तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए। तब एक्कासि एउटा ठूलो भैँचालो गयो, र झ्यालखानका जगहरू हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले। झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, र झ्यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्ठानेर उनले अपहत्या गर्ने विचारले आफ्नो तरवार थुते। तर पावलले चर्को सोरले यसो भन्दै कराए, “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।” तब बत्ती मागेर उनी हामफाल्दै भित्र आए, र डरले काम्दै पावल र सिलासका अगाडि घोप्टो परे। तिनीहरूलाई बाहिर ल्याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।” तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए। तब रातको त्यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्तै बप्तिस्मा लिए। त्यसपछि तिनीहरूलाई घरमा ल्याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्वरमा विश्वास गरे भन्ने कुरामा उनका सारा परिवारसँग उनी आनन्दित भए। तर उज्यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।” तब झ्यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, “सहरका हाकिमहरूले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्केर शान्तिसँग जानुहोस्।” तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिकलाई दोषी नै नठहराईकन उनीहरूले मानिसहरूका सामुन्ने पिटे, र झ्यालखानमा पनि हाले, र अब हामीलाई गुप्तमा निकाल्न खोज्छन्? यो हुन सक्दैन। उनीहरू आफै आऊन् र हामीलाई निकालेर लैजाऊन्।” ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन् भन्ने सुनेर उनीहरू डराए। उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे, र तिनीहरूलाई बाहिर लगे र सहर छोडी जाने अनुरोध गरे। तिनीहरू झ्यालखानबाट बाहिर निस्केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्साहन दिई बिदा भए।
प्रेरित 16 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 16:25-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू