YouVersion लोगो
खोज आइकन

१ राजा 5

5
सोलोमनले मन्‍दिर बनाउने तयारी गर्छन्
(२ इतिहास २:१-१८)
1टुरोसका राजा हीराम सधैँ दाऊदका मित्र रहेका थिए। आफ्‍ना पिता दाऊदको स्‍थानमा सोलोमन राजा भएका छन् भनी सुनेर हीरामले तिनीकहाँ राजदूतहरू पठाए। 2सोलोमनले हीरामलाई यो खबर पठाए, 3“आफ्‍ना चारैतिरका शत्रु-देशहरूसित मेरा पिता दाऊदले लगातार लडाइँ गर्नुपरेको थियो। उहाँलाई आफ्‍ना सबै शत्रुहरूमाथि परमप्रभुले विजय नदिउञ्‍जेलसम्‍म परमेश्‍वर परमप्रभुको आराधना गर्न उहाँले मन्‍दिर बनाउन सक्‍नुभएन भनी तपाईं जान्‍नुहुन्‍छ। 4तर परमप्रभु मेरा परमेश्‍वरले अहिले मेरो देशका साँध-सिमानाभित्र मलाई शान्‍ति दिनुभएको छ। मेरो शत्रु छैन र कसैले मलाई हमला गर्ला भन्‍ने डर छैन। 5#2 शमूएल 7:12,13; १ इतिहास 17:11,12‘तँपछि तेरो जुन छोरालाई म राजा बनाउनेछु, त्‍यसले मेरो निम्‍ति एउटा मन्‍दिर बनाउनेछ’ भनी परमप्रभुले मेरा पितासित प्रतिज्ञा गर्नुभएको थियो। अब मैले परमप्रभु मेरा परमेश्‍वरको आराधना गर्न त्यो मन्‍दिर बनाउने निश्‍चय गरेको छु। 6यसकारण मेरो निम्‍ति देवदारु काट्‍नलाई तपाईंका मानिसहरूलाई लेबनान पठाइदिनुहोस्। मेरा मानिसहरूले तिनीहरूसित काम गर्नेछन्। तपाईंका मानिसहरूलाई तपाईंले तोकिदिएअनुसार ज्‍याला दिनेछु। मेरा मानिसहरूले तपाईंका मानिसहरूले जस्‍तो रूख काट्‍न जान्‍दैनन् भनी तपाईं राम्ररी जान्‍नुहुन्‍छ।”
7सोलोमनको खबर पाएर हीराम औधी खुसी भए। तिनले भने, “त्‍यस महान् जातिको राजा हुनलाई परमप्रभुले दाऊदलाई सोलोमनजस्‍ता बुद्धिमान् छोरो दिनुभएको लागि उहाँको प्रशंसा गर।” 8तब हीरामले सोलोमनलाई यो खबर पठाए, “मैले तपाईंको खबर पाएँ र तपाईंले भनेअनुसार गर्न म तयार छु। देवदारु र सल्‍लाका रूखका काठहरू म पठाइदिनेछु। 9मेरा मानिसहरूले मुढाहरू लेबनानबाट समुद्रमा झार्नेछन् र तिनलाई सँगसँगै बाँधेर, किनारै-किनार बगाएर, तपाईंले भनेका ठाउँमा पुर्‍याउनेछन्। त्‍यहाँ मेरा मानिसहरूले ती मुढाहरू खोलिदिनेछन् र तपाईंका मानिसहरूले त्‍यसका जिम्‍मा लिनेछन्। तपाईंले चाहिँ मेरा मानिसहरूलाई खानेकुराको व्‍यवस्‍था गरिदिनुहोला, म यति नै चाहन्‍छु।”
10यसरी हीरामले सोलोमनलाई चाहिएका सबै देवदारु र सल्‍लाका काठहरू जुटाइदिए 11र सोलोमनले हीरामलाई उनका मानिसहरूलाई खुवाउन वर्षेनी दुई हजार टन गहुँ र साँढे चार हजार लिटर शुद्ध भद्राक्षको तेल दिने गरे।
12परमप्रभुले आफ्‍नो प्रतिज्ञा राख्‍नुभयो र सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा मेलमिलाप थियो र तिनीहरूले आपसमा सन्‍धि गरे।
13सोलोमन राजाले सारा इस्राएलबाट तीस हजार मानिसहरू बेगार काम गर्नलाई भेला गरे। 14#१ राजा 12:18अदोनीरामलाई तिनीहरूका मुखिया खटाए। अदोनीरामले बेगारीहरूलाई दश-दश हजार गरी तीन दलमा भाग गरे। प्रत्‍येक दलले लेबनानमा एक महिना र आफ्‍ना देशमा दुई महिना गरेर समय बिताउँथे। 15पहाडी देशमा ढुङ्गा काट्‍न असी हजार र ती ओसार्नलाई सत्तरी हजार मानिसहरूलाई सोलोमनले जम्‍मा गरेका थिए 16र तिनीहरूका काम हेर्न तिनीहरूमाथि तेत्तीस सय मुखियाहरू खटाएका थिए। 17सोलोमन राजाका आज्ञामा तिनीहरूले मन्‍दिरका जग बसाल्‍न असल ठूल्‍ठूला ढुङ्गाहरू बटुले। 18सोलोमन र हीरामका कारिगर र गबाल सहरबाट आएका मानिसहरूले मन्‍दिर बनाउन ती ढुङ्गा र रूखका मुढाहरू तयार पार्थे।

अहिले सेलेक्ट गरिएको:

१ राजा 5: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्