१ शमूएल 29
29
पलिश्तीहरूले दाऊदलाई स्वागत गर्न छोड्छन्
1पलिश्तीहरूले आफ्ना सारा सेना अपेकमा भेला गरे। इस्राएलीहरूले यिजरेलको बेसीमा एउटा सानो खोलाको छेउमा छाउनी हाले। 2पाँच पलिश्ती राजाहरू सय-सय र हजार-हजारका सङ्ख्यामा आफ्ना मानिसहरूलाई लिएर हिँडे र दाऊद र तिनका मानिसहरू राजा आकीशको सँगसँगै तिनको पछि लागे। 3पलिश्ती सेनापतिहरूले तिनीहरूलाई देखेर, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?” भनी सोधे।
आकीशले उत्तर दिए, “यिनी दाऊद इस्राएलका राजा शाऊलका एउटा अधिकृत हुन्। धेरै दिनदेखि यिनी मसित छन्। यिनी मकहाँ आएदेखि आजसम्म मैले यिनमा केही दोष पाउन सकिनँ।”
4तर पलिश्ती सेनापति आकीशसित रिसाए र तिनलाई यसो भने, “त्यस मानिसलाई तपाईंले दिनुभएको नगरमा फर्काइदिनुहोस्। त्यो हामीसित लडाइँमा नजाओस्। लडाइँ भइरहेको बेलामा त्यो हाम्रा विरुद्धमा जाला। हाम्रा मानिसहरूलाई मार्नुबाहेक अर्को कुन अझ असल उपाय होला, जसद्वारा त्यसले आफ्ना राजाको निगाह पाउन सक्छ? 5#१ शमूएल 18:7; 21:11अन्तमा त त्यो त्यही दाऊद हो, जसको बारेमा आइमाईहरूले नाच्दै यसरी गाएका थिए, ‘शाऊलले हजार-हजारलाई मारे तर दाऊदले लाख-लाखलाई मारे।”
6तब आकीशले दाऊदलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी म भन्दछु कि तिमी सोझो मानिस हौ। तिमी मसँग आएर यस युद्ध लडेको म चाहन्छु। मकहाँ आएको दिनदेखि मैले तिमीमा केही दोष पाइनँ। तर यी अरू राजाहरूले तिमीलाई मन पराउँदैनन् 7र शान्तिमा फर्किजाऊ, तिनीहरूलाई असन्तुष्ट गराउने केही काम नगर।”
8दाऊदले जवाफ दिए, “हजुर! मैले के दोष गरें? तपाईंले भनेअनुसार मैले तपाईंको सेवा गर्न थालेको दिनदेखि ममा केही दोष पाउनुभएको छैन भने किन म तपाईं मेरा मालिक र राजासँग गई शत्रुहरूसित लडाइँ गर्न नपाउने?”
9“म तपाईंको कुरा मान्छु,” आकीशले भने, “म तिमीलाई परमेश्वरको दूतजस्तै विश्वासयोग्य ठान्छु। तर यी अरू राजाहरू भन्छन् कि तिमी हामीसित लडाइँमा जान सक्दैनौ। 10यसकारण तिमीहरू सबै जना, जसले शाऊललाई छोडी मकहाँ आएका छौ, भोलि बिहान सबेरै उठेर उज्यालो हुने बित्तिकै जानुपर्नेछ।”
11यसकारण भोलिपल्ट बिहानै दाऊद र तिनका मानिसहरू पलिश्तीहरूको देश जान बिदा भए र पलिश्तीहरूचाहिँ यिजरेलपट्टि लागे।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 29: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.