YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 15:12-34

१ कोरिन्थी 15:12-34 सरल नेपाली

हामी एकातिर ख्रीष्‍ट मरेकोबाट बिउँतनुभयो भनेर प्रचार गर्छौं, अर्कोतिरचाहिँ मरेकाहरू बिउँतदैनन् भनी तिमीहरूका माझमा कति जना हिंड्छन्। यो कसरी हुन सक्‍छ? मरेकाहरू नबिउँतने भए ख्रीष्‍ट पनि बिउँतनुभएन। ख्रीष्‍ट नबिउँतनुभएको भए हामीले गरेको प्रचार र तिमीहरूको विश्‍वास पनि व्‍यर्थ हो। योभन्दा बढी हामी परमेश्‍वरको बारेमा झूटो बोल्‍ने ठहरिन्‍छौं किनभने परमेश्‍वरले ख्रीष्‍टलाई बिउँताउनुभयो भनेर हामीले नै साक्षी दिएका छौं। तर मरेकाहरू नबिउँतने भए परमेश्‍वरले उहाँलाई बिउँताउनुहुने थिएन। मरेकाहरू बिउँतदैