२ शमूएल 8:1-18
२ शमूएल 8:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि दाऊदले पलिश्तीहरूलाई जिते, र उनीहरूमाथि तिनी विजयी भए, अनि उनीहरूका हातबाट मेथेगआमाह कब्जा गरे। दाऊदले मोआबीहरूलाई पनि परास्त गरे, अनि उनीहरूलाई तिनले भूइँमा सुत्न लाए, र एउटा डोरीको नापले नापे। हरेक दुई नापभित्र आएकाहरूचाहिँ मारिनलाई र तेस्रो नापभित्र आएकाहरूचाहिँ छोड़िदिनलाई तिनले नापे। यसरी मोआबीहरू तिनको अधीनमा भए, अनि उनीहरूले तिनलाई राजकर तिर्ने गरे। यसबाहेक यूफ्रेटिस नदीको किनारमा आफ्नो अधीन फेरि राख्नलाई गइरहेको बेलामा सोबाका राजा, रहोबका छोरा हददेजेरलाई पनि दाऊदले जिते। दाऊदले उनीबाट एक हजार रथ, सात हजार सारथि र बीस हजार पैदल-सिपाहीलाई कैद गरे। आफ्नो निम्ति एक सय राखेका बाहेक तिनले सबै रथका घोड़ाहरूका ढोड़नसा काटिदिए। जब दमस्कसमा अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई आए, तब दाऊदले उनीहरूका बाईस हजारलाई मारे। अनि तिनले यी अरामीहरूका बीचमा छाउनी राखे। उनीहरू तिनका अधीनमा भए, र तिनलाई राजकर तिर्ने गरे। यसरी नै जहाँ दाऊद गए, परमप्रभुले तिनलाई विजयी तुल्याउनुभयो। हददेजेरका अधिकृतहरूका सुनका ढालहरू दाऊदले लिए, र ती यरूशलेममा ल्याए। तिनले हददेजेरका सहरहरू, तेबह र बेरोतैबाट धेरै काँसाहरू ल्याए। जब दाऊदले हददेजेरका सारा सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने, तब उनले आफ्ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्याए। ती सामग्रीचाहिँ दाऊद राजाले परमप्रभुमा अर्पण गरे, जसरी आफूले परास्त गरेका सबै जातिका सुन र चाँदीलाई तिनले अर्पण गर्ने गर्थे। ती हुन्: एदोम, मोआब, अम्मोनीहरू, पलिश्ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे। नूनको उपत्यकामा अठार हजार एदोमीहरूलाई मारेर दाऊदले ठूलो नाउँ कमाए। अनि फर्कंदा तिनले एदोमभरि छाउनीहरू राखे, र सबै एदोमीहरू तिनका अधीनमा भए। यसरी दाऊद जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो। दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै प्रजाका निम्ति जे-जति ठीक थियो, त्यही गरे। सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए। यहोयादाका छोरा बनायाह करेती र पेलेथीमाथि अधिकृत थिए। दाऊदका छोराहरूचाहिँ राजकीय सल्लाहकार थिए।
२ शमूएल 8:1-18 पवित्र बाइबल (NERV)
पछि, दाऊदले पलिश्तीहरूलाई जित्छन्। पलिश्तीहरूको राजधानी शहरले ठूलो भू-भाग नियन्त्रणमा राखेका थिए। दाऊदले त्यस भू-भागमाथि अधिकार जमाए। दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन्न सुत्न बाद्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुइ नापभित्र पर्न आएकालाई मार्न अह्राए र तेस्रो नापमा परेकालाई छोडिदिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए। रहोबका छोरा हददेजेर सोआका राजा थिए। यूफ्रेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हददेजेरलाई परास्त गरे। दाऊदले हददेजेरबाट 1,700 घोडसवार सैनिक र 20,000 पैदल सेना कब्जामा पारे। 100 बाहेक सबै घोडाहरूलाई दाऊदले लङ्गडा बनाईदिए। दमिशकका अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता पुर्याउन आए। तर दाऊदले ती 22,000 अरामीहरूलाई परास्त गरे। त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जता-ततै विजय गराउनु भयो। दाऊदले हददेजेरका सेवकहरूबाट सुनका ढालहरू लिए। दाऊदले ती ढालहरू येरूशलेममा ल्याए। दाऊदले काँसका धेरै-धेरै सामानहरू तेबह र बेरौतैबाट प्राप्त गरे। (तेवह र बेरौतै शहरूहरू हददेजेरका अधिनमा थिए।) हमातका राजा तोईले हददेजेरका सम्पूर्ण सेनालाई दाऊदले परास्त गरेको खबर सुने। यसकारण तोईले आफ्ना छोरा योरामलाई दाऊदकहाँ पठाए। दाऊदले हददेजेरलाई परास्त गरेकोले योरामले दाऊदलाई अभिनन्दन गर्दै आशीर्वाद दिए, हददेजेरले तोईसँग पहिले धेरै चोटि युद्ध लडेका थिए। योरामले सुन, चाँदी र काँसका सामानहरू ल्याएका थिए। दाऊदले ती सम्पूर्ण सामानहरू परमप्रभुमा अर्पण गरे। दाऊदले पहिले धेरै राष्ट्रहरूलाई पराजित गरी ल्याएर अपर्ण गरेका सामानहरूसँगै ती सामानहरूराखे। दाऊदले अराम, मोआब, अम्नोन, पलिश्ती अमालेकहरूलाई हराए। सोबाका राजा रहोबको छोरा हददेजेरलाई पनि हराए। दाऊदले 18,000 अरामीहरूलाई खारको बेसीमा मारे। तिनी घर फर्कंदा साह्रै ख्याती कमाए। दाऊदले एदोममा सैनिक छाउनीहरू बनाए। एदोमका सम्पूर्ण क्षेत्रमा सैनिक छाउनी बनाए। एदोमका सबै मानिसहरू दाऊदका सेवक बने। परमप्रभुले दाऊदलाई जता-ततै विजय दिलाउनु भयो। दाऊदले इस्राएलभरि नै शासन गरे। दाऊदले आफ्ना मानिसहरूलाई असल र निष्पक्ष न्याय दिन्थे। सरूयाहका छोरा योआब सेनाका कप्तान थिए। अहिलूदका छोरा यहोशापात लेखपाल थिए। अहीतूबका छोरा सादोक र एबीयातारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए। यहोयादाका छोरा बनायाह करेती र पलेतीहरूका निम्ति अधिकारी थिए। अनि दाऊदका छोराहरू चाँहि प्रमुख थिए।
२ शमूएल 8:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही समयपछि दाऊदले फेरि पलिश्तीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जितेर मेथेग-आमाहमाथि अधिकार जमाए। त्यसपछि उनले मोआबीहरूलाई जिते। उनले कैदीहरूलाई भूइँमा सुत्न लगाए र हरेक तीन कैदीमध्ये दुई जनालाई मार्न लगाए। त्यसरी मोआबीहरू उनका अधीनमा भए र उनलाई कर तिर्थे। तब उनले रहोबको छोरो सिरियाको सोबा राज्यको राजा हददेजेरलाई हराए। त्यस बेला हददेजेर, यूफ्रेटिस नदीको माथिल्लो इलाकामा आफ्नो अधिकार फेरि जमाउन अघि बढिरहेका थिए। दाऊदले तिनका सत्र सय घोडचढी र बीस हजार पैदल सिपाहीहरूलाई कैद गरे। सय वटा रथको निम्ति चाहिने घोडाहरूबाहेक अरू सबै घोडा लङ्गडा बनाइदिए। जब दमस्कसका अरामीहरूले हददेजेरको मद्दतको निम्ति सेना पठाए, तब दाऊदले तिनीहरूलाई हमला गरे र बाईस हजार मानिसहरूलाई मारे। तब तिनीहरूको देशमा तिनले आफ्ना सेनाका छाउनी बसाले र अरामी तिनका अधीनमा भए र तिनलाई राजकर तिर्थे। परमप्रभुले दाऊदलाई सबैतिर विजयी बनाउनुभयो। हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू दाऊदले कब्जा गरे र यरूशलेममा लगे। हददेजेरले राज्य गरेका ठाउँ तेबह र बेरोतै सहरबाट धेरै मात्रामा काँसा पनि लिएर गए। दाऊदले हददेजेरका सारा सेनालाई जिते भनी हमातका राजा तोऊले सुने। यसर्थ तिनले आफ्नो छोरो योरामलाई दाऊद राजालाई भेट्न र विजयको निम्ति उनलाई बधाई दिन पठाए। तोऊले हददेजेरको विरुद्धमा धेरैचोटि लडाइँ गरेका थिए। योरामले दाऊदको निम्ति सुन, चाँदी र काँसाका कोसेलीहरू लगेर गए। ती कुरा दाऊद राजाले पूजा-पाठमा चढाउन अर्पण गरे साथै आफूले विजय गरेका देशहरू, अर्थात् एदोम, मोआब, अम्मोन, पलिश्त र अमालेकबाट ल्याएका सुन र चाँदीहरू र हददेजेरबाट लूटेका सामानमध्येबाट पनि यस कामको निम्ति छुट्ट्याए। खारको बेसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दाऊद अझ बढी नामी भए। उनले एदोमभरि फौजी छाउनीहरू बसाले र एदोमीहरू उनका अधीनमा भए। परमप्रभुले दाऊदलाई सबै ठाउँमा विजयी गराउनुभयो। दाऊदले सबै इस्राएलीहरूमाथि राज गरे र आफ्ना प्रजासित उचित र न्यायसँग व्यवहार गरे। योआब, जसकी आमा सरूयाह थिइन्, उनी सेनापति थिए; अहीलूदको छोरो यहोशापात लेखापाल थिए। अहीतूबको छोरो सादोक र अबीयाथारको छोरो अहीमेलेक पूजाहारीहरू थिए, सरायाह राजभवनको सचिव थिए, यहोयादाको छोरो बनायाह राजाका अङ्ग-रक्षकहरूका अध्यक्ष थिए र दाऊदका छोराहरू पूजाहारी थिए।