YouVersion लोगो
खोज आइकन

प्रेरित 13:13-41

प्रेरित 13:13-41 सरल नेपाली

पावल र तिनका साथीहरू पाफोस सहरबाट पानीजहाजमा चढेर पामफिलिया क्षेत्रको पर्गा सहरमा पुगे। त्‍यहाँबाट मर्कूस भनिने यूहन्‍नाले पावल र बारनाबासलाई छोडेर यरूशलेमतिर फर्के। पावल र बारनाबासचाहिँ पर्गादेखि पिसिदिया क्षेत्रको एन्‍टिओखिया सहरमा गए अनि पवित्र विश्रामको दिनमा ती दुई जना सभाघरमा गएर बसे। मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले लेखेको पुस्‍तकबाट पढेपछि सभाघरका नेताहरूले पावल र बारनाबासलाई बोलाएर भने, “भाइहरू! यदि तपाईंहरूसित मानिसहरूलाई साहस दिने केही कुरो छ भने भन्‍नुहोस्।” यो सुनेर पावल उठे अनि हातले इशारा गरेर बोल्‍न लागे, “इस्राएली दाजुभाइ र परमेश्‍वरलाई मान्‍नुहुने सज्‍जनहरू हो, दया गरी मेरो कुरा सुन्‍नुहोस्। इस्राएली जातिका परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई छान्‍नुभयो र तिनीहरू मिश्रदेशमा रहँदा तिनीहरूलाई महान् जाति बनाउनुभयो। आफ्‍नो शक्ति देखाएर परमेश्‍वरले तिनीहरूलाई मिश्रदेशबाट निकाल्‍नुभयो। तिनीहरू उजाड-स्थानमा रहँदा परमेश्‍वरले चालीस वर्षसम्‍म तिनीहरूको हेरचाहा गर्नुभयो। उहाँले कनान देशका सात जातिलाई नाश गर्नुभयो र त्‍यो देश हाम्रा पुर्खाहरूलाई दिनुभयो। त्‍यति बेलासम्‍म चार सय पचास वर्ष जति बितिसकेको थियो। “त्‍यसपछि परमेश्‍वरले तिनीहरूको बीचमा न्‍याय गर्न न्‍यायाधीशहरू खटाउनुभयो। ती न्‍यायाधीशहरूले एकपछि अर्को गर्दै अगमवक्ता शमूएलका पालासम्‍म काम गरे। त्‍यसपछि हाम्रा पुर्खाहरूले राजाको माग गरे अनि परमेश्‍वरले उनीहरूलाई बेन्‍यामिन कुलका कीशका छोरा शाऊललाई राजा बनाउनुभयो। शाऊलले चालीस वर्षसम्‍म राज्‍य गरे। परमेश्‍वरले उनलाई हटाएर दाऊदलाई राजा बनाउनुभयो। दाऊदको बारेमा चाहिँ परमेश्‍वरले यसरी भन्‍नुभएको छ, ‘यिशैको छोरा दाऊदलाई भेट्टाउँदा मैले मन पराएको मानिस पाएको छु। उसले मेरो लागि गर्नुपर्ने सबै काम पूरा गर्नेछ’। “आफूले गर्नुभएको प्रतिज्ञा पूरा गरेर परमेश्‍वरले इस्राएलीहरूको निम्‍ति दाऊद राजाको कुलमा नै एउटा मुक्तिदाता पठाउनुभयो, जो येशू हुनुहुन्‍छ। येशूले आफ्‍नो सेवा सुरु गर्नुभन्दा अघि बप्‍तिस्‍मा दिने यूहन्‍ना आए। उनले चाहिँ आ-आफ्‍ना पापलाई मानिलिएर छोडी पानीको बप्‍तिस्‍मा लिनू भनेर इस्राएलका सबै मानिसहरूलाई प्रचार गरे। आफ्‍नो काम सिध्‍याउन लाग्‍दा यूहन्‍नाले भने, ‘तिमीहरू मलाई मुक्तिदाता हो कि भनेर चिन्‍न चाहन्‍छौ, त्‍यो त म होइनँ। तर उहाँ मपछि आउँदै हुनुहुन्‍छ र मचाहिँ उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन’। “दाजुभाइहरू हो, चाहे हामी अब्राहामका सन्‍तानहरू हौं, चाहे हामी परमेश्‍वरको डर राख्‍ने अन्य-जातिकाहरू नै किन नहोऔँ, यो मुक्तिको सन्‍देश परमेश्‍वरले हामी सबैका लागि पठाउनुभएको छ। तर यरूशलेममा बस्‍ने दाजुभाइ र उनीहरूका नेताहरूले येशूलाई मुक्तिदाता हुनुहुन्‍छ भनेर चिन्‍न सकेनन्। अगमवक्ताहरूले धर्मशास्‍त्रमा लेखेको कुरा विश्रामपिच्‍छे पढे पनि उनीहरूले बुझेनन्। येशूलाई मृत्‍युदण्‍ड दिएर उनीहरूले धर्मशास्‍त्रमा उहाँको बारेमा लेखिएका कुरालाई पूरा गरे। मृत्‍युदण्‍ड दिने कुनै दोष नपाउँदा पनि तिनीहरूले येशूलाई मार्नुपर्छ भनी बडा-हाकिम पिलातससँग बिन्‍ती चढाए। यसरी धर्मशास्‍त्रमा उहाँको बारेमा लेखिएका सबै कुरा पूरा गरेपछि तिनीहरूले उहाँलाई क्रूसबाट उतारे अनि चिहानमा राखे। तर परमेश्‍वरले येशूलाई मरेकोबाट बिउँताउनुभयो। गालील क्षेत्रबाट उहाँसँगै यरूशलेममा आएकाहरूले धेरै दिनसम्‍म उहाँको दर्शन पाए र तिनीहरूचाहिँ अहिले इस्राएलका मानिसहरूको लागि उहाँलाई देख्‍ने साक्षीहरू हुन्। अब हामी तपाईंहरूलाई यही सुसमाचार सुनाउँछौं– परमेश्‍वरले हाम्रा पुर्खालाई गर्नुभएको प्रतिज्ञा उहाँले उनीहरूको सन्‍तानको लागि नै पूरा गर्नुभएको छ। येशूलाई मरेकोबाट बिउँताउनुहुँदा उहाँले त्‍यो प्रतिज्ञा हाम्रै लागि नै पूरा गर्नभएको हो। अब परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुहुनेछ भन्‍ने कुराको बारेमा भजनसंग्रहको दोस्रो भजनमा यसरी लेखिएको छ– ‘तिमी मेरा छोरा हौ, आज मैले तिमीलाई जन्‍माएको छु’। उहाँलाई फेरि कहिल्‍यै मर्नुनपर्ने गरी बिउँताउनुहुनेछ भन्‍ने कुराको बारेमा भने परमेश्‍वरले यसो भन्‍नुभएको रहेछ– ‘दाऊदलाई प्रतिज्ञा गरेको पवित्र र निश्‍चित आशिष्‌चाहिँ म तिमीहरूको बीचमा पठाउनेछु’। फेरि, भजनसंग्रहको अर्को भजनमा दाऊद राजाले यसरी लेखेका छन्– हे परमेश्‍वर, तपाईंले आफ्‍नो पवित्र जनलाई कुहिएर नाश हुन दिनुहुन्‍न। “यो कुराचाहिँ दाऊदले आफ्‍नो बारेमा भनेका होइनन् किनभने परमेश्‍वरको इच्‍छामा काम गरिसकेर उनी त मरे अनि आफ्‍ना पुर्खासँगै गाडिएर कुहिए। तर परमेश्‍वरले मरेकोबाट बिउँताउनुभएको चाहिँ त्‍यसरी कुहिनुभएन। त्‍यसकारण प्रिय दाजुभाइहरू हो, उनै येशूबाट पाप मेटिनेछ भनी म तपाईंहरूलाई बताउन चाहन्‍छु। येशूमा विश्‍वास गर्नेहरू जति सबै पापबाट छुट्‍कारा पाएर परमेश्‍वरको अगाडि ठीक ठहरिन्‍छन्। यो काम त मोशाले दिएको व्यवस्थाले पूरा गर्न सकेन। त्‍यसकारण होशियार हुनुहोस् र अगमवक्ताहरूले भनेका यी कुराहरू तपाईंहरूमाथि आइनलागून्– ए गिल्‍ला गर्नेहरू हो, अचम्‍म मान अनि नाश भइजाओ! किनभने तिमीहरूको समयमा म यस्‍तो एउटा काम गर्नेछु, त्‍यस कामको बारेमा कसैले तिमीहरूलाई बताए तापनि तिमीहरूले विश्‍वास गर्नेछैनौ।”

प्रेरित 13 पढ्नुहोस्

प्रेरित 13:13-41 को लागि भिडियो