YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 14

14
शोक गर्ने अनुचित प्रथा
1 # लेवी 19:28; 21:5 “तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका जन हौ। यसकारण तिमीहरू कोही मर्दा शोक मनाउनेछौ भने अरूहरूले झैँ आफैंलाई चोट नलाउनू अथवा टाउकाको अघिल्‍तिर नखौरनू। 2#प्रस्‍थान 19:5,6; व्यवस्था 4:20; 7:6; 26:18; तीतस 2:14; १ पत्रुस 2:9तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका जन हौ। पृथ्‍वीमा बास गर्ने सबै जातिहरूका माझबाट तिमीहरूलाई उहाँका आफ्‍ना निज प्रजा चुन्‍नुभयो।
शुद्ध र अशुद्ध पशुहरू
(लेवी ११:१-४७)
3“परमप्रभुले अशुद्ध भनी भन्‍नुभएको कुनै थोक नखाओ। 4तिमीहरूले यी पशुहरू खान सक्‍छौ– गाईवस्‍तु भेडा, बाख्रा, 5मृग, जङ्गली भेडा-बाख्रा वा हरिणहरू– 6खुर चिरिएका र उग्राउने सबै जन्‍तुहरू। 7तर खुर नचिरिएका र नउग्राउने पशुहरू खाँदै नखानू। ऊँट, खरायो र भीर खन्‍ने खरायो नखानू। तिनीहरूलाई अशुद्ध ठान्‍नू। तिनीहरू उग्राउन त उग्राउँछन्; तर तिनका खुर चिरिएका हुँदैनन्। 8सुँगुर नखानू। तिनलाई अशुद्ध ठान्‍नुपर्छ। तिनीहरूका खुर त चिरिएका हुन्‍छन् तर तिनीहरू उग्राउँदैनन्। यी कुनै जन्‍तु नखानू, तिनका सिनु पनि नछुनू।
9“पखेटा र कत्‍ला भएका हरथरिका माछा तिमीहरू खान सक्‍छौ; 10तर पखेटा र कत्‍ला नभएका जलमा बस्‍ने कुनै पनि जन्‍तु नखानू। तिनलाई अशुद्ध ठान्‍नुपर्छ।
11“कुनै पनि शुद्ध चरो तिमीहरू खान सक्‍छौ। 12-18तर यस प्रकारका चराहरूचाहिँ नखानू– चिल, लाटोकोसेरो, गरुड, बाज, बेसारा, गिद्ध, काग, शुतुरमुर्ग, समुद्री हाँस, बकुल्‍ला, सारस, ठूलो चुच्‍चो भएको सामुद्रिक चरो, पानी धनेस, फाप्रेचरो र चमेराहरू।
19“पखेटा भएका सबै किराहरू अशुद्ध हुन्, ती नखानू। 20कुनै पनि शुद्ध किरा खान सक्‍छौ।
21 # प्रस्‍थान 23:19; 34:26 “आफैं मरेको पशु नखानू। तिम्रा बीचमा बास गर्ने विदेशीलाई त्‍यो खान दिन सक्‍छौ कि त अरू विदेशीहरूलाई बेचिदिन सक्‍छौ। तर तिमीहरूचाहिँ परमप्रभु परमेश्‍वरका हौ, तिमीहरू उहाँका जनहरू हौ।
“भेडा वा बाख्राका पाठालाई त्‍यसको माउको दूधमा नपकाउनू।
दशांशको नियम
22 # लेवी 27:30-33; गन्ती 18:21 “दशौँ भाग– तिम्रा खेतबारीमा हरसाल उब्‍जनी भएका कुराको दश भागबाट एक भाग अलग छुट्ट्याएर राख। 23तर परमप्रभु तिम्रा परमेश्‍वरले चुन्‍नुभएको त्‍यो एक मात्र आराधना-स्‍थलमा जाओ अनि त्‍यहाँ परमप्रभुको सामुन्‍ने आफ्‍ना अन्‍न, मद्य र जैतुन तेलको दशौँ भाग र गाई-वस्‍तु र भेडाका पहिला बाछा वा पाठाहरू खाओ। परमप्रभु आफ्‍ना परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्‍नलाई यसो गर्ने गर। 24यदि त्‍यस्‍तो आराधना-स्‍थल तिम्रा घरदेखि धेरै टाढा छ र परमप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको उब्‍जनीको दशौँ भाग त्‍यहाँ पुर्‍याउन गाह्रो भयो भने तिमीहरूले यसो गर– 25आफ्‍नो उब्‍जनी बेच र पाएको दाम त्‍यस एक मात्र आराधना-स्‍थलमा लिएर जाओ। 26तिमीहरू साँढे, भेडाको थुमा, मद्य तथा अरूमद्य जे चाहन्‍छौ, त्‍यो सो पैसाले किन र त्‍यहाँ परमप्रभु परमेश्‍वरको अघि तिमीहरू र तिम्रा परिवारहरूले त्‍यो खाएर आनन्‍द मनाओ।
27“तिम्रा सहरहरूमा बास गर्ने लेवीहरूको वास्‍ता गर्न नछोड। तिनीहरूको आफ्‍नो सम्‍पत्ति छैन। 28हरेक तेस्रो वर्षको अन्‍तमा तिम्रा सारा उब्‍जनीका दशौँ हिस्‍सा बटुली ल्‍याओ र आफ्‍ना सहरहरूमा जम्‍मा गर। 29त्‍यो तिम्रा सहरहरूमा बास गर्ने लेवीहरू, जसका आफ्‍नो सम्‍पत्ति छैन, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरूको लागि हो। तिनीहरू आएर आफूलाई चाहिएको जति चीज लिएर जानेछन्। त्‍यसो गर र परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूले गरेको हरेक काममा आशिष् दिनुहुनेछ।

अहिले सेलेक्ट गरिएको:

व्‍यवस्‍था 14: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्