YouVersion लोगो
खोज आइकन

कलस्सी 1

1
1परमेश्‍वरको इच्‍छाले ख्रीष्‍ट येशूको प्रेरित भएको म पावल र हाम्रा भाइ तिमोथीले 2कलस्‍सेमा बस्‍ने ख्रीष्‍टमा भएका पवित्र जनहरू र विश्‍वासी दाजुभाइहरूलाई लेख्‍दै छौं। हाम्रा परमेश्‍वर पिताले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्।
धन्‍यवादको प्रार्थना
3हामी तिमीहरूका लागि प्रार्थना गर्दा परमेश्‍वर, हाम्रा प्रभु येशू ख्रीष्‍टका पितालाई सधैँ धन्‍यवाद चढाउँछौं 4किनभने हामीले ख्रीष्‍ट येशूमा भएको तिमीहरूको विश्‍वासको अनि ख्रीष्‍टका पवित्र जनहरूलाई तिमीहरूले गरेको प्रेमको बारेमा पनि सुनेका छौं। 5तिमीहरूको लागि स्‍वर्गमा सुरक्षासँग राखिएको आशाले गर्दा तिमीहरूले यस्‍तो विश्‍वास र प्रेम गरेका हौ। यो आशाको विषयमा अघिदेखि नै खुसीको सत्‍य सन्‍देशमा तिमीहरूले सुन्‍यौ। 6यो सुसमाचार तिमीहरूकहाँ पनि आएको छ। सुसमाचारले सारा संसारमा फल ल्‍याउँदै बढिरहेछ। त्‍यसरी नै तिमीहरूले परमेश्‍वरको अनुग्रहको विषयमा सत्‍य कुरा सुनेदेखि तिमीहरूमा पनि भइरहेछ। 7#कलस्सी 4:12; फिलेमोन 1:23यही कुरा हामीसँगै सेवा गर्ने इपाफ्रासले तिमीहरूलाई सिकाए। उनी हामीसँगै हाम्रो साटोमा तिमीहरूमाझ ख्रीष्‍टको काम गर्ने विश्‍वासी प्‍यारा भाइ हुन्। 8तिमीहरूलाई पवित्र आत्‍माले दिनुभएको प्रेमको बारेमा उनले नै हामीलाई सुनाएका हुन्।
9यो कुरा सुनेदेखि नै हामीले तिमीहरूको लागि सधैँ प्रार्थना गर्दैआएका छौं। पवित्र आत्‍माले दिने पूरा ज्ञान र समझले परमेश्‍वरको पूरा इच्‍छा जान भन्‍ने नै हाम्रो प्रार्थना छ। 10त्‍यसो भए तिमीहरूले प्रभुलाई मनपर्ने जीवन बिताएर सधैँ उहाँलाई खुसी पार्न सक्‍नेछौ। सबै राम्रा काममा तिमीहरूको फलिफाप हुनेछ अनि तिमीहरू परमेश्‍वरकै ज्ञानमा बढ्दैजानेछौ। 11परमेश्‍वरको ठूलो शक्तिको भण्‍डारबाट आएको शक्ति पाएर तिमीहरू बलियो होओ भन्‍ने हाम्रो प्रार्थना छ। त्‍यसो भए तिमीहरूले सबै कुरा खुसीले दिगो भएर सहन सक्‍नेछौ। 12यसको लागि परमेश्‍वरलाई खुसीसँग धन्‍यवाद देओ। परमेश्‍वरले उज्‍यालोको राज्‍यमा ख्रीष्‍टका पवित्र जनहरूले पाउने कुरा तिमीहरूलाई पनि पाउन सक्‍ने बनाउनुभएको छ। 13उहाँले नै हामीलाई अन्‍धकारको शक्तिबाट छुटकारा दिएर आफ्‍नो पुत्रको राज्‍यमा कुशलसँग पुर्‍याउनुभएको छ। 14#एफिसी 1:7उहाँको पुत्रले नै हामीलाई छुटकारा दिनुभएको छ र हाम्रो पाप माफ गर्नुभएको छ।
ख्रीष्‍टको रूप र काम
