YouVersion लोगो
खोज आइकन

२ इतिहास 26

26
यहूदाका राजा उज्‍जियाह
(२ राजा १४:२१-२२; १५:१-७)
1यहूदाका सबै मानिसहरूले अमस्‍याहको सोह्र वर्ष पुगेको छोरो उज्‍जियाहलाई बुबापछि राजा हुनलाई चुने। 2(अमस्‍याहको मृत्‍युपछि उज्‍जियाहले एलात सहर आफ्‍नो अधीनमा लिई फेरि बनाएका थिए।)
3सोह्र वर्षको उमेरमा उज्‍जियाह राजा भए र यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे। उनकी आमा यरूशलेमकी यकोल्‍याह थिइन्। 4आफ्‍ना बुबाको चालमा चलेर उनले परमप्रभुलाई प्रसन्‍न गराउने काम गरे। 5उनका धार्मिक विषयका सल्‍लाहकार जकरिया जीवित रहुञ्‍जेल उनले विश्‍वासयोग्‍यतासाथ परमप्रभुको सेवा गरे र परमेश्‍वरले उनलाई आशिष् दिनुभयो।
6उज्‍जियाहले पलिश्‍तीहरूसित लडाइँ गरे। उनले गात, यब्‍ने र अश्‍दोद सहरका पर्खालहरू भत्‍काइदिए र अश्‍दोदको छेउ र बाँकी पलिश्‍ती देशमा सुरक्षित सहरहरू बसाले। 7परमेश्‍वरले उनलाई पलिश्‍तीहरू, गूर-बालमा बसेका अरबीहरू र मोनीहरूको हार गराउन सहायता गर्नुभयो। 8अम्‍मोनीहरूले उज्‍जियाहलाई राज कर तिर्थे। उनी यति बलिया भए कि उनको कीर्ति मिश्रमा पनि पुग्‍यो।
9उज्‍जियाहले कुना र बेसीका मूल-ढोकाहरू र जहाँनिर पर्खालका कुना परेका थिए, त्‍यहाँ बुर्जाहरू बनाएर यरूशलेमलाई अझ मजबुत गराए। 10खुला मैदानमा पनि उनले किल्‍लाहरू बनाए र धेरै पानीका कुवाहरू खनाए किनभने पश्‍चिमका डाँडाहरूका फेदीमा र समतल मैदानहरूमा उनका धेरै गाई-वस्‍तुहरू थिए। उनले खेतीको काम मन पराउँथे र मानिसहरूलाई डाँडा-डाँडामा दाखबारी र मलिला भूमिमा खेतबारी लाउन उत्‍साह दिन्‍थे।
11उनको साथमा लडाइँ गर्न सधैँ तयार रहने एउटा ठूलो सेना थियो। राजाका भारदार हनन्‍याहका रेख-देखमा यहीएल र मासेयाह सचिवहरूले सेनाका कागज-पत्र राख्‍थे। 12दुई हजार छ सय अधिकृतहरूले सेनाको अह्रन-खटन गर्थे। 13उनका अधीनमा राजाको निम्‍ति शत्रुहरूका विरुद्धमा राम्ररी लड्‍न सक्‍ने ३,०७,५०० सिपाहीहरू थिए। 14सेनालाई उज्‍जियाहले ढाल, भाला, फलामेटोप, झिलम, धनु-काँड र घुँयेत्रो हान्‍ने ढुङ्गाहरू दिन्‍थे। 15यरूशलेममा राजाका नयाँ-नयाँ यन्‍त्रहरू बनाउने कर्मचारीहरूले काँड र ठूल्‍ठूला ढुङ्गाहरू किल्‍ला र सहरका पर्खालका कुना-कुनाबाट हान्‍नलाई नयाँ किसिमका अस्‍त्रहरू बनाउँथे। उनको कीर्ति सबैतिर फैलियो र परमेश्‍वरबाट सहायता पाएकोले उनी औधी शक्तिशाली भए।
अहङ्कारी भएकोले उज्‍जियाहले दण्‍ड पाउँछन्
16तर शक्तिशाली भएपछि उज्‍जियाह राजा अहङ्कारी भए। त्‍यसैले उनको पतन गरायो। उनले मन्‍दिरभित्र धूप वेदीमा धूप बाल्न पसेर परमेश्‍वरको तिरस्‍कार गरे। 17-18#प्रस्‍थान 30:7,8; गन्ती 3:10राजाको सामना गर्न असी जना बलिया र आँटिला पूजाहारीहरूसाथ लिएर पूजाहारी अजर्याह राजाको पछिपछि गए। तिनीहरूले भने, “उज्‍जियाह! परमप्रभुलाई धूप बाल्‍ने तपाईंको केही अधिकार छैन। हारूनबाट जन्‍मेका पूजाहारीहरू मात्र यस कामको निम्‍ति अभिषेक गरिएका छन्। यो पवित्रस्‍थानबाट जानुहोस्। तपाईंले विश्‍वासघात गर्नुभएको छ, अब परमेश्‍वरको आशिष् तपाईंले पाउनुहुन्‍न।”
19उज्‍जियाह हातमा एउटा धूपदानी लिएर मन्‍दिरभित्र धूप वेदीको छेउमा उभिरहेका थिए। उनी पूजाहारीहरूसित रिसाए। त्‍यतिखेरै उनको निधारमा डरलाग्‍दो कुष्ठरोग निस्‍क्‍यो। 20अजर्याह र अरू पूजाहारीहरूले भयभीत भएर राजाको निधारमा एकोहोरो भएर हेरे र उनलाई मन्‍दिरबाट बिदा हुन कर लाए। उनी हतारसाथ बाहिर निस्‍के किनभने परमप्रभुले उनलाई दण्‍ड दिनुभएको थियो।
21बाँकी जीवनभरि त्‍यस रोगले गर्दा उज्‍जियाह राजा विधिअनुसार अशुद्ध भए। मन्‍दिरभित्र फेरि पस्‍न नसक्‍ने भएर उनी आफ्‍नै भवनमा बस्‍थे। राज्‍यका सबै काम-काज उनका हातबाट खोसियो र उनका छोरा योतामले देशको शासन चलाउँथे।
22उज्‍जियाह राजाले आफ्‍नो शासनकालमा गरेका सबै काम कुराबारे आमोजको छोरो यशैया अगमवक्ताले लेखेका छन्। 23#यशैया 6:1उज्‍जियाह मरे र राजाहरू गाड्‍ने चिहानको नजिकै गाडिए। तर उनको रोगको कारणले उनको लाश राजाहरू गाड्‍ने चिहानमा राखिएन। त्‍यसपछि उनका छोरा योताम राजा भए।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 26: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्