त्यसपछि पावल एथेन्सबाट बिदा भएर कोरिन्थ सहरतिर लागे। त्यहाँ उनले अकिलास नाउँ गरेका एक जना यहूदीलाई भेटे। अकिलासचाहिँ पोन्टस इलाकामा जन्मिएका थिए र आफ्नी जहान प्रिस्किलासँग भर्खरै इटालिया देशबाट आएका थिए किनभने रोमी सम्राट क्लौडियसले सबै यहूदीहरूलाई रोम सहरबाट निस्कने हुकुम दिएका थिए। पावल तिनीहरूलाई भेट्न गए। तिनीहरूले पाल बनाउने काम गरेर जीविका चलाउँथे। पावल तिनीहरूसँगै बसे किनकि उनले पनि तिनीहरूजस्तै पाल बनाउने काम गरेर जीविका चलाउँथे। पावल विश्राम दिनैपिच्छे यहूदीहरूका सभाघरमा गएर यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे र दुवैलाई मनाउन खोज्थे। सिलास र तिमोथी माकेडोनिया इलाकाबाट आएपछि पावल आफ्नो पूरै प्रचारको काममा लागे। उनले यहूदीहरूलाई ‘येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ’ भन्ने साक्षी दिए। तर तिनीहरूले पावलको विरोध गरेर उनलाई गाली गरे। पावलले तिनीहरूलाई चेतावनी होस् भनेर आफ्नो लुगाबाट धुलो टक्टकाउँदै भने, “नाश भयौ भने तिमीहरू आफ्नै दोषको कारणले गर्दा नाश हुनेछौ। मलाई चाहिँ दोष लाग्नेछैन। अबदेखि म मानिसहरूकहाँ जान्छु।” त्यस बेलादेखि पावल यहूदीहरूको सभाघरमा जान छोडिदिए। त्यस सभाघरको छेउमा परमेश्वरको भक्ति गर्ने तीतस युस्तस नाउँ गरेका एक जना ग्रीक मानिसको घरमा पावल गए। यहूदी सभाघरका शासक क्रिस्पस र उनका सबै परिवारले प्रभुमाथि विश्वास गरे र कोरिन्थका अरू धेरै मानिसहरूले पनि पावलको शिक्षा सुनी प्रभुमा विश्वास गरेर बप्तिस्मा पाए। एक रात प्रभुले पावललाई दर्शन दिएर भन्नुभयो, “कोहीदेखि नडराऊ, चुप लागेर नबस। सुसमाचारको प्रचार गर्दै जाऊ। म तिमीसँगै छु र कसैले पनि तिमीलाई केही गर्न सक्नेछैन किनभने यस सहरमा मेरा धेरै मानिसहरू छन्।” यसरी पावल डेढ वर्षसम्म कोरिन्थ सहरमा बसे र परमेश्वरको शिक्षा दिइरहे। अखैया इलाकामा गलियोन भनिने व्यक्ति बडा-हाकिम भएका बेला यहूदीहरू मिलेर पावलमाथि जाइलागे र उनलाई पक्रे। उनलाई बडा-हाकिमकहाँ लगेर भने, “यस मानिसले हाम्रो व्यवस्थासँग नमिल्ने तरिकाले परमेश्वरलाई पुज्न सिकाएर मानिसहरूलाई बिगार्न खोज्दै छ।” पावल बोल्नैआँटेका थिए। तब गलियोनले यहूदीहरूलाई भने, “यहूदीहरू हो, यदि यो कुनै नराम्रो काम अथवा ठूलो अपराधको कुरा भएको भए मैले तिमीहरूको उजुर सुनेर न्याय गर्नु ठीक थियो। तर यो कुरा त तिमीहरूकै शास्त्र, नाम र व्यवस्थाको बारेमा मात्र रहेछ। त्यसो हुँदा तिमीहरू आफैंले नै यसको न्याय गर। मलाई यस कुराको न्याय गर्ने चासो छैन।” यसो भनेर गलियोनले तिनीहरूलाई न्यायालयबाट पठाइदिए। अब यहूदीहरूले सभाघरका शासक सोस्थेनेसलाई पक्रेर न्यायालयको अगाडि नै कुटे। तर गलियोनले केही वास्तै गरेनन्।
प्रेरित 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 18:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू