त्यसपछि पावलले माकेडोनिया र अखैया इलाका भएर यरूशलेम जाने निधो गरे। उनले भने, “यरूशलेम गएपछि मैले रोम सहर पनि जानै पर्छ।” त्यसपछि उनले आफ्नो साथी तिमोथी र इरास्तसलाई माकेडोनियातिर पठाए, तर उनी आफूचाहिँ केही दिनसम्म एशिया इलाकामा नै बसे। त्यस समयमा मुक्तिको बाटोको प्रचार भएको हुनाले एफिससमा ठूलो हलचल मच्चियो। डेमेत्रियस नाउँ गरेको सुनारले आर्तेमिस देवीको चाँदीका ससाना मन्दिरहरू बनाउँथ्यो। यो काम गरेर ऊ र उसले राखेका कारिगरहरूले समेत थुप्रो पैसा कमाउँथे। अब डेमेत्रियसले आफ्ना कारिगर र तिनीहरूजस्तै पेशा भएका मानिसहरू सबैलाई भेला गराएर भन्यो, “भाइहरू हो, तिमीहरूलाई थाहै छ, यही व्यापारबाट हामीले पैसा कमाएका हौं। तर त्यो पावलले के भन्दै छ, तिमीहरू आफैं देख्दै र सुन्दै छौ। मानिसको हातले बनाएका देवताचाहिँ देवता नै होइनन् भन्दै छ। उसले यहाँ एफिसस र एशियामा बस्ने सबै जसो मानिसहरूलाई आफ्ना कुरा सिकाएर भर्माउन आँटिसक्यो। यसरी हाम्रो कामको मात्र होइन, तर महान् देवी आर्तेमिसको मन्दिरको पनि हेला हुनेछ अनि एशिया र संसारभरिका मानिसले मान्दैआएको महान् देवी आर्तेमिसको पूजा पनि बन्द हुनेछ।” यो कुरा सुनेर त्यहाँ जम्मा भएका मानिसहरूको रगत तात्यो र तिनीहरूले कराएर भन्न लागे, “एफिससमा रहनुहुने देवी आर्तेमिसको जय!” त्यस जय-जयकारले पूरै सहर गुन्जियो र सहरभरि होहल्ला मच्चिन लाग्यो। मानिसहरू हुल बाँधेर आए र माकेडोनियाबाट आएका पावलका साथी गायस र अरिस्तार्खसलाई समातेर रङ्गशालामा लगे। पावल भीडको अघि जान खोजे। तर प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले उनलाई जान दिएनन्। एशिया इलाकाका केही सरकारी हाकिमहरूले समेत पावलको भलाइ चाहेर उनलाई ‘त्यस रङ्गशालामा देखा नपर्नुहोस्’ भन्ने सल्लाह दिए। मानिसको हुलमा ठूलो होहल्ला मच्चिरहेको थियो। कोही एक थोक भनेर कराउँथे त कोही अर्कै थोक भनेर चिच्च्याउँथे। तर धेरै मानिसहरूलाई किन भेला भएको हो, त्यति पनि थाहा थिएन। त्यतिखेर यहूदीहरूले अलेक्जेन्डर भन्ने मानिसलाई अघि सारे। भीडबाट कति जनाले कराउँदै उनलाई भइरहेको घटना बारे बताए। उनले हातको इशाराले सबैलाई शान्त गरेर बचाउको लागि केही बोल्न खोजे। तर उनलाई यहूदी हुन् भनेर चिनेपछि ती मानिसहरू करिब दुई घण्टा जतिसम्म “एफिससमा रहनुहुने देवी आर्तेमिसको जय! एफिससमा रहनुहुने देवी आर्तेमिसको जय!” भन्दै कराइरहे। आखिरमा नगर-सभाका सचिवले मानिसहरूलाई शान्त गराउन सके। उनले भने, “एफिससका दाजुभाइहरू हो, एफिसीहरूको सहरचाहिँ महान् देवी आर्तेमिसको मन्दिर र आकाशबाट झरेको उनको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र? कसैले पनि यो कुरा होइन भन्न सक्दैन। त्यसो हुँदा तपाईंहरू शान्त हुनुहोस्। यसरी जोशमा आएर विचारै नगरी कुनै काम गर्नु राम्रो होइन। तपाईंहरूले समातेर ल्याउनुभएका मानिसहरूले नता हाम्रो मन्दिर लुटेका छन् न तिनीहरूले हाम्रा देवीको निन्दा नै गरेका छन्। यदि डेमेत्रियस र उनका सुनार साथीहरूको कसैको विरोधमा केही कुरा छ भने तिनीहरूले न्यायालयमा गएर उजुर गर्न सक्छन्। अझै तपाईंहरू त्योभन्दा पनि बढी कुनै कुरो चाहनुहुन्छ भने हामी नागरिकहरूको सभा बोलाएर त्यस कुराको छलफल गरिदिन सक्नेछौं। आज यसरी होहल्ला मच्चिएकोले हामीलाई उत्पात मच्चाएको दोष लाग्ने डर छ। यदि दोष लगाइयो भने कारणबिना नै यस्तो हुलदङ्गा मच्चाएकोमा हामीले कुनै बहाना पनि गर्न सक्नेछैनौं।”
प्रेरित 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 19:21-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू