२ शमूएल 22
22
दाऊदको विजय गीत
(भजनसंग्रह १८)
1जब परमप्रभुले दाऊदलाई शाऊल र अरू तिनका शत्रुहरूदेखि बचाउनुभयो, तब तिनले परमप्रभुलाई गाएको भजन यस्तो थियो:
2परमप्रभु मेरा रक्षक हुनुहुन्छ;
उहाँ मेरा बलियो गढी हुनुहुन्छ।
3मेरा परमेश्वर मेरो सुरक्षा हुनुहुन्छ,
उहाँसँग हुँदा म सुरक्षित छु।
ढालले झैँ उहाँले मलाई रक्षा गर्नुहुन्छ, उहाँले मलाई आक्रमणबाट सकुशल राख्नुहुन्छ।
उहाँले मेरो उद्धार गर्नुहुन्छ;
उहाँले मेरो रक्षा गर्नुहुन्छ र मलाई हिंसाबाट बचाउनुहुन्छ।
4म परमप्रभुलाई पुकार्दछु
र उहाँले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ।
परमप्रभुको प्रशंसा होस्!
5मृत्युका छालहरू मेरा चारैपट्टि छन्;
विनाशका तरङ्गहरू ममाथि बहिआएका छन्।
6मृत्युको खतराले मलाई घेरेको थियो,
चिहानले मलाई पासो थापेको थियो।
7मेरो विपत्तिमा मैले परमप्रभुलाई पुकारें;
मैले सहायताको लागि मेरा परमेश्वरलाई पुकारें।
आफ्नो मन्दिरमा उहाँले मेरो सोर सुन्नुभयो;
मद्दतको लागि उहाँले मेरो पुकारा सुन्नुभयो।
8पृथ्वी हल्लियो र काम्यो;
आकाशका जगहरू कामे र थरथराए
किनभने परमेश्वर रिसाउनुभएको थियो!
9उहाँको नाकबाट धुँवा निस्क्यो
र मुखबाट भस्म पार्ने आगोको ज्वाला
र बलिरहेको आगोका भुङ्ग्राहरू निस्के।
10उहाँका पाउमा कालो बादलसाथ आकाश फटाएर उहाँ उत्रिनुभयो।
11स्वर्गको रथमा उहाँ चाँडो-चाँडो उड्नुभयो;
उहाँले बतासको पखेटामा यात्रा गर्नुभयो।
12उहाँले आफैंलाई अन्धकारले ढाक्नुभयो;
पानीले पूर्ण बाक्लो बादलले उहाँलाई घेर्यो।
13उहाँको सामुन्ने बिजुली चम्क्यो,
त्यसबाट बलिरहेका भुङ्ग्राहरू दन्केर निस्के।
14तब परमप्रभु आकाशबाट गर्जनुभयो
र सर्वशक्तिमान् परमेश्वरको सोर सुनियो।
15उहाँले वाण छोडेर आफ्ना शत्रुहरूलाई छरपष्ट पार्नुभयो;
बिजुली वाणले तिनीहरूलाई भगाउनुभयो।
16महासागरका तहहरू देखा परे,
पृथ्वीका जगहरू उघारिए,
जब परमप्रभुले आफ्ना वैरीहरूलाई हकार्नुभयो
र क्रोधले तिनीहरूमाथि गर्जनुभयो।
17परमप्रभु स्वर्गबाट उत्रिनुभयो
र मेरो हात समात्नुभयो;
उहाँले मलाई गहिरो समुद्रबाट तानेर निकाल्नुभयो।
18मेरा शक्तिशाली शत्रुहरू र मलाई घृणा गर्ने सबैहरूदेखि
उहाँले मलाई बचाउनुभयो।
तिनीहरू मेरो निम्ति औधी बलिया थिए।
19म कष्टमा छँदा तिनीहरूले ममाथि हमला गरे,
तर परमप्रभुले मेरो रक्षा गर्नुभयो।
20उहाँले मलाई खतराबाट मद्दत गरेर निकाल्नुभयो;
उहाँले मलाई बचाउनुभयो
किनभने उहाँ मसँग प्रसन्न हुनुहुन्छ।
21परमप्रभुले मलाई इनाम दिनुहुन्छ
किनभने जे कुरा ठीक छ, त्यो म गर्दछु।
यसैले उहाँले मलाई आशीर्वाद दिनुहुन्छ किनभने म निर्दोष छु।
22परमप्रभुका नियमहरू मैले पालन गरेको छु;
मेरा परमेश्वरदेखि म तर्केर गएको छैनँ।
23मैले उहाँका सबै नियमहरू पालन गरेको छु,
मैले उहाँका आज्ञाहरू भङ्ग गरेको छैनँ।
24म निर्दोष छु भनी उहाँले जान्नुहुन्छ।
र मैले आफैंलाई खराबी गर्नदेखि जोगाइराखेको छु।
25जे कुरो ठीक छ, त्यो म गर्दछु
र म निर्दोष छु भनी उहाँले जान्नुहुन्छ।
26हे परमप्रभु, जो तपाईंप्रति विश्वासयोग्य छन्,
तपाईं तिनीहरूप्रति विश्वासयोग्य हुनुहुन्छ र जो सिद्ध छन्,
तपाईं तिनीहरूप्रति सम्पूर्णरूपले भलो हुनुहुन्छ।
27तपाईं पवित्रहरूसित पवित्र हुनुहुन्छ,
