YouVersion लोगो
खोज आइकन

प्रेरित 2:22-36

प्रेरित 2:22-36 सरल नेपाली

“इस्राएली दाजुभाइहरू हो, मेरा कुरा सुन्‍नुहोस्। परमेश्‍वरले येशूद्वारा तपाईंहरूको बीचमा शक्तिशाली कामहरू गर्दै अचम्‍म-अचम्‍मका चिन्‍हहरू देखाउनुभएको त तपाईंहरूलाई थाहै छ। ती चिन्‍हहरूबाट परमेश्‍वरले नासरतका येशूलाई आफूले नै पठाएको हुँ भन्‍ने प्रमाण दिनुभयो। परमेश्‍वरले आफ्‍नो योजना र ज्ञानअनुसार येशूलाई तपाईंहरूको हातमा सुम्‍पिदिनुभयो र तपाईंहरूले उहाँलाई दुष्‍ट मानिसहरूको हातमा सुम्‍पेर क्रूसमा मार्नसमेत लगाउनुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। परमेश्‍वरले उहाँलाई मृत्‍युको शक्तिबाट छुटाउनुभएको छ किनभने उहाँ मृत्‍युको अधीनमा भइरहनु असम्भव थियो। दाऊद राजाले पनि उहाँको बारेमा यसरी भनेका थिए– मैले प्रभुलाई सधैँ मेरो सामुन्‍ने देखिरहेको छु। उहाँ मलाई सुरक्षा दिँदै मेरो साथमा रहनुहुन्‍छ र म डराउनुपर्दैनँ। त्‍यसैले म हृदयदेखि नै खुसी छु र खुसीको गीत गाइरहन्‍छु। मरेर जानुपरे पनि म आशामा बाँचेर जिउँदछु किनभने तपाईंले मलाई पातालमा छोड्‍नुहुन्‍न, तपाईंले आफ्‍नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्‍न। तपाईंले मलाई जीवनको बाटो देखाउनुभएको छ। तपाईंसँग हुँदा म खुसीले रमाउँछु। “हे मेरा दाजुभाइ हो, हाम्रा पुर्खा दाऊदका बारेमा म सफासँग भन्‍न सक्‍छु। तिनी मरे र तिनको लाशलाई चिहानमा राखियो अनि त्‍यो चिहान अझै पनि हामीसँगै छ। तर दाऊद अगमवक्ता थिए र उनकै सन्‍तानमा एक जना उनको सिंहासनमा बस्‍नेछन् भन्‍ने कुरा उनलाई थाहा थियो। परमेश्‍वरले उनीसँग यो प्रतिज्ञा गर्नुभएको थियो। परमेश्‍वरले गर्नुहुने काम दाऊदले अघि नै देखिसकेका थिए। यसकारण मुक्ति दिनुहुने राजा ख्रीष्‍ट मरेकोबाट बिउँतनुहुन्‍छ भन्‍ने कुरासँग यो मिल्‍न आउँछ। ‘उहाँ पातालमा छोडिनुभएन अनि उहाँको शरीर पनि कुहेन’। “अब उही येशू ख्रीष्‍टलाई परमेश्‍वरले मरेकोबाट बिउँताउनुभएको छ र यही कुराको हामी सबै साक्षी छौं। परमेश्‍वर पिताले येशूलाई उच्‍च पारेर आफ्‍नो दाहिने हातपट्टि बसाल्‍नुभयो र आफ्‍नो प्रतिज्ञाअनुसार उहाँलाई पवित्र आत्‍मा दिनुभयो। त्‍यही पवित्र आत्‍मा प्रभु येशूले अहिले हामीमाथि खन्‍याउनुभएको हो, जुन कुराचाहिँ तपाईंहरूले अहिले सुन्‍दै र देख्‍दै हुनुहुन्‍छ। स्‍वर्गमा गएर दाऊद आफैं त परमेश्‍वरको दाहिने हातमा बसेनन्, तापनि उनले यसरी भने– परमेश्‍वरले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हाततिर बस, ‘जबसम्‍म म तिम्रा सबै शत्रुहरूलाई तिम्रा खुट्टामुनि पार्नेछैनँ’। “त्‍यसैले अब इस्राएलका सबै मानिसले यो कुरा जान्‍नुपर्छ– तपाईंहरूले क्रूसमा मारेका येशूलाई नै परमेश्‍वरले प्रभु र मुक्ति दिनुहुने ख्रीष्‍ट दुवै बनाउनुभएको छ।”

प्रेरित 2 पढ्नुहोस्

Video for प्रेरित 2:22-36