केही समयपछि दाऊदले फेरि पलिश्तीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जितेर मेथेग-आमाहमाथि अधिकार जमाए। त्यसपछि उनले मोआबीहरूलाई जिते। उनले कैदीहरूलाई भूइँमा सुत्न लगाए र हरेक तीन कैदीमध्ये दुई जनालाई मार्न लगाए। त्यसरी मोआबीहरू उनका अधीनमा भए र उनलाई कर तिर्थे। तब उनले रहोबको छोरो सिरियाको सोबा राज्यको राजा हददेजेरलाई हराए। त्यस बेला हददेजेर, यूफ्रेटिस नदीको माथिल्लो इलाकामा आफ्नो अधिकार फेरि जमाउन अघि बढिरहेका थिए। दाऊदले तिनका सत्र सय घोडचढी र बीस हजार पैदल सिपाहीहरूलाई कैद गरे। सय वटा रथको निम्ति चाहिने घोडाहरूबाहेक अरू सबै घोडा लङ्गडा बनाइदिए। जब दमस्कसका अरामीहरूले हददेजेरको मद्दतको निम्ति सेना पठाए, तब दाऊदले तिनीहरूलाई हमला गरे र बाईस हजार मानिसहरूलाई मारे। तब तिनीहरूको देशमा तिनले आफ्ना सेनाका छाउनी बसाले र अरामी तिनका अधीनमा भए र तिनलाई राजकर तिर्थे। परमप्रभुले दाऊदलाई सबैतिर विजयी बनाउनुभयो। हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू दाऊदले कब्जा गरे र यरूशलेममा लगे। हददेजेरले राज्य गरेका ठाउँ तेबह र बेरोतै सहरबाट धेरै मात्रामा काँसा पनि लिएर गए। दाऊदले हददेजेरका सारा सेनालाई जिते भनी हमातका राजा तोऊले सुने। यसर्थ तिनले आफ्नो छोरो योरामलाई दाऊद राजालाई भेट्न र विजयको निम्ति उनलाई बधाई दिन पठाए। तोऊले हददेजेरको विरुद्धमा धेरैचोटि लडाइँ गरेका थिए। योरामले दाऊदको निम्ति सुन, चाँदी र काँसाका कोसेलीहरू लगेर गए। ती कुरा दाऊद राजाले पूजा-पाठमा चढाउन अर्पण गरे साथै आफूले विजय गरेका देशहरू, अर्थात् एदोम, मोआब, अम्मोन, पलिश्त र अमालेकबाट ल्याएका सुन र चाँदीहरू र हददेजेरबाट लूटेका सामानमध्येबाट पनि यस कामको निम्ति छुट्ट्याए। खारको बेसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दाऊद अझ बढी नामी भए। उनले एदोमभरि फौजी छाउनीहरू बसाले र एदोमीहरू उनका अधीनमा भए। परमप्रभुले दाऊदलाई सबै ठाउँमा विजयी गराउनुभयो। दाऊदले सबै इस्राएलीहरूमाथि राज गरे र आफ्ना प्रजासित उचित र न्यायसँग व्यवहार गरे। योआब, जसकी आमा सरूयाह थिइन्, उनी सेनापति थिए; अहीलूदको छोरो यहोशापात लेखापाल थिए। अहीतूबको छोरो सादोक र अबीयाथारको छोरो अहीमेलेक पूजाहारीहरू थिए, सरायाह राजभवनको सचिव थिए, यहोयादाको छोरो बनायाह राजाका अङ्ग-रक्षकहरूका अध्यक्ष थिए र दाऊदका छोराहरू पूजाहारी थिए।
२ शमूएल 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 8:1-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू