YouVersion लोगो
खोज आइकन

प्रेरित 16:25-40

प्रेरित 16:25-40 सरल नेपाली

आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको भजन गाइरहेका थिए। अरू कैदीहरूले चाहिँ सुनिरहेका थिए। त्‍यति नै खेर एक्‍कासि डरलाग्‍दो भूइँचालो गयो। झ्‍यालखानको जग नै हल्‍लियो, सबै ढोकाहरू खुले र कैदीहरूलाई बाँधेका साङ्लाहरू फुक्‍लिए। झ्‍यालखानका हाकिम बिउँझिए त्‍यहाँ उनले सबै ढोकाहरू खोलिएका देखे। सबै कैदीहरू भागेछन् भन्‍ने सम्‍झेर उनले फुत्त तरवार झिकेर सेरिएर मर्न खोजे। यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्‍यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।” यो सुनेर हाकिम बत्ती मागेर दगुर्दै भित्र आए र डरले काम्‍दै पावल र सिलासको पाउमा परे। त्‍यसपछि तिनले उनीहरूलाई बाहिर लगेर भने, “हजुरहरू हो, मुक्ति पाउन मैले के गर्नुपर्छ?” उनीहरूले भने, “प्रभु येशूमाथि विश्‍वास गर्नुहोस् अनि तपाईं र तपाईंको घरानाले मुक्ति पाउनेछन्।” पावल र सिलासले तिनलाई र तिनका घरानालाई सुसमाचार सुनाए। त्‍यसपछि हाकिमले पावल र सिलासलाई लगेर राती नै उनीहरूका घाउ धोइदिए। तिनी र तिनका घरानाले बप्‍तिस्‍मा पाए। त्‍यसपछि हाकिमले पावल र सिलासलाई आफ्‍नो घरमा लगेर खाना खुवाए। उनले परमेश्‍वरमाथि विश्‍वास गरेको हुनाले घरानाका सबै खुसी भए। भोलिपल्‍ट बिहानै सहरका हाकिमहरूले पावल र सिलासलाई छोडिदिनू भन्‍ने आज्ञा दिएर सिपाहीहरू पठाए। झ्‍यालखानको हाकिमले पावललाई भने, “तपाईं र सिलासलाई छोडिदिनू भनेर सहरका हाकिमहरूले खबर पठाए। अब तपाईंहरू खुसीसँग जानुहोस्।” तर पावलले खबर ल्‍याउने सिपाहीहरूलाई भने, “हामी रोमी नागरिक हुँदाहुँदै पनि तिनीहरूले हाम्रो कुनै दोष फेला नपारीकनै हामीलाई बेसरी पिटे। अझै हामीलाई झ्‍यालखानमा पनि थुने। अहिलेचाहिँ सुटुक्‍कै छोड्‍न चाहन्‍छन्? हामी जाँदैनौं। ती आज्ञा दिने हाकिमहरूले आफैं आएर हामीलाई निकाल्‍नुपर्छ।” पावलले भनेको कुरा सिपाहीहरूले गएर हाकिमहरूलाई सुनाइदिए। पावल र सिलास रोमी नागरिक हुन् भनेको सुनेर तिनीहरू डराए। तिनीहरूले आएर पावल र सिलाससँग माफी मागे अनि उनीहरूलाई झ्‍यालखानबाट बाहिर लगेर ‘हाम्रो सहर छाडेर गइदिनुहोस्’ भनी बिन्‍ती गरे। झ्‍यालखानबाट निस्‍केपछि पावल र सिलास लिडियाको घरमा गए। त्‍यहाँ उनीहरूले प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूसँग भेटघाट गरे र तिनीहरूलाई साहस र ढाडस दिएर त्‍यहाँबाट हिँडे।

प्रेरित 16 पढ्नुहोस्

Video for प्रेरित 16:25-40