तर तपाईं दुष्टहरूप्रति वैरभाव राख्नुहुन्छ।
28तपाईंले नम्रहरूलाई बचाउनुहुन्छ;
तर तपाईंले अहङ्कारीहरूलाई होच्याउनुहुन्छ।
29परमप्रभु, तपाईं मेरो ज्योति हुनुहुन्छ;
तपाईंले मेरो अन्धकारलाई हटाउनुहुन्छ।
30तपाईंले मलाई आफ्ना शत्रुहरूमाथि हमला गर्ने बल
र तिनका सुरक्षा गढी विजय गर्ने शक्ति दिनुहुन्छ।
31परमेश्वर! उहाँका कामहरू कति सिद्ध,
उहाँका वचनहरू कति भरपर्दा छन्।
किनकि उहाँको रक्षा खोज्नेहरूका निम्ति उहाँ ढालझैँ हुनुहुन्छ।
32परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ;
परमेश्वर मात्र हाम्रा रक्षक हुनुहुन्छ।
33परमेश्वर नै मेरा बलियो शरणस्थान हुन्;
उहाँले मेरो मार्ग सुरक्षित राख्नुहुन्छ।
34 #
हबकूक 3:19
उहाँले मेरा पाउहरू मृगका झैँ तेजिला बनाउनुहुन्छ।
उहाँले मलाई पहाडहरूमा सकुशल राख्नुहुन्छ।
35उहाँले मलाई युद्धको तालिम दिनुहुन्छ
र म सबैभन्दा बलियो धनु चलाउन सक्छु।
36हे परमप्रभु, तपाईंले मलाई रक्षा गर्नुहुन्छ
र मलाई बचाउनुहुन्छ;
तपाईंको सहायताले मलाई महान् तुल्याएको छ।
37तपाईंले मलाई कैदमा पर्नबाट जोगाउनुभएको छ
र म कहिल्यै पछारिएको छैनँ।
38म आफ्ना शत्रुहरूलाई हेरेर तिनीहरूको हार गराउँदछु,
म तिनीहरूलाई नाश नपारुञ्जेल थामिन्नँ।
39मैले तिनीहरूलाई हिर्काउँछु,
र तिनीहरू उठ्न सक्दैनन्;
हार मानेर तिनीहरू मेरो सामुन्ने भूइँमा लड्छन्।
40तपाईंले मलाई युद्ध गर्ने बल दिनुहुन्छ,
तपाईंले मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ।
41तपाईंले मेरा शत्रुहरूलाई मद्वारा भगाउनुहुन्छ;
मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु।
42तिनीहरू सहायता खोज्दछन्;
तर कोही पनि तिनीहरूलाई बचाउन आउँदैन;
तिनीहरूले परमप्रभुलाई पुकार्दछन्;
तर उहाँले जवाफ दिनुहुन्न।
43म तिनीहरूलाई चकनाचुर पार्दछु र तिनीहरू धूलोजस्तो भइहाल्छन्।
म तिनीहरूलाई बाटोको हिलोलाई झैँ खुट्टाले कुल्चन्छु।
44तपाईंले मलाई मेरा विद्रोही प्रजादेखि बचाउनुभयो
र जाति-जातिमाथि मेरो शासन दरिलो गरी राख्नुभयो;
मैले नचिनेका जातिहरू मेरा प्रजा भएका छन्।
45विदेशीहरूले मेरो अघि दण्डवत् गर्दछन्,
मेरो सोर सुनेर तिनीहरूले झट्टै मेरो आज्ञापालन गर्छन्।
46तिनीहरूले आफ्ना साहस हराउँछन्
र आफ्ना किल्लाहरूबाट थरथर काम्दै निस्कन्छन्।
47परमप्रभु जीवित हुनुहुन्छ! मेरा रक्षकको प्रशंसा गर!
मलाई बचाउनुहुने शक्तिशाली परमेश्वरको महान्ताबारे झ्याली पिटेर भन!
48उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ,
उहाँले जाति-जातिलाई मेरो अधीन गराउनुहुन्छ।
49उहाँले मलाई शत्रुहरूबाट रक्षा गर्नुहुन्छ।
हे परमप्रभु, तपाईंले मलाई मेरा शत्रुहरूमाथि विजयी बनाउनुहुन्छ
र हिंसाले भरिएका मानिसहरूदेखि बचाउनुहुन्छ।
50 #
रोमी 15:9
यसैले म जातिहरूका बीच तपाईंको प्रशंसा गर्छु,
म तपाईंको प्रशंसाको गीत गाउँछु।
51परमेश्वरले त्यसका राजालाई महान् विजयहरू दिनुहुन्छ,
आफूले चुनेका व्यक्तिलाई उहाँले निरन्तर प्रेम गर्नुहुन्छ,
दाऊद र त्यसका सन्तानहरूप्रति उहाँले निरन्तर प्रेम देखाउनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
२ शमूएल 22: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.