हन्नाहले मनमा ठूलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना चढ़ाइन्। हन्नाहले यी कुरा भनेर भाकल गरिन्, “हे सर्वशक्तिमान् परमप्रभु, यदि तपाईंले मेरो दु:ख बुझेर ममाथि कृपा-दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, अनि यदि तपाईंले मलाई भुल्नुभएन, र एउटा बालक दिनुभयो भने, म त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु, र त्यसको कपालमा कहिल्यै छुरा लाग्नेछैन।” तिनले धेरै बेरसम्म परमप्रभुको सामु प्रार्थना गरिन्। एलीले तिनका ओठ चलेका देखे। हन्नाह मनमनै प्रार्थना गरिरहेकी थिइन्, अनि तिनका ओठ चले तापनि सोरचाहिँ सुनिँदैनथ्यो। एलीले तिनी मातेकी स्त्री हो भनी ठाने। अनि उनले तिनलाई भने, “तिमी कहिलेसम्म यस नशामा रहन्छ्यौ? मद्य त्यागिदेऊ।” तिनले जवाफ दिइन्, “यस्तो होइन, मेरा प्रभु!” म ठूलो पीरमा परेकी स्त्री हुँ। मैले कुनै मद्य पिएकी छैनँ। म त परमप्रभुको सामु मेरो मनको दु:ख पोखिरहिछु। हजूर, मलाई यस्तो नीच नठान्नुहोला। मेरो दु:ख र कष्ट ज्यादा भएको कारण म प्रार्थना गरिरहिछु।” एलीले भने, “शान्तिसित जाऊ, अनि इस्राएलका परमेश्वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।” हन्नाहले भनिन्, “म तपाईंको दयाको योग्य हुन सकूँ।” त्यसपछि तिनी गइन् र केही खानेकुरा खाइन्, अनि तिनी फेरि उदास भइनन्। भोलिपल्ट तिनीहरू बिहानै उठे, र परमप्रभुलाई दण्डवत् गरेर आफ्नो घर रामामा फर्के। आफ्नी पत्नी हन्नाहसित एल्कानाको सहवास भयो, र परमप्रभुले हन्नाहलाई सम्झनुभयो। हन्नाह गर्भवती भइन्, र बेला पुगेपछि तिनले एक जना छोरो जन्माइन्। तिनले त्यसको नाउँ शमूएल राखिन्, किनभने “मैले त्यसलाई परमप्रभुसँग मागेकी हुँ” भनी तिनी भन्थिन्।
१ शमूएल 1 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 1:10-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू