YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 15:35-58

१ कोरिन्थी 15:35-58 सरल नेपाली

कसैले भन्‍ला, “कसरी मरेको फेरि बिउँतन्‍छ अनि बिउँतदा कस्‍तो शरीर हुन्‍छ?” कस्‍तो अबुझ! तिमीहरूले बीउ छर्दा नमरीकन उम्रँदैन। तिमीहरूले गहुँ वा अरू कुनै अन्‍न छर्दा बीउ मात्रै छर्छौ, बढेको बोट नै त छर्दैनौ। परमेश्‍वरले आफ्‍नो इच्‍छाअनुसार त्‍यस बीउलाई रूप दिनुहुन्‍छ। उहाँले प्रत्‍येक बीउलाई सुहाउने जिउ दिनुहुन्‍छ। सबै प्राणीको शरीर एकै किसिमको शरीर हुँदैन। मानिसको शरीर एक किसिमको छ भने पशुको अर्कै किसिमको अनि चरा-चुरुङ्गीको एक किसिमको छ त माछाको अर्कै किसिमको। आकाशमा हुने घाम, जून र ताराहरूको आफ्‍नै रूप छ, र पृथ्‍वीमा हुने प्राणीहरूको पनि आफ्‍नै रूप छ। सूर्यको एक किसिमको तेज छ, चन्‍द्रमाको अर्कै किसिमको तेज, तारा अझ अर्कै किसिमको। ती ताराहरूमा बेग्‍ला-बेग्‍लै किसिमको तेज छ। मरेकाहरू बिउँतदा पनि यस्‍तै हुन्‍छ। गाडिंदा शरीर मर्ने भएर गाडिन्‍छ; तर बिउँतदा अमर बनेर उठ्‍नेछ। गाडिंदा हाम्रो शरीर नराम्रो र कमजोर हुन्‍छ, फेरि बिउँतदा राम्रो र शक्तिशाली भएर आउँछ। गाडिंदा हाड-मासुको शरीर भएर गाडिन्‍छ, फेरि बिउँतदा आत्‍मिक शरीर भएर बिउँतनेछ। हाड-मासुको शरीर हुन्‍छ, यसरी नै आत्‍मिक शरीर पनि हुन्‍छ। त्‍यसैले धर्मशास्‍त्रमा यो लेखिएको छ, “पहिलो मानिस आदमचाहिँ जीवन पाउने मानिस थिए।” तर आखिरी आदम (ख्रीष्‍ट) चाहिँ जीवन दिने आत्‍मा नै हुनुहुन्‍छ। तैपनि आत्‍मिक पहिलो होइन। हाड-मासुको शरीर नै पहिले आयो अनि त्‍यसपछि आत्‍मिक शरीर आउनुभयो। पहिले आदम पृथ्‍वीको माटोबाट बनियो, दोस्रो आदमचाहिँ स्‍वर्गबाट आउनुभयो। पृथ्‍वीका मानिसहरू माटोले बनाएको जस्‍तै हुन्, स्‍वर्गका मानिसहरूचाहिँ स्‍वर्गबाट आउनुभएका मानिसजस्‍तै हुन्‍छन्। हामीले अहिले माटाले बनेको शरीर लिएका छौं। त्‍यसरी नै पछि हामी स्‍वर्गको मानिसको रूपमा नयाँ शरीर लिनेछौं। भाइहरू, मैले भन्‍न खोजेको चाहिँ यो रगत र मासुले परमेश्‍वरको राज्‍यमा पस्‍ने हक पाउन सक्‍दैन। नाश हुनेले नाश नहुने हक पाउन सक्‍दैन। सुन, म एउटा रहस्‍यको कुरो भन्‍छु, हामी सबै त मर्नेछैनौं, तर सबै जना फेरिनेछौं। त्‍यो आखिरी बिगुलको आवाज हुनेबित्तिकै मरेकाहरू फेरि कहिले नमर्ने भई उठ्‍नेछन्। आँखाकै पलमा हामी फेरिनेछौं। बिगुल बज्‍नेछ र मरेकाहरू कहिले नमर्ने भई हामी सबै फेरिनेछौं। मर्ने अमर बन्‍नुपर्छ, मरेर जाने नमर्नेमा बदलिनुपर्छ। नाश हुने नाश नहुने हुँदा मर्ने नमर्ने भएर फेरिंदा धर्मशास्‍त्रले भनेको कुरा पूरा हुन्‍छ, “मृत्‍यु नै मारियो, जित पूरा भयो,” “खै मृत्‍यु, तैँले कहाँ जितिस्? मृत्‍यु तेरो शक्ति खै?” मृत्‍युको शक्ति पाप हो, पापको शक्ति नै व्यवस्था हो। तर परमेश्‍वरलाई धन्‍यवाद होस्, उहाँले हाम्रो प्रभु येशू ख्रीष्‍टद्वारा हामीलाई जित दिनुहुन्‍छ। त्‍यसैकारण प्‍यारा भाइहरू, प्रभुका कामको लागि बगाएको पसीना खेर जाँदैन। अनि यो कुरालाई मनमा लिएर दह्रो भई नडगी प्रभुको काममा सधैँ लागि रहो।

१ कोरिन्थी 15 पढ्नुहोस्