२ इतिहास 14
14
आसा राजाले कूशीहरूलाई जितेका
1अबिया राजा मरे र दाऊदको सहरका राजा गाडिने चिहानमा गाडिए। उनका छोरा आसा उनीपछि राजा भए र उनका शासनकालमा देशमा दश वर्षसम्म शान्ति रह्यो। 2भलो र असल कामहरू गरेर आसाले परमप्रभु आफ्ना परमेश्वरलाई प्रसन्न तुल्याए। 3उनले पराई देवताका वेदीहरू र मूर्ति आराधनाका स्थलहरू हटाए, ढुङ्गाका स्तम्भहरू भँचाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए। 4उनले यहूदाका मानिसहरूलाई परमप्रभु उनीहरूका पुर्खाहरूका परमेश्वरको अगुवाइ खोज्न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न आज्ञा गरे। 5उनले यहूदाका सबै सहरहरूमा भएका अग्ला थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए। उनको शासनमुनि देशले शान्ति पायो। 6देशमा शान्ति भएको कारण उनले यहूदामा किल्ला भएका सहरहरू पनि सुरक्षित पारे। त्यस समय उनलाई कुनै युद्ध गर्नुपरेन किनभने परमप्रभुले उनलाई विश्राम दिनुभएको थियो। 7उनले यहूदाका मानिसहरूलाई भने, “हामी पर्खाल, किल्ला र आग्ला लाउन र बन्द गर्न सकिने मूल-ढोकाहरू बनाएर आफ्ना सहरहरूलाई सुरक्षित बनाऔं। देश हाम्रो हातमा छ किनभने हामीले परमप्रभु आफ्ना परमेश्वरको इच्छा पालन गरेका छौं। उहाँले हाम्रो रक्षा गर्नुभएको छ र हामीलाई चारैपट्टिबाट सुरक्षित राख्नुभएको छ।” राजाले भनेअनुसार तिनीहरूले बनाए र तिनीहरूको फलिफाप भयो। 8आसा राजाका सेनामा ढाल र भाला भिरेका यहूदाका तीन लाख र ढाल र धनु-काँड लिएका बेन्यामीनका दुई लाख असी हजार सिपाहीहरू थिए। ती सबै साहसी र असल तालिम पाएका सैनिकहरू थिए।
9जेरह नाम भएका एक जना कूशीले दश लाख सिपाही र तीन सय रथका सेना लिएर यहूदामाथि आक्रमण गरे अनि मारेशासम्म बढेर आए। 10उनको सामना गर्न आसा अघि बढे। दुवैतिरका सेनाले मारेशाछेउ सपताको बेसीमा आ-आफ्ना स्थान लिए। 11आसाले परमप्रभु आफ्ना परमेश्वरसँग प्रार्थना गरे, “हे परमप्रभु, मलाई सजिलैसित कमजोर सेनालाई पनि बलियो सेनाका सामुन्ने सहायता गर्न सक्नुहुन्छ। परमप्रभु! हाम्रा परमेश्वर! अहिले हामीलाई सहायता गर्नुहोस् किनभने हामी तपाईंमा भर परेका छौं र तपाईंको नाउँमा यो ठूलो सेनासँग लडाइँ गर्न आएका छौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ, तपाईंलाई जित्ने आशा कसैले राख्न सक्दैन।”
12आसा र यहूदाका सेनाले आक्रमण गरे। तिनीहरूले कूशी सेनालाई जिते। कूशीहरू भागे 13र आसा र उनका फौजले तिनीहरूलाई गरारसम्म खेदे। यति विघ्न कूशीहरू मरे कि तिनीहरूको सेना फेरि भेला भएर लड्न सकेन। परमप्रभु र उहाँका सेनाले तिनीहरूलाई आफ्ना वशमा पारे र सेनाले धेरै लुटका सामान हात पारे। 14त्यसपछि तिनीहरूले गरारका छेउछाउका इलाकामा भएका सहरहरू नाश गरे किनभने त्यहाँका मानिसहरू परमप्रभुको डरले थरथरी कामे। सेनाले ती सबै सहरहरू लुटे र धेरै लुटका सामान कब्जा गरे। 15तिनीहरूले केही गोठालाहरूका तम्बु पनि आक्रमण गरे र धेरै भेडा र ऊँटहरू हात पारे। त्यसपछि तिनीहरू यरूशलेम फर्के।
अहिले सेलेक्ट गरिएको:
२ इतिहास 14: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.