२ शमूएल 2
2
दाऊद यहूदाका राजा भएका
1त्यसपछि दाऊदले परमप्रभुलाई सोधे, “के म यहूदाको कुनै एक सहरमा गई त्यसलाई कब्जा गरूँ?” परमप्रभुले जवाफ दिनुभयो, “जाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा जाऊँ?” परमप्रभुले भन्नुभयो, “हेब्रोनमा।” 2#१ शमूएल 25:42,43यसर्थ दाऊद हेब्रोनमा गए। तिनले आफ्ना दुई पत्नीहरू यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेललाई साथमा लिएर गए। 3दाऊदले आफ्ना साथमा भएका मानिसहरू र तिनीहरूका परिवारसमेत लिएर गए र तिनीहरू हेब्रोनका छेउछाउका सहरहरूमा बसोबास गर्न थाले। 4#१ शमूएल 31:11-13तब यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजा अभिषेक गरे।
गिलादको याबेश सहरमा बास गर्ने मानिसहरूले शाऊललाई गाडेका खबर सुनेर 5दाऊदले केही मानिसहरूलाई त्यहाँ यस्तो समाचार दिन पठाए, “आफ्ना राजा शाऊललाई गाडेर तिनीप्रति तिमीहरूले देखाएका भक्तिको निम्ति परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्। 6परमप्रभु तिमीहरूप्रति दयालु र विश्वासयोग्य बनून्। तिमीहरूको यस कामले गर्दा म पनि तिमीहरूसित असल व्यवहार गर्नेछु। 7बलिया र साहसी होओ! तिम्रा राजा शाऊल मरे र यहूदाका जनताले मलाई राजा अभिषेक गरेका छन्।”
ईश्बोशेत इस्राएलका राजा भएका
8नेरका छोरा अबनेर शाऊलका सेनापति थिए। तिनले शाऊलको छोरो ईश्बोशेतलाई साथमा लिएर भागे र यर्दन नदीको पार गरी महनोममा पुगे। 9त्यहाँ अबनेरले ईश्बोशेतलाई गिलाद, अशूरी, यिजरेल, एफ्राइम र बेन्यामीन अथवा सारा इस्राएलका राजा बनाए। 10इस्राएलका राजा हुँदा ईश्बोशेत चालीस वर्षका थिए र तिनले दुई वर्षसम्म राज्य गरे।
तर यहूदाका कुल दाऊदका भक्त थिए 11र दाऊदले तिनीहरूमाथि हेब्रोनमा साँढे सात वर्षसम्म राज्य गरे।
इस्राएल र यहूदाबीच लडाइँ
12अबनेर र ईश्बोशेतका अधिकारीहरू महनोमबाट गिबोन सहरमा गए। 13योआब, जसकी आमा सरूयाह थिइन् र दाऊदका अरू अधिकारीहरूले तिनीहरूलाई तालनिर भेटे र सबै जना त्यहाँ एक हुल तालवारि र अर्को हुल तालपारि भई बसे। 14अबनेरले योआबलाई भने, “तिम्रा र हाम्रा तर्फका लडाकुहरू हतियार लिएर लडून्।”
योआबले जवाफ दिए, “हुन्छ, त्यसै गरौं।”
15यसरी, ईश्बोशेत र बेन्यामीनका बाह्र जना र दाऊदका बाह्र जनाबीच लडाइँ भयो। 16हरेक लडाकुले आफ्नो सामुन्नेको विरोधीको टाउको समातेर कोखामा तरवार रोपिदियो। त्यसरी चौबीसै जना एकसाथ ढलेर मरे। यसैकारण गिबोनको त्यस ठाउँलाई ‘तरवारको मैदान’ भनिन्छ।
17त्यसपछि एक घमासान युद्ध भयो र दाऊदका सेनाले अबनेर र इस्राएलीहरूलाई हराए। 18सरूयाहका तीन भाइ छोराहरू योआब अबीशै र असाहेल त्यहाँ थिए। असाहेल जङ्गली मृगझैँ छिटो दगुर्न सक्थ्यो 19र उसले अबनेरलाई खेद्यो। 20अबनेरले पछि फर्केर हेरेर सोधे, “के तिमी नै हो, असाहेल?” असाहेलले जवाफ दियो, “हो, म नै हुँ।”
21अबनेरले भने, “मलाई खेद्न छोडिदेऊ कुनै अर्को सिपाहीलाई खेद र त्योसित जे छ, सो हात पार।” तर असाहेलले तिनलाई खेदिरह्यो। 22अबनेरले फेरि एकपल्ट उसलाई भने, “मलाई खेद्न छोड। तिमीलाई मार्न किन मलाई कर लगाउँछौ? मैले कसरी तिम्रा दाजु योआबलाई मेरो मुख देखाउनु?” 23तर असाहेलले तिनलाई खेद्न छोडेन। त्यसो हुँदा अबनेरले आफ्नो भाला पछिल्तिर असाहेलको भुँडीमा हानेर वारपार गरिदिए। असाहेल त्यहीँ भूइँमा ढल्यो र मर्यो। जति जना उसको लाश लडिरहेको ठाउँमा आइपुगे, तिनीहरू त्यहीँ अडिए।
24तर योआब र अबीशैले अबनेरलाई खेदे र सूर्य अस्ताउँदा तिनीहरू अम्मा डाँडामा पुगे। अम्मा गिबोनको उजाड-स्थानमा पुग्ने बाटोमा भएको गीहको पूर्वमा पर्छ। 25बेन्यामीन कुलका मानिसहरू फेरि अबनेरको चारैपट्टि जम्मा भए र डाँडाको टाकुरामा युद्धको निम्ति आफ्नो मोर्चा बाँधे। 26अबनेरले उच्च स्वरले योआबलाई भने, “के हामीले सधैँभरि लडाइँ गरिरहनुपर्ने हो? के तिमी यो देख्न सक्दैनौ कि अन्तमा त्यसको परिणाम तीतो मात्र हुनेछ। हामी तिम्रा स्वदेशी बन्धु हौं। तिम्रा मानिसहरूले हामीलाई खेद्नबाट रोक्न कति ढिलो गर्दछौ?”
27योआबले जवाफ दिए, “म जिउँदो परमेश्वरको नाउँमा शपथ खाई भन्दछु, “यदि तिमी नबोलेको भए, मेरा मानिसले भोलि बिहानसम्मै तिमीहरूलाई खेद्नेथिए।” 28तब इस्राएलीहरूलाई नखेद्नू भनी योआबले आफ्ना मानिसहरूलाई सङ्केत दिँदै तुरही फुके। त्यसरी लडाइँ थामियो।
29अबनेर र तिनका मानिसले त्यो रातभरि हिँडेर यर्दनको बेसी पार गरे र यर्दन नदी तरी बिहानभरि हिँडेर महनोममा फर्के।
30योआबले इस्राएलीहरूलाई खेद्न छोडेपछि आफ्ना सबै सैनिकहरूलाई एकसाथ भेला गरे र असाहेलबाहेक अरू उन्नाईस जना मानिसहरू कम भेट्टाए। 31दाऊदका मानिसहरूले बेन्यामीन कुलका ३६० जना अबनेरका मानिसहरू मारेका थिए। 32योआब र तिनका मानिसले असाहेलको लाश लगेर बेथलेहेममा आफ्नो परिवारको चिहानमा गाडे। त्यसपछि रातभरि हिँडी भोलिपल्ट बिहान सबेरै तिनीहरू हेब्रोनमा फर्के।
अहिले सेलेक्ट गरिएको:
२ शमूएल 2: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.