15नदेखिने परमेश्‍वरकै देखिने रूप ख्रीष्‍ट हुनुहुन्‍छ। उहाँ सृष्‍टिभन्दा जेठो हुनुहुन्‍छ 16किनभने स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा उहाँद्वारा सृष्‍टि भयो। दृश्‍य र अदृश्‍य लगायत आत्‍माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्‍टद्वारा र ख्रीष्‍टकै निम्‍ति सृष्‍टि भयो। 17सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्‍थ्‍यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्। 18#एफिसी 1:22,23मण्‍डलीचाहिँ उहाँको शरीर हो र उहाँचाहिँ शिर हुनुहुन्‍छ। उहाँ नै शरीरको जीवनको मूल हुनुहुन्‍छ। सबै कुरामा पहिलो ठाउँ उहाँलाई नै मिलोस् भनेर मरेकाबाट फेरि कहिले नमर्ने गरी बिउँतनेमा पनि उहाँ जेठो हुनुहुन्‍छ। 19परमेश्‍वरको आफ्‍नै निर्णयले उहाँको सम्‍पूर्ण स्‍वभाव पुत्रले पाउनुभएको छ। 20#एफिसी 2:16परमेश्‍वरले पुत्रबाट सबै सृष्‍टिलाई फेरि आफ्‍नो बनाउनुभयो, अनि क्रूसमा बलिदान भएको आफ्‍नो पुत्रको रगतले स्‍वर्ग र पृथ्‍वीमा भएका सबैलाई आफूसँगै मेलमिलाप गराउनुभयो।
21एक समय तिमीहरू परमेश्‍वरबाट टाढा थियौ। नराम्रो कुरा सोची नराम्रै काम गरेको हुनाले तिमीहरू परमेश्‍वरका शत्रु थियौ। 22तर अब पुत्रको आफ्‍नै शरीरको बलिदानले तिमीहरूलाई परमेश्‍वरले फेरि आफ्‍नो मित्र बनाउनुभयो र उहाँले तिमीहरूलाई आफ्‍नो सामुन्‍ने पवित्र, शुद्ध र निर्दोष बनाउनुहुनेछ। 23साँच्‍चै तिमीहरू दिगो र बलियो भएर विश्‍वासमा लागिरह। तिमीहरूले सुनेका सुसमाचारको आशालाई छोड्दै नछोड। यही सुसमाचार सृष्‍टिभरिका मानिसहरूलाई सुनाइएको छ। म पावल यही सुसमाचार सुनाउने सेवक भएको छु।
मण्‍डलीमा पावलको सेवा
24यस बेला म तिमीहरूका लागि दु:ख भोग्‍न खुसी छु किनभने ख्रीष्‍टको शरीर मण्‍डलीको लागि उहाँको बाँकी रहेको दु:ख कष्‍ट मेरो शरीरमा भोगेर पूरा गर्छु। 25परमेश्‍वरले नै मलाई मण्‍डलीको सेवक बनाउनुभयो र तिमीहरूकै भलाइको लागि उहाँको शिक्षा पूरासँग सुनाउने कामको जिम्‍मा दिनुभयो। 26यो शिक्षा युग-युग र पुस्‍तौंदेखि कसैले बुझ्‍न नसकेको रहस्‍यको कुरो थियो। अब उहाँले ख्रीष्‍टका पवित्र जनहरूलाई यसको अर्थ छर्लङ्ग पारिदिनुभएको छ। 27तिनीहरूलाई सबै मानिसहरूका निम्‍ति राखिएको ठूलो रहस्‍यको कुरा खोलिदिने परमेश्‍वरको योजना हो। रहस्‍यको कुराचाहिँ यही हो, ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ। यसको अर्थ हो— तिमीहरू परमेश्‍वरको सम्‍मान्‌को सहभागी हुनेछौ। 28यसैकारण हामी सबै मानिसलाई ख्रीष्‍टको बारेमा सुनाउँछौं। सबैलाई ख्रीष्‍टमा पाको बनाएर परमेश्‍वरकहाँ पुर्‍याउन हामीहरू ज्ञान-बुद्धिले सबै मानिसलाई होशियार गराउँदै तिनीहरूलाई शिक्षा दिन्‍छौं। 29ख्रीष्‍टले दिनुभएको मभित्र काम गर्ने ठूलो शक्तिले नै म यो काम दिलो ज्‍यानले गर्दछु।

अहिले सेलेक्ट गरिएको:

कलस्सी 1: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्