YouVersion लोगो
खोज आइकन

प्रेरित 16:16-24

प्रेरित 16:16-24 NNRV

जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्‍मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्‍यसका मालिकहरूका निम्‍ति धेरै कमाइ गरिदिन्‍थी। त्‍यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्‍दै चिच्‍च्‍याई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्‌। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्‌।” त्‍यसले धेरै दिनसम्‍म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्‍क फर्की त्‍यस दुष्‍टात्‍मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई त्‍यसबाट निस्‍कने आज्ञा गर्दछु।” अनि त्‍यो दुष्‍टात्‍मा त्‍यही घड़ी निस्‍किहाल्‍यो। तर त्‍यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्‍दै लगे। अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्‍याएर भने, “यी मानिसहरू यहूदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्‍चाउँछन्‌। यिनीहरूले यस्‍ता-यस्‍ता प्रथाहरू सिकाउँछन्‌ जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्‍यायसङ्गत छैन।” तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्‍त्र च्‍यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए। उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्‍यालखानमा हालिदिए, र झ्‍यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्‍ने हुकुम दिए। यस्‍तो हुकुम पाएर उनले तिनीहरूलाई झ्‍यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए।

Video for प्रेरित 16:16-24