YouVersion लोगो
खोज आइकन

१ शमूएल 1:1-8

१ शमूएल 1:1-8 सरल नेपाली

एफ्राइम कुलका एक जना एल्‍काना नाम गरेका मानिस थिए। उनी एफ्राइमको पहाडी मुलुकको रामतैम भन्‍ने सहरमा बास गर्थे। उनी यरोहामका छोरा र एलीहूका नाति थिए अनि सूप वंशका र तोहूका घरानाका थिए। एल्‍कानाका दुईटी स्‍वास्‍नीहरू थिए, हन्‍नाह र पनिन्‍नाह। पनिन्‍नाहको सन्‍तान थियो; तर हन्‍नाहको थिएन। हरेक साल एल्‍काना आराधना गर्न र सर्वशक्तिमान् परमेश्‍वरलाई बलि चढाउन रामतैमबाट शीलो जान्‍थे। शीलोमा परमप्रभुका पूजाहारीहरू एलीका दुई छोरा होप्‍नी र पीनहास थिए। बलि चढाएको बेला हरेक समय एल्‍कानाले मासुको एक भाग पनिन्‍नाह र उनका छोरा-छोरीहरूलाई दिन्‍थे। उनले हन्‍नाहलाई औधी माया गरे तापनि तिनलाई एकै भाग मात्र दिन्‍थे किनभने परमप्रभुले हन्‍नाहलाई बालबच्‍चा दिनुभएको थिएन। तिनकी सौता पनिन्‍नाहले तिनलाई दु:ख दिन्‍थी र खसालेर कुरा गर्थी किनभने परमप्रभुले तिनलाई बाँझी राख्‍नुभएको थियो। यो हरेक साल भइरहन्‍थ्‍यो। जहिले-जहिले तिनीहरू परमप्रभुको भवनमा जान्‍थे, पनिन्‍नाहले हन्‍नाहको मनलाई यति दु:खित पारिदिन्‍थी कि हन्‍नाह रोएर खान छोडिदिन्‍थी। तिनका लोग्‍ने एल्‍कानाले सोध्‍थे, “हन्‍नाह, तिमी किन रुन्‍छ्यौ? किन तिमी खान्‍नौ? किन तिमी सधैँ यस्‍तो अफसोस गछ्‌र्यौ? के म तिम्रो निम्‍ति दश छोराहरूभन्दा बढ्ता छैन र?”

१ शमूएल 1 पढ्नुहोस्