तब दानिएल, जसलाई बेलतसजर पनि भनिन्थ्यो, यति साह्रो तर्से कि केही बेर त तिनी बोल्नै सकेनन्। राजाले उनलाई भने, “ए बेलतसजर, सपना र त्यसको अर्थले तिमीलाई व्याकुल नपारोस्।” बेलतसजरले जवाफ दिए, “महाराज, यो सपना र त्यसको अर्थ हजुरलाई नभएर हजुरका शत्रुहरूलाई भए त हुनेथ्यो। त्यो अग्लो र आकाशसम्म पुगेको रूखलाई संसारमा भएका सबैले देख्न सक्थे। त्यसका पातहरू सुन्दर र फल संसारका सबै जनालाई खान पुग्नेथियो। त्यसको ओतमुनि जङ्गली जनावरले बस्ने ठाउँ पाउँथे र त्यसका हाँगाहरूमा पंक्षीहरूले गुँड लाउँथे। “महाराज, त्यो अग्लो र बलियो रूख तपाईं हुनुहुन्छ। तपाईं बढेर यति महान् हुनुभएको छ कि आकाशसम्मै पुग्नुभएको छ र तपाईंको शक्ति सारा संसारमा फैलिएको छ। महाराजाले हेरिरहनुभएको बेला स्वर्गबाट एउटा पवित्र स्वर्गदूत आएर भने, ‘त्यो रूख काटेर ढालिदे तर त्यसको ठुटाचाहिँ जमिनमा नै छोडिदे। त्यसलाई फलाम र काँसाको साङ्लाले बाँध र मैदानमा घाँसको बीचमा छोडिदे। त्यो मानिसमाथि आकाशको शीत परोस् र त्यहाँ त्यो जनावरहरूसित सात वर्षसम्म बास बसोस्।’ “महाराज, त्यसको अर्थ हो, सर्वोच्च परमेश्वरले हजुरलाई यस्तो हुनेछ भनी घोषणा गर्नुभएको छ: मानव-समाजबाट हजुर धपाइनुहुनेछ र जङ्गली जनावरहरूसित बास गर्नुहुनेछ। सात वर्षसम्म हजुरले गोरुले झैँ घाँस खानुहुनेछ र खुल्ला मैदानमा सुत्नुहुनेछ र शीत हजुरमाथिपर्नेछ। त्यसपछि सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यमाथि अधिकार गर्नुहुन्छ र ती राज्य उहाँले आफूले चुनेका कुनै पनि मानिसको हातमा दिनुहुन्छ भनी हजुरले स्वीकार गर्नुहुनेछ। ठुटा जमिनमै छोडियोस् भन्ने आज्ञाको अर्थ यो हो कि जब हजुरले सारा संसारमा परमेश्वरले राज्य गर्नुहुन्छ भनी स्वीकार गर्नुहुनेछ, तब हजुर फेरि राजा हुनुहुनेछ। यसर्थ हे महाराज, मेरो सल्लाहअनुसार गर्नुहोस्। पाप गर्न छोड्नुहोस्, असल काम गर्नुहोस् र अत्याचार भएकाहरूमाथि दया गर्नुहोस्। त्यसो गर्नुभए हजुरको उन्नति भइरहनेछ।”
दानिएल 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 4:19-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू