YouVersion लोगो
खोज आइकन

२ राजा 12:1-16

२ राजा 12:1-16 सरल नेपाली

इस्राएलका राजा येहूका राजकालको सातौँ वर्षमा योआश यहूदाका राजा भए र उनले चालीस वर्ष यरूशलेममा राज्‍य गरे। उनकी आमा बेर्शेबा सहरकी सिब्‍या थिइन्। आफ्‍नो जीवनभरि उनले परमप्रभुलाई खुसी पार्ने काम गरे किनभने यहोयादा पूजाहारीले त्‍यस्‍तो शिक्षा दिएका थिए। तापनि मूर्तिपूजकहरूको पूजा-स्‍थल भत्‍काइएनन् र मानिसहरूले त्‍यहाँ बलि चढाउन र धूप बाल्‍न छोडेनन्। योआशले पूजाहारीहरूलाई बोलाए र परमप्रभुको मन्‍दिरमा सधैँ तोकिएको भेटी, आफ्‍नो भाकलको भेटी तोकिएको दाम र राजीखुसीले चढाएका सबै धन जम्‍मा गर्ने आज्ञा दिए। आफूले ज-जसको सेवा गर्थे, तिनीहरूले ल्‍याएका धनको निम्‍ति हरेक पूजाहारी जिम्‍मेवार थिए र आवश्‍यकताअनुसार मन्‍दिर मरमत गर्न त्‍यो धन खर्च गरिन्‍थ्‍यो। तर योआशका राज्‍यकालको तेईसौं वर्षसम्‍म पूजाहारीहरूले मन्‍दिरको केही मरमत गरेका थिएनन्। यसकारण उनले यहोयादा र अरू पूजाहारीहरूलाई बोलाएर सोधे, “तिमीहरू किन मन्‍दिर मरमत गर्दैनौ? अब उसो पाएका पैसा आफैं नराख्‍नू र बुझाइहाल्‍नू र मरमतको काम हुनुपर्छ।” पूजाहारी त्‍यसमा राजी भए र आफैंले मन्‍दिर मरमत गर्न राजी भए। यहोयादाले एउटा सन्‍दुक लिएर त्‍यसको ढकनीमा प्‍वाल पारे र परमप्रभुको मन्‍दिरमा पस्‍दा दाहिनेपट्टि पर्ने वेदीको छेउमा राखे। परमप्रभुको मन्‍दिरको ढोकामा सेवा गर्ने पूजाहारीहरूले त्‍यस सन्‍दुकमा भक्तहरूले दिएका पैसा हाल्‍थे। सन्‍दुकमा धेरै धन भरिएपछि राजकीय अधिकारी र मुख्‍य पूजाहारी आउँथे र पैसा गनेर थैलामा भर्थे। त्‍यसको ठीक हिसाब लिएपछि तिनीहरूले परमप्रभुको मन्‍दिरमा काम गर्नेहरूका हातमा धन दिन्‍थे अनि तिनीहरूले त्‍यसबाट मन्‍दिर बनाउनेहरू, सिकर्मीहरू र डकर्मीहरू, ढुङ्गा काट्‍नेहरूका ज्‍याला दिन्‍थे, परमप्रभुको मन्‍दिरको मरमतको काममा लाग्‍ने काठपात र ढुङ्गाहरू किन्‍थे र अरू सबै चाहिने खर्च गर्थे। तर चाँदीका कचौरा, डबका, तुरही वा पानससित चलाउने औजार वा अरू कुनै चाँदी वा सुनका सामान बनाउने काममा त्‍यस धनबाट खर्च गरिंदैनथ्‍यो। त्‍यो सबै धन काम गर्नेहरूलाई ज्‍याला दिन र मरमतको लागि चाहिने चीजबीज किन्‍न मात्र खर्च गरिन्‍थ्‍यो। कामको जिम्‍मा लिने कारिन्‍दाहरू सम्‍पूर्ण इमानदार थिए र तिनीहरूबाट खर्च भएको धनको हिसाब लिने दरकार हुँदैनथ्‍यो। पापबलि र दोषबलिका रूपमा दिइएको धन त्‍यस परमप्रभुको मन्‍दिरमा जम्‍मा गरिंदैनथ्‍यो। त्‍यस्‍ता भेटीचाहिँ पूजाहारीहरूको हुन्‍थ्यो।

२ राजा 12 पढ्नुहोस्