तर एक वर्ष तिनले मानिसहरू पठाएर मिश्रका राजाबाट मद्दत मागे र अश्शूर देशका राजालाई कर तिरेनन्। त्यो थाहा पाएर शलमनेशेरले होशियालाई बन्दी बनाए र झ्यालखानमा हाले। त्यसपछि शलमनेशेरले इस्राएलमाथि हमला गरे र सामरियालाई घेरामा हाले। घेरा हालेको तेस्रो वर्ष, जुन होशियाको शासनकालको नवौँ वर्ष थियो, अश्शूरी राजाले सामरिया कब्जा गरे, इस्राएलीहरूलाई कैद गरी अश्शूरमा लगे र कतिलाई हलह सहरमा, कतिलाई गोजान जिल्लाको हाबोर नदीछेउ र कतिलाई मादीका सहरहरूमा बसाले। मिश्रमा राजाका हातबाट छुटकारा दिई त्यसबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका हुनाले सामरियाको हार भयो। तिनीहरूले अरू देवताहरूलाई पुजे। आफ्ना प्रजा अगाडि बढ्दैआउँदा परमप्रभुले त्यस देशबाट धपाउनुभएका मानिसहरूको रीतिथिति माने र इस्राएलका राजाहरूले चालू गरेका रीतिथितिहरू चलाए। जुन कुरा परमप्रभु आफ्ना परमेश्वरले मनाही गर्नुभएको थियो, तिनै कुरा इस्राएलीहरूले गुप्तमा गर्थे। तिनीहरूले आफ्ना सबै सहरहरूमा, सानुभन्दा सानु गाउँ र ठूलाभन्दा ठूला सहरहुँदो मूर्तिपूजा गर्ने ठाउँहरू बनाए। डाँडाहरूमाथि र हरेक झ्याम्म परेका रूखमुनि तिनीहरूले ढुङ्गाका खामा र अशेरा देवीका मूर्तिहरू राखे। परमप्रभुले जुन मानिसहरूलाई देशबाट धपाएका थिए, तिनीहरूको प्रथाअनुसार इस्राएलीहरूले मूर्तिपूजा गर्ने वेदीहरूमा धूप बाले। आफ्ना दुष्कर्मले तिनीहरूले परमप्रभुको क्रोध जगाए, मूर्तिपूजा नगर्नू भन्ने परमप्रभुको आज्ञा पालन गरेनन्। परमप्रभुले अगमवक्ता र सन्देश-वाहकहरू पठाएर इस्राएल र यहूदालाई यो चेतावनी दिनुभएको थियो, “तिम्रा दुष्ट चालहरू छोड र मेरा आज्ञा मान, ती आज्ञा मैले तिम्रा पुर्खाहरूलाई दिएँ र मेरा सेवक अगमवक्ताहरूद्वारा तिमीहरूलाई पनि दिएँ।” तर तिनीहरूले आज्ञापालन गरेनन् र परमप्रभु आफ्ना परमेश्वरमा भरोसा नराख्ने तिनीहरूका पुर्खाहरूझैँ हठी भए। तिनीहरूले उहाँका आदेश मान्न इन्कार गरे, उहाँले तिनीहरूका पुर्खाहरूसित बाँधेका करार पालन गरेनन् र उहाँका चेतावनीहरूलाई अनादर गरे। तिनीहरूले व्यर्थका देवताहरू पुजे र आफैं पनि व्यर्थका भए र परमप्रभुका आज्ञाको विरुद्धमा छिमेकीका जातिहरूका रीतिथितिहरू नक्कल गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरका सबै नियमहरू भङ्ग गरे र पुज्न धातुका दुई वटा साँढे बनाए। तिनीहरूले अशेरा देवीको एउटा मूर्ति बनाए, ताराहरू पुजे र बाल-देवताको सेवा गरे। तिनीहरूले आफ्ना छोरा-छोरीहरू देवतालाई होमबलि चढाए, ज्योतिषीहरू र मरेका आत्मा खेलाउनेसित जोखना हेराए र परमप्रभुको दृष्टिमा जे कुरा खराब थिए, ती गर्न लागिरहे। यसरी तिनीहरूले उहाँको क्रोध दन्काए। परमप्रभु इस्राएलीहरूसित रिसाउनुभयो र तिनीहरूलाई आफ्ना नजरबाट हटाउनुभयो। उहाँले यहूदा राज्य मात्र राखिछोड्नुभयो। तर यहूदाका मानिसहरूले पनि परमप्रभु आफ्ना परमेश्वरका नियमहरू पालन गरेनन्। इस्राएलीहरूले चलाएका रीतिथिति तिनीहरूले नकल गरे। सबै इस्राएलीहरूलाई दण्ड दिनुहुँदै र निष्ठुरी शत्रुहरूका हातमा छोडिदिनुभएर परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभयो र अन्तमा आफ्ना दृष्टिबाट हटाइदिनुभयो। परमप्रभुले इस्राएललाई यहूदाबाट अलग गर्नुभएपछि इस्राएलीहरूले नबातको छोरो यारोबामलाई आफ्ना राजा बनाए। यारोबामले तिनीहरूलाई परमप्रभुबाट टाढा गराएर डरलाग्दा पाप गर्न लाए। तिनीहरू यारोबामका चालमा चले र तिनले गरेका सबै पाप गर्न लागे। अन्तमा परमप्रभुले जसरी उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा चेतावनी दिनुभएको थियो, त्यसरी नै तिनीहरूलाई आफ्ना नजरबाट टाढा गर्नुभयो। यसकारण इस्राएलका मानिसहरू कैदी भएर आफ्ना देशबाट अश्शूरमा लगिए। तिनीहरू आजसम्म त्यहीँ छन्।
२ राजा 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजा 17:4-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू