YouVersion लोगो
खोज आइकन

प्रेरित 8:26-40

प्रेरित 8:26-40 सरल नेपाली

प्रभुका एउटा स्‍वर्गदूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर गएर यरूशलेमबाट गाजातर्फ जाने उजाड-स्थानमा पर्ने बाटोमा जाऊ।” फिलिप उठेर हिँडे। त्‍यति नै बेला इथियोपिया देशका एउटा नपुंसक त्‍यही बाटो भएर जाँदै थिए। उनी इथियोपिया देशकी महारानी कन्‍दाकीका ठूलो अख्‍तियार पाएको खजान्‍ची थिए। उनी यरूशलेममा गएर परमेश्‍वरलाई पुजेर घरतिर फर्किंदै थिए र आफ्‍नो रथमा बसेर यशैया अगमवक्ताले लेखेको पुस्‍तक पढिरहेका थिए। पवित्र आत्‍माले फिलिपलाई भन्‍नुभयो, “जाऊ र त्यस रथको साथ लाग।” फिलिप दौडेर रथको नजिक पुगे र ती मानिसले यशैया अगमवक्ताले लेखेको पुस्‍तक पढिरहेको सुने। फिलिपले उनलाई सोधे, “हजुरले पढिरहनुभएका ती कुराहरू बुझ्‍नुहुन्‍छ?” “कसैले नबुझाइदिई मैले कसरी बुझ्‍ने?” ती मानिसले जवाफ दिए। उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्‍न बिन्‍ती गरे। ती नपुंसकले पढिरहेको धर्मशास्‍त्रको भाग यो थियो– उहाँ काट्‍न लगिने भेडाजस्‍तो हुनुहुन्‍थ्‍यो, ऊन काटिंदा चुप रहने भेडाजस्‍तै उहाँले आफ्‍नो मुखबाट कुनै शब्‍द निकाल्‍नुभएन। उहाँ यति होच्‍याइनुभयो कि उहाँले ठीक न्‍यायसम्‍म पनि पाउनुभएन अनि उहाँ पृथ्‍वीबाट लगिनुभयो र उहाँको सन्‍तानको बयान अब कसले गर्ला? यी नपुंसकले फिलिपलाई सोधे, “दया गरी मलाई बताउनुहोस्, यो कुरा अगमवक्ताले कसको बारेमा भन्‍नुभएको हो? आफ्‍नै या अरू कसैको बारेमा?” अनि फिलिपले उनलाई धर्मशास्‍त्रको त्‍यही भागदेखि लिएर येशूबाट मुक्ति पाइन्‍छ भन्‍ने सुसमाचार सुनाए। बाटोमा जाँदाजाँदै तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे। यी नपुंसकले फिलिपलाई भने, “यहाँ पानी रहेछ! के मलाई बप्‍तिस्‍मा लिन अब कुनै कुराले रोक्‍ला?” [फिलिपले तिनलाई भने, “हृदयदेखि नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” “हो, येशू ख्रीष्‍ट परमेश्‍वरको पुत्र हुनुहुन्‍छ भनेर म विश्‍वास गर्छु,” ती मानिसले जवाफ दिए।] उनले रथ रोक्‍न लगाए र उनीहरू दुवै झरेर पानी भएको ठाउँमा गए र फिलिपले उनलाई बप्‍तिस्‍मा दिए। उनीहरू पानीबाट बाहिर निस्‍केपछि प्रभुको आत्‍माले फिलिपलाई समातेर लानुभयो र ती नपुंसकले फिलिपलाई फेरि देखेनन् अनि तिनी हर्षले गद्‌गद् भएर आफ्‍नो बाटो लागे। उता फिलिपले आफैंलाई अश्‍दोद सहरमा पाए। तिनी कैसरिया सहर नपुगुञ्‍जेलसम्‍म सहर-सहर हुँदै सुसमाचार प्रचार गर्दै गए।

प्रेरित 8 पढ्नुहोस्

Video for प्रेरित 8:26-40