबास गर्न लागे। परमप्रभुले एदोमका डाँडाहरूमा बास गर्ने एसावका सन्तान एदोमीहरूलाई त्यसै गर्नुभएको थियो। उहाँले होरीहरूलाई नाश पार्नुभयो र तिनीहरूका देश एदोमीहरूले अधीन गरी त्यहाँ बसोबास गर्न लागे र अझसम्म तिनीहरू त्यहाँ बस्छन्। क्रेट टापूबाट आएका मानिसहरूले भूमध्य सागरको किनारका प्रदेशहरूमा बसोबास गरे। त्यहाँ पहिलेदेखि नै बसोबास गरेर आउने अव्वीहरूलाई तिनीहरूले नाश पारे र तिनीहरूका सारा देश, दक्षिणमा गाजा सहरसम्म आफ्ना अधिकारमा लिए।)
व्यवस्था 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 2:1-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू