YouVersion लोगो
खोज आइकन

१ शमूएल 1:9-20

१ शमूएल 1:9-20 सरल नेपाली

एक दिन शीलोमा परमप्रभुको भवनमा भोजन गरिसकेपछि हन्‍नाह उठिन्। तिनी औधी दु:खित थिइन् र परमप्रभुलाई प्रार्थना गर्दा मुटु छेडिने गरी रोइन्। त्‍यस बेला पूजाहारी एली ढोकाको नजिक बसिरहेका थिए। हन्‍नाहले एउटा गम्‍भीर प्रतिज्ञा गरिन्, “हे सर्वशक्तिमान् परमप्रभु! म तपाईंकी दासीप्रति निगाह गर्नुहोस्। मेरो कष्‍ट हेर्नुहोस् र सम्‍झना गर्नुहोस्। मलाई नभुल्‍नुहोस्। तपाईंले मलाई एउटा छोरा दिनुभयो भने म प्रतिज्ञा गर्दछु कि म त्‍यसलाई त्‍यसको जीवनभरि तपाईंलाई अर्पण गर्नेछु र त्‍यसको केश कहिल्‍यै काटिनेछैन।” हन्‍नाहले धेरै बेरसम्‍म परमप्रभुलाई प्रार्थना गरिरहिन् अनि एलीले तिनका ओठ चलेका हेरिरहे। हन्‍नाहले मनमनै प्रार्थना गर्दै थिइन्, तिनका ओठ चल्‍दै थिए तर केही शब्‍द निस्‍कँदैनथ्‍यो। यसकारण एलीले तिनी मातेकी भन्‍ने सोचेर तिनलाई भने, “आफूलाई मातेकी देखाउन छोड। मद्य पिउन छोडिदेऊ र होशमा आऊ!” “होइन, म मातेकी छैनँ हजुर!” तिनले भनिन्, “मैले मद्य पिएकी छैनँ। म हताश भएकी छु र परमप्रभुको अघि आफ्‍ना दु:ख पोखाउँदै प्रार्थना गरिरहेकी छु। मलाई व्‍यर्थकी स्‍त्री नठान्‍नुहोस्। म अत्‍यन्‍त दु:खित छु र यसरी प्रार्थना गरिरहेकी छु।” एलीले भने, “शान्‍तिसित जाऊ। इस्राएलका परमेश्‍वरले तिमीले उहाँलाई मागेको कुरा तिमीलाई देऊन्।” तिनले उत्तर दिइन्, “म तपाईंको दयाको योग्य हुन सकूँ।” तब तिनी गइन् र केही खाना खाइन् अनि अफसोस गर्न छोडिन्। भोलिपल्‍ट एल्‍काना र तिनको परिवार बिहान सबेरै उठे र परमप्रभुको आराधना गरेर आफ्‍नो घरतिर रामामा गए। एल्‍कानाले आफ्‍नी स्‍वास्‍नी हन्‍नाहसित सहवास गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो। यसरी हन्‍नाह गर्भवती भइन् र एउटा छोरो जन्‍माइन्। त्‍यसको नाम तिनले शमूएल राखिन् र भनिन्, “मैले त्‍यसलाई परमप्रभुसित मागेकी छु।”

१ शमूएल 1 पढ्नुहोस्