YouVersion लोगो
खोज आइकन

२ तिमोथी 2:15-26

२ तिमोथी 2:15-26 सरल नेपाली

लाज मान्‍नु नपर्ने र सत्‍यको सन्‍देशलाई ठीकसँग प्रयोग गर्ने सेवकजस्‍तै परमेश्‍वरलाई मनपर्ने गरी उहाँको अगाडि उहाँकै कुरा बोल्‍न तयार भइरहन कोसिस गर। संसारका मूर्ख कुराहरूबाट पन्‍सिएर बस। यसले त मानिसहरूलाई परमेश्‍वरबाट झन्-झन् टाढा पुर्‍याउँदछ। त्‍यस्‍ता शिक्षा कुहेर बढ्दैजाने घाउजस्‍तै हुनेछ। हुमेनियस र फिलेतसको शिक्षा पनि त्‍यस्‍तै छ। तिनीहरूले सत्‍य छोडेका छन्। मरेकोबाट बिउँतने काम अघि नै भइसक्‍यो, अब हुँदैन भन्‍ने शिक्षा दिएर तिनीहरूले कतिको विश्‍वास नै बिगारिदिए। तर परमेश्‍वर आफैंले लगाएको उहाँको जग सधैँ बलियो भएर रहिरहन्‍छ। यसमा लेखिएकै छ: “प्रभुले आफ्‍नाहरूलाई चिन्‍नुहुन्‍छ,” अनि “परमेश्‍वरका नाउँ लिने सबै खराब कामहरूबाट अलग रहनुपर्दछ।” कुनै पनि ठूलो घरानामा किसिमकिसिमका भाँडा-कुँडाहरू हुन्‍छन्। त्‍यहाँ चाँदीका र सुनका मात्र होइन, काठका, माटाका भाँडाहरू पनि हुन्‍छन्। कुनैकुनै भाँडा ठूलो काममा चलाइन्‍छ र कुनै सानो काममा चलाइन्‍छ। सबै किसिमका खराब कुराहरूबाट शुद्ध भएर रहेको मानिस छ भने ठूलो इज्‍जतको भाँडाझैँ हुनेछ किनभने उसले त आफैंलाई चोखो राखेर हरअसल कामको लागि मालिकलाई मनपर्दो हुनेछ। जवानीमा आउने नराम्रा इच्‍छाहरूलाई छोडेर शुद्ध मनले परमेश्‍वरलाई सहायता मागी पुकार्नेहरूसँग उहाँको अघिअघि ठीक ठहरिने कुरामा विश्‍वास, प्रेम र शान्‍तिमा लाग। तर जान्‍दै नजानेका मूर्ख तर्कबाट अलग्‍गै बस। तिमीलाई थाहा नै छ, यसबाट त झगडा मात्र हुन्‍छ। प्रभुको सेवकले झगडा गर्नुहुँदैन। ऊ सबैसँग मिल्‍ने हुनुपर्दछ अनि शिक्षा दिन सक्‍ने र सबै कुरा सहन सक्‍ने हुनुपर्दछ। उसले विरोधीहरूलाई नम्र भएर सम्‍झाउन सक्‍ने हुनुपर्दछ। त्‍यसो भए मात्र कतै परमेश्‍वरले विरोधीहरूको मन बदलिदिनसक्‍नुहुन्छ र तिनीहरूले सत्‍यलाई पूरै चिन्‍लान्। यसरी तिनीहरू आफ्‍ना होशमा आएर शैतानको फन्‍दाबाट उम्‍कन पाउनेछन् किनभने उनीहरूलाई शैतानले आफ्‍नो कामको लागि पक्रेर राखेको छ।

२ तिमोथी 2 पढ्नुहोस्