YouVersion लोगो
खोज आइकन

प्रेरित 16:16-24

प्रेरित 16:16-24 सरल नेपाली

एक दिन प्रार्थना गर्ने ठाउँमा जाँदा हामीहरूले एउटी कमारी केटीलाई भेट्यौं। उसलाई दुष्‍ट आत्‍मा लागेको थियो र त्‍यही दुष्‍ट आत्‍माको शक्तिले उसले मानिसको भाग्‍य बताइदिएर आफ्‍ना मालिकहरूलाई धेरै पैसा कमाएर दिन्‍थी। अब उसले पावल र हामीलाई पछ्याउँदै यसरी कराउन लागी, “यिनीहरू महान् परमेश्‍वरका भक्तहरू हुन्। यिनीहरूले त मुक्ति पाउने बारेमा प्रचार गर्दछन्।” धेरै दिनसम्‍म त्‍यस केटीले त्‍यसै भनेर कराइरही। आखिरमा यसरी कराइरहेकी सहन नसकेर पावलले त्‍यो केटीतिर फर्केर दुष्‍ट आत्‍मालाई भने, “म येशू ख्रीष्‍टको नाउँमा तँलाई आज्ञा दिन्‍छु, तँ यो केटीबाट निस्‍केर गइहाल्।” पावलले यस्‍तो भन्‍नेबित्तिकै त्‍यो दुष्‍टात्‍मा त्‍यस केटीबाट निस्‍केर गइहाल्‍यो। अब मालिकहरूको त्‍यस केटीबाट पैसा कमाउने बाटो नै हरायो। यो कुरा थाहा पाएर तिनीहरूले पावल र सिलासलाई पक्रेर घिसार्दै सहरको चोकमा भएको न्‍याय गर्ने ठाउँमा लगे। यसरी पावल र सिलासलाई सहरका रोमी हाकिमहरूको अगाडि उभ्‍याउँदै तिनीहरूले भने, “यी यहूदीहरूले हाम्रो सहरमा उपद्रव मच्‍चाएर दु:ख दिँदै छन्। यिनीहरूले हाम्रो रोमी कानुनअनुसार नहुने रीतिथिति सिकाँउदै छन्।” त्‍यतिखेरै मानिसको हुल पावल र सिलासमाथि जाइलाग्‍यो। हाकिमहरूले पावल र सिलासको लुगा फुकालेर कोर्रा लगाउने आज्ञा दिए। बेसरी कोर्रा लगाएपछि तिनीहरूले पावल र सिलासलाई झ्‍यालखानमा पुर्‍याए र झ्‍यालखानको हाकिमलाई दुई जनालाई उम्‍कन नसक्‍ने गरी थुन्‍ने आज्ञा दिए। यो आज्ञा पाएर झ्‍याल-खानको हाकिमले पावल र सिलासलाई झ्‍यालखानको सबैभन्दा भित्री कोठामा लगे र उनीहरूका खुट्टामा काठको ठिंगुरा ठोके।

प्रेरित 16 पढ्नुहोस्

Video for प्रेरित 16:16-24