व्यवस्था 1
1
परिचय
1यर्दन नदीको पूर्वपट्टिको उजाडस्थानमा इस्राएलीहरूलाई मोशाले भनेका वचनहरू यस पुस्तकमा छन्। त्यस बेला तिनीहरू यर्दन बेसीमा सूपको छेउ एकापट्टि अराबामा पारान सहर र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाब सहरहरूका बीचमा थिए। 2(एदोमको पहाडी भूमिबाट भएर सेइर पर्वतदेखि कादेश-बर्नेसम्म जानलाई एघार दिन लाग्छ)। 3तिनीहरूले मिश्र छोडेको चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार मोशाले सबै कुराहरू इस्राएलीहरूलाई भने। 4#गन्ती 21:21-35हेश्बोन सहरमा राज गर्ने एमोरी राजा सीहोन अनि अस्तारोत र एद्रेई सहरहरूमा राज गर्ने बाशानका राजा ओगलाई परमप्रभुले जितेपछि यो कुरा भएको हो। 5इस्राएलीहरू यर्दनको पूर्वपट्टि मोआब देशमा भएका बेलामा मोशाले परमेश्वरका व्यवस्था र शिक्षाहरू बुझाउन थाले।
उनले भने, 6“हामीहरू सीनै पर्वतमा छँदा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा बसेको धेरै भयो। 7अब छाउनी उठाओ र अघि बढ। तिमीहरू एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका यर्दन बेसी, त्यहाँका पहाडी प्रदेश र तराईहरू, दक्षिणतिरको भूभाग र भूमध्य सागरको किनारसम्म जाओ। तिमीहरू कनान देश र लेबनानका पर्वतहरूपारि, यूफ्रेटिस महानदी भएको ठाउँसम्म जाओ। 8यी सबै ठाउँहरू परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक, याकूब र तिनका सन्तानहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशभित्र पर्छन्। गएर त्यो देश अधिकार गर’।”
मोशाले न्यायकर्ताहरू खटाउँछन्
(प्रस्थान १८:१३-२७)
9मोशाले मानिसहरूलाई भने, “हामीहरू सीनै पर्वतमा छँदै मैले तिमीहरूलाई भनेको थिएँ, ‘तिमीहरूको अगुवाइ गर्ने जिम्मेवारी मेरो लागि अति गाह्रो छ। म एक्लै यो काम गर्न सक्दिनँ। 10परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्ती बनाउनुभएको छ। 11परमप्रभु तिमीहरूका पुर्खाका परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिमीहरूलाई हजार गुणा बढाऊन् र फलिफाप गराऊन्! 12तर म एक्लैले कसरी तिमीहरूको झै-झगडा मिलाउने ठूलो जिम्मेवारी बोक्न सक्छु र? 13हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू छान र म तिनीहरूलाई तिमीहरूका अगुवा खटाउनेछु।’ 14त्यो गर्न असल हुन्छ भनी तिमीहरूले मानेका थियौ। 15यसकारण तिमीहरूले आ-आफ्ना कुलबाट छानेका बुद्धिमान् र अनुभवी अगुवाहरूलाई लिएर मैले तिमीहरूको जिम्मा दिएँ। कसैले एक हजार मानिसको, कसैले एक सयको, कसैले पचासको र कसैले दश जनाको जिम्मा लिए। मैले कुल-कुलमा अरू हाकिमहरू पनि खटाएँ।
16“त्यस बेला मैले तिनीहरूलाई यस्तो आदेश दिएको थिएँ, ‘तिम्रा मानिसहरूका बीचमा भएका झगडाहरूको बयान सुन। तिम्रा आफ्ना जात-भाइ होस् वा तिम्रा बीचमा बास गर्ने विदेशी होस्, सबैको झगडामा ठीक-ठीक न्याय गरिदेओ। 17कसैपट्टि लागेर फैसला नदेओ। ठूला-साना सबैको एकै प्रकारले न्याय गर। कोही मानिससँग नडराओ किनभने तिमीहरूले दिएको फैसला परमेश्वरबाट आउँछ। तिमीहरूलाई कुनै झगडा मिलाउन गाह्रो पर्यो भने त्यो मकहाँ ल्याओ र म त्यसमा फैसला गर्नेछु।’ 18त्यही बेला तिमीहरूले गर्नुपर्ने अरू सबै कुराबारे मैले तिमीहरूलाई आदेश दिएको थिएँ।
कादेश-बर्नेबाट जासूसहरू पठाइन्छन्
(गन्ती १३:१-३३)
19“परमप्रभु हाम्रा परमेश्वरले जे आज्ञा गर्नुभएको थियो, त्यो हामीले पूरा गर्यौं। हामी सीनै पर्वतबाट हिँड्यौं अनि ठूलो र डरलाग्दो उजाड-स्थानका बीचबाट भएर एमोरीहरूका पहाडी देशमा पुग्यौं। हामी कादेश-बर्ने पुग्दा मैले भनें, 20-21‘तिमीहरू अब एमोरीहरूका पहाडी देशमा आइपुग्यौ। यो देश, परमप्रभु हाम्रा परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले हामीलाई दिँदै हुनुहुन्छ। हेर, त्यो यहीँ छ। जाओ र उहाँले आज्ञा गर्नुभएअनुसार त्यसलाई कब्जा गर। नडराओ अनि सङ्कोच नमान।’
22“तर मकहाँ आएर तिमीहरूले भन्यौ, ‘त्यस देशको भेद लिनलाई हामीहरू अघिबाट मानिसहरू पठाऔं र तिनीहरूले हामीलाई त्यहाँ जानलाई सबैभन्दा सजिलो बाटो र ती कस्ता प्रकारका सहर छन्, सो बताउन सक्नेछन्।’
23“त्यसो गर्न असल देखियो र मैले प्रत्येक कुलबाट एक-एक जना गरेर बाह्र जना मानिसहरूलाई छानें। 24तिनीहरूले पहाडी देशभित्र एश्कोलको बेसीसम्म गएर जाँचबुझ गरे। 25तिनीहरूले त्यहाँ पाएका फलहरू ल्याए र परमप्रभु हाम्रा परमेश्वरले दिनुहुने त्यो देश खुबै मलिलो छ भनी सुनाए।
26 #
व्यवस्था 9:23; हिब्रू 3:16 “तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाको विरोध गर्यौ र त्यस देशभित्र पसेनौ। 27तिमीहरूले आपसमा गनगन गर्यौ र भन्यौ, ‘परमप्रभुले हामीलाई हेला गर्नुहुन्छ। एमोरीहरूले हामीलाई मारून् भनी तिनीहरूका हातमा पारिदिनलाई उहाँले हामीलाई मिश्रदेशबाट निकाली ल्याउनुभयो। 28हामीहरू किन त्यहाँ जानु र? हामीलाई डर लाग्छ। हामीले पठाएका मानिसहरूले त्यहाँका मानिसहरू हामीहरूभन्दा बलिया र अग्ला छन् अनि तिनीहरू आकाश छुने पर्खालले घेरेका सहरहरूमा बास गर्छन् भन्ने समाचार ल्याए। त्यहाँ तिनीहरूले दैँत्यहरूजस्ता देखे रे!’
29“तर मैले भनें, ‘ती मानिसहरूसित तिमीहरू नडराओ। 30-31#प्रेरित 13:18परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ। तिमीहरूले मिश्रमा र उजाडस्थानमा देखेजस्तै उहाँले तिमीहरूको लागि फेरि लडाइँ गर्नुहुनेछ। बुबाले आफ्ना छोरालाई बोकेझैँ उहाँले तिमीहरूलाई यस ठाउँसम्म कसरी कुशलसाथ ल्याइपुर्याउनुभयो, त्यो तिमीहरूले देख्यौ।’ 32#हिब्रू 3:19तर मैले त्यति भने तापनि तिमीहरूले चाहिँ परमप्रभुमा भरोसा गरेनौ। 33परमप्रभु सधैँ तिम्रा अघिअघि गएर तिमीहरूका लागि पाल हाल्ने ठाउँ खोजी हिँड्नुहुन्थ्यो। तिमीहरूलाई बाटो देखाउनलाई उहाँ राती आगोको खाँबोमा र दिउँसो बादलको खाँबोमा तिम्रा अघि-अघि जानुहुन्थ्यो र पनि तिमीहरूले उहाँलाई विश्वास गरेनौ।
इस्राएलमाथि परमप्रभुको दण्ड
(गन्ती १४:२०-४५)
34 #
हिब्रू 3:18
“तिमीहरूको गनगन सुनेर परमप्रभु रिसाउनुभयो र उहाँले गम्भीर वचन सुनाउनुभयो, 35‘यो दुष्ट पुस्ताबाट तिमीहरूमध्ये एक जना पनि मैले तिम्रा पुर्खालाई प्रतिज्ञा गरेको त्यस मलिलो देशमा पस्नेछैनौ। 36यपुन्नेको छोरो कालेब मात्र त्यहाँ पस्नेछ। त्यो मप्रति विश्वासी रहेको छ र त्यसले जाँचबुझ गरेको देश म त्यसलाई र त्यसका सन्तानलाई दिनेछु।’ 37तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो र भन्नुभयो, ‘मोशा, तँ पनि त्यस देशमा पस्नेछैनस्। 38तर, तेरो सहायक नूनको छोरो यहोशूलाई उत्साह दिएर बलियो बना। त्यसले इस्राएलीहरूलाई त्यस देशको अधिकार गर्न अगुवाइ गर्नेछ।’
39“तब परमप्रभुले हामी सबैलाई भन्नुभयो, ‘तिम्रा छोरा-छोरीहरू जो अझै स-साना छन् र असल र खराब छुट्ट्याउन सक्दैनन्, जसलाई तिम्रा शत्रुहरूले पक्रिलैजानेछन् भनी तिमीहरू भन्थ्यौ, तिनीहरू त्यस देशमा पस्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यसलाई आफ्ना अधिकारमा लिनेछन्। 40तर तिमीहरूचाहिँ लाल-समुद्रको बाटो भएर उजाडस्थानमा फर्केर जाओ।’
41“तिमीहरूले जवाफ दियौ, ‘मोशा! हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं। तर अब परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएअनुसार हामी आक्रमण गर्नेछौं।’ अनि तिमीहरू एक-एक जनालाई पहाडी देशमाथि हमला गर्न सजिलो हुनेछ भन्ठानी लडाइँ गर्नलाई तयार भयौ।
42“तर परमप्रभुले मलाई भन्नुभयो, ‘तिनीहरूलाई हमला नगर्नू भनी चेतावनी दे किनभने म तिनीहरूसित रहनेछैनँ र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई नै हराउनेछन्।’ 43परमप्रभुले भन्नुभएको कुरा मैले तिमीहरूलाई सुनाएँ तर तिमीहरूले केही ध्यानै दिएनौ। तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गर्यौ र आफ्ना अहङ्कारमा पहाडी देशमाथि हमला गर्यौ। 44तब ती पहाडहरूमा बास गर्ने एमोरीहरू मौरीका हुलझैँ तिम्रा विरुद्धमा आइलागे। तिनीहरूले तिमीहरूलाई होर्मासम्म खेदे र त्यहाँ एदोमको डाँडामा तिमीहरूलाई जिते। 45तिमीहरूले मद्दतको लागि परमप्रभुलाई पुकार्यौ तर उहाँले तिमीहरूको पुकार सुन्नुभएन, तिमीहरूमाथि केही ध्यानै दिनुभएन।’
46“तर यसरी धेरै दिनसम्म तिमीहरू कादेशमा बास गर्यौ।”
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 1: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.