YouVersion लोगो
खोज आइकन

कलस्सी 3:1-17

कलस्सी 3:1-17 सरल नेपाली

तिमीहरू पनि ख्रीष्‍टसँगै बिउँतिएकोले स्‍वर्गकै कुरा खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुहुन्‍छ। पृथ्‍वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्‍नो मन लगाओ किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकेर रहेको छ। तिमीहरूको सच्‍चा जीवन त ख्रीष्‍ट नै हुनुहुन्‍छ अनि उहाँ देखापर्दा तिमीहरू पनि उहाँसँगसँगै देखापर्नेछौ अनि उहाँकै सम्‍मान्‌को सहभागी हुनेछौ। संसारमा तिमीहरू आफ्‍ना शरीरका इच्‍छालाई मार, जस्‍तै: व्‍यभिचारको इच्‍छा, अशुद्ध कुरा, छाडा इच्‍छा, नराम्रा विचार, लोभ आदि हुन्। यिनै कुराहरूले गर्दा नै परमेश्‍वरको रिस उहाँका आज्ञाहरू नमान्‍नेमाथि पर्नेछ। तिमीहरूको जीवन पनि एक पल्‍ट यस्‍तै थियो र यिनै कुरामा चल्‍थ्‍यौ। तर अब तिमीहरूले रिस-राग, डाहा, निन्‍दा, गाली आफूबाट हटाउनुपर्छ। तिमीहरूले कसैलाई ढाँट्‍ने काम नगर किनभने आफ्‍ना पुरानो जीवन र त्‍यसका बानीबेहोरा छोडिसकेका छौ। अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्‍वर यसको सृष्‍टिकर्ताले यो स्वभाव उहाँकै स्‍वरूपमा सधैँ नयाँ पारिरहनुहुन्‍छ। यसकारण यहाँ इस्राएली र ग्रीक, शरीरमा खतना गरेका र नगरेका, असभ्य, अशिक्षित, कमारा र फुक्‍का कुनैको भेद रहँदैन तर ख्रीष्‍ट मात्र हुनुहुन्‍छ र ख्रीष्‍ट नै सबैमा हुनुहुन्‍छ। तिमीहरू नै परमेश्‍वरले छानेका प्‍यारा पवित्र जनहरू हौ। यसकारण तिमीहरूले माया, दया, नम्रता, सोझोपन, सहनेशक्ति लुगाजस्‍तै लाउनुपर्छ। तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर। यी सबै गुणहरूभन्दा बेसी प्रेमलाई अपनाओ किनभने प्रेमले नै सबै कुरालाई पूर्ण एकतामा ल्‍याउँछ। ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्। यही शान्‍तिको लागि नै परमेश्‍वरले तिमीहरूलाई एउटै शरीरमा बोलाउनुभएको हो। यसमा तिमीहरू धन्‍यवादी होओ। ख्रीष्‍टको शिक्षाले तिमीहरूको हृदय भरिभराउ होस्। आफ्‍ना सबै ज्ञान-बुद्धिले सिकाउने र सल्‍लाह दिने गर। धन्‍यवादी बनेर भजन, स्‍तुति र आत्‍माका गीतहरूले हृदयदेखि परमेश्‍वरलाई चढाउओ। तिमीहरूले जे भने पनि, जे गरे पनि सबै कुरा प्रभु येशूकै नाउँमा गर अनि उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढाओ।

कलस्सी 3 पढ्नुहोस्