YouVersion लोगो
खोज आइकन

२ इतिहास 13

13
अबिया र यारोबामबीच लडाइँ
(१ राजा १५:१-८)
1इस्राएलका राजा यारोबामका राज्‍यकालको अठारौं वर्षमा अबिया यहूदाका राजा भए। 2उनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। उनकी आमा माका गिबा सहरका उरीएलकी छोरी थिइन्।
अबिया र यारोबामका बीच लडाइँ सुरु भयो। 3अबियाले चार लाखको सेना खडा गरे। यारोबामले आठ लाखको सेना लिएर उनको सामना गरे।
4ती सेनाहरूको भेट एफ्राइमको पहाडी इलाकामा भयो। अबिया राजा समारैम डाँडामा चढे र यारोबाम र इस्राएलीहरूलाई यसो भनी कराए, “मेरा कुरा सुन! 5के तिमीहरूलाई थाहा छैन कि परमप्रभु इस्राएलका परमेश्‍वरले दाऊदसित एउटा कहिल्यै नटुट्‍ने करार बाँध्‍नुभएर उनका सन्‍तानलाई सदाकालको निम्‍ति इस्राएलको राज्‍य दिनुभएको हो? 6नबातका छोरा यारोबामले आफ्‍ना राजा सोलोमनका विरुद्धमा विद्रोह गरे। 7पछि उनले केही बेकामका बदमासहरूको एक झुन्‍डलाई साथमा लिएर सोलोमनका छोरा रहबामलाई आफूले भनेअनुसार गर्न कर लाए। त्‍यस बेला रहबाम साना र कलिलै थिए र तिनीहरूको सामना गर्न सकेनन्। 8अब तिमीहरू परमप्रभुले दाऊदका सन्‍तानलाई दिनुभएको राज्‍य-अधिकारको विरुद्धमा लड्‍ने मन गर्छौ। तिमीहरूसित एउटा ठूलो सेना र यारोबामले तिमीहरूका निम्‍ति देवता भनी बनाइदिएका सुनका साँढेहरू छन्। 9तिमीहरूले हारूनका सन्‍तान परमप्रभुका पूजाहारीहरूलाई र लेवीहरूलाई धपायौ। तिनीहरूका ठाउँमा अरू जातिहरूले जसो गर्छन्, त्‍यसै गरी तिमीहरूले आफ्‍ना पूजाहारीहरू खटायौ। एउटा साँढे वा सात वटा भेडा लिएर आउने कुनै पनि मानिस तिमीहरूका ईश्‍वर भनाउँदाहरूका पूजाहारी बनी अर्पित हुन सक्‍छ।
10“तर हामी अझै पनि परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गर्छौं। हामीले आफ्‍ना परमेश्‍वरलाई त्‍यागेका छैनौं। हारूनको वंशमा जन्‍मेका पूजाहारीहरूले आफ्‍ना सेवाकार्य गर्छन्। लेवीहरूले तिनीहरूलाई सघाउँछन्। 11हरेक बिहान र हरेक साँझ तिनीहरूले उहाँलाई धूप जलाउँछन् र पशुका होमबलि चढाउँछन्। विधिअनुसार सुरु गरिएका टेबिलमा तिनीहरूले रोटीका भेटी चढाउँछन् र सुनका सामदानमा हरेक साँझ बत्ती बाल्‍छन्। परमप्रभुले आज्ञा गर्नुभएअनुसार हामी सबै गर्छौं तर तिमीहरूले भने उहाँलाई त्‍यागेका छौ। 12परमेश्‍वर नै हाम्रो अगुवा हुनुहुन्‍छ र उहाँका पूजाहारी तुरही लिएर यहाँ आएका छन्। तुरही बजाएर हामीलाई तिमीहरूका विरुद्धमा लडाइँ गर्न निकाल्‍न तिनीहरू तयार छन्। हे इस्राएलका मानिसहरू हो! आफ्‍ना पुर्खाका परमेश्‍वर परमप्रभुको विरुद्धमा लडाइँ नगर! तिमीहरूको जित हुन सक्‍दैन!”
13त्‍यहीबीच यारोबामले केही फौज यहूदी सेनालाई लुकेर पछिबाट आक्रमण गर्न पठाएका थिए। बाँकी सेना उनका अघि खडा थिए। 14यहूदाका मानिसहरूले आफ्‍ना चारैपट्टि हेरे र आफूलाई शत्रुले दुवैपट्टिबाट घेरेको देखे। तिनीहरूले परमप्रभुलाई सहायताको निम्‍ति पुकारे र पूजाहारीहरूले तुरही फुके। 15यहूदाका मानिसहरू चिच्‍च्‍याएर कराए र अबियाको अगुवाइमा शत्रुमाथि हमला गरे। परमेश्‍वरले यारोबाम र इस्राएली सेनाको हार गराउनुभयो। 16इस्राएलीहरू यहूदावासीहरूका सामुन्‍नेबाट भागे र परमप्रभुले तिनीहरूलाई यहूदावासीहरूका हातमा पारिदिनुभयो। 17अबिया र उनका सेनाले इस्राएलीहरूलाई पूरा हराए। पाँच लाख इस्राएली सबैभन्दा असल सिपाहीहरू मारिए। 18त्‍यसरी यहूदाका मानिसहरू इस्राएलमाथि विजयी भए किनभने तिनीहरू आफ्‍ना पुर्खाहरूका परमेश्‍वर परमप्रभुमा भर परेका थिए।
19अबियाले यारोबामका सेनालाई खेदेर लगे र उनका केही सहरहरू बेथेल, येशना र एप्रोन र तिनका छेउ-छाउका गाउँ-बस्‍तीहरू कब्‍जा गरे। 20अबियाको शासनकालभरि यारोबामले कहिल्‍यै फेरि आफ्‍नो शक्ति पाउन सकेनन्। अन्‍तमा परमप्रभुले उनलाई प्रहार गर्नुभयो र उनी मरे। 21अबिया भने अझ शक्तिशाली भए। उनका चौध जना स्‍वास्‍नीहरू थिए र उनी बाईस छोरा र सोह्र छोरीहरूका बुबा भए। 22अबियाको बाँकी इतिहास, उनले के भने, के गरे, ती सबै कुरा इद्दो अगमवक्ताको इतिहासमा लेखिएको छ।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 13: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्