YouVersion लोगो
खोज आइकन

१ राजा 4

4
सोलोमनका भारदारहरू
1सोलोमन इस्राएलका राजा थिए 2र उनका उच्‍च भारदारहरू यी नै थिए:
पूजाहारी सादोकको छोरो अजर्याह
3राजमहलका सचिव शीशाका छोराहरू एलीहोरेफ र अहियाह
कागज-पत्रका अधिकारी अहीलूदका छोरा यहोशापात
4सेनापति यहोयादाका छोरा बनायाह
पूजाहारीहरू सादोक र अबियाथार
5जिल्‍ला अधिकारीका मुखिया नातानको छोरा अजर्याह
राजकीय सल्‍लाहकार नातानको छोरो जाबूद पूजाहारी
6दरबारिया चाकरहरूका अधिकारी अहीशार
बेगारीहरूका अधिकारी अब्‍दाको छोरो अदोनीराम।
7सोलोमनले बाह्र जनालाई इस्राएलका जिल्‍लाहरूमाथि बडा-हाकिम खटाए। तिनीहरूले वर्षमा एक महिनाको हिसाबले आ-आफ्‍ना जिल्‍लाबाट पालैपालो राजा र उनका घरानाको निम्‍ति खानेकुरा जगेडा गरिदिनुपर्थ्‍यो। 8ती बाह्र जिल्‍ला अधिकारीहरू र उनका जिम्‍मामा दिइएका जिल्‍लाहरूका नाम यी हुन्:
एफ्राइमको पहाडी इलाका बेन-हूर
9माकाज, शाल्‍बीम, बेथ-शेमेश, एलोन-बेथहानानमा बेन-देकेर
10अरूब्‍बोतमा, शोको सहरहरू र हेपेरका सबै इलाकामा बेन-हेसेद
11डोरको सबै जिल्‍लामा सोलोमनकी छोरी ताफातलाई विवाह गर्ने बेन-अबीनादाब
12तानाक, मगिद्दो सहरहरू, यिजरेल सहरका दक्षिणमा सार्तान सहरको छेउमा भएको बेथ-शानछेउमा सम्‍पूर्ण भूमि र त्‍यसको इलाका, जुन हाबिल-महोला र योक्‍माम सहरसम्‍म पुगेको छ, तीमाथि अहीलूदका छोरा बाना
13गिलादको रामोत सहर, मनश्‍शेको छोरो याईरका भागमा परेका गिलादका गाउँहरू र बाशानमा अर्गोब प्रान्‍त, मूल-ढोकामा काँसाका बार लाएका र पर्खालले घेरेको जम्‍मा साठी वटा ठूल्‍ठूला सहरहरूमा बेन-गेबेर
14महनोम जिल्‍लामा इद्दोको छोरो अहीनादाब
15नप्‍ताली-भूमिमा सोलोमनकी अर्की छोरी बासमतलाई विवाह गर्ने अहीमास
16आलोत सहर र आशेर-भूमिमा हूशैको छोरो बाना
17इस्‍साखार-भूमिमा पारूहको छोरो यहोशापात
18बेन्‍यामीन भूमिमा एलाको छोरो शिमी
19एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगले राज्‍य गरेका गिलादका भू-भागमा ऊरीको छोरो गेबेर।
यी बाह्र जिल्‍ला अधिकारीहरूबाहेक, सारा देशमाथि एक जना बडा-हाकिम थिए।
सोलोमनको सफल शासनकाल
20यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवाझैँ असङ्‍ख्य थिए। तिनीहरू खान्‍थे, पिउँथे र मोज गर्थे। 21#उत्‍पत्ति 15:18; २ इतिहास 9:26सोलोमनका राज्‍यभित्र यूफ्रेटिस नदीदेखि पलिश्‍त देश र मिश्रको सिमानासम्‍म भएका सबै जातिहरू पर्दथे। तिनीहरूले सोलोमनलाई कर तिर्थे र उनको जीवनभरि उनका अधीनमा रहेका थिए।
22खानाको लागि दिनहुँ सोलोमनलाई पाँच हजार लिटर मैदा र दश हजार लिटर पिठो, 23गोठमा पालेका दश वटा गोरु, चरनमा हुर्केका बीस वटा गोरु र सय वटा भेडाहरू चाहिन्‍थ्‍यो। तीबाहेक मृग, चित्तल, जरायो र असल पंक्षीहरू पनि चलाइन्‍थे।
24यूफ्रेटिस नदीको पश्‍चिममा नदीछेउको तिफसादेखि पश्‍चिमपट्टि गाजा सहरसम्‍म रहेको सम्‍पूर्ण देशमाथि सोलोमनले राज्‍य गर्थे। यूफ्रेटिस नदीका पश्‍चिमपट्टिका सबै राजाहरू उनका अधीनमा थिए र छिमेकीका सबै देशहरूसित उनको मिलाप थियो। 25तिनको जीवनकालभरि यहूदा र इस्राएलका सबै मानिसहरू कुशलसाथ रहे र प्रत्‍येक परिवारको आफ्‍नै दाख र नेभाराका बारीहरू थिए।
26 # १ राजा 10:26; २ इतिहास 1:14; 9:25 सोलोमनका रथका घोडाहरूका निम्‍ति चालीस हजार तबेलाहरू थिए। 27उनका बाह्र जना जिल्‍ला अधिकारीहरूले आ-आफ्‍ना पालोमा परेका महिनामा सोलोमन राजा र उनको दरबारलाई चाहिने खानेकुरा जगेडा गरिदिन्‍थे। दरकार परेको हरेक चीज सधैँ तिनीहरूले दिंदथे। 28हरेक जिल्‍ला-अधिकारीले चाहिएअनुसार आफ्‍ना हिस्‍सामा परेको जौ र पराल, रथ तान्‍ने र अरू घोडाको निम्‍ति पनि दिंदथे।
29परमेश्‍वरले सोलोमनलाई असाधारण बुद्धि, अन्‍तर्दृष्‍टि र नाप्‍न नसकिने ज्ञान दिनुभएको थियो। 30पूर्वका अथवा मिश्रका सबै बुद्धिमान् मानिसहरूभन्दा सोलोमन बढी बुद्धिमान् थिए। 31#भजनसंग्रह 89उनी सबैभन्दा बुद्धिमान् थिए। एतान एज्री, माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा पनि उनी बुद्धिमान् थिए र उनको नाम छिमेकीका सबै देशहरूमा फैलिएको थियो। 32#हितोपदेश 1:1; 10:1; 25:1; श्रेष्‍ठगीत 1:1उनले तीन हजार हितोपदेशहरू र एक हजार र पाँच गीतहरू रचे। 33उनले रूख-पौधा, लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसप भनिने विशेष एउटा झार, पशु-पंक्षी, घस्री हिंड्‍ने जन्‍तु र माछाहरूका बारेमा बताए। 34सारा संसारका राजाहरूले उनको बुद्धिबारे सुने र उनका बुद्धिका कुरा सुन्‍नलाई देश-देशबाट मानिसहरू पठाउँथे।

अहिले सेलेक्ट गरिएको:

१ राजा 4: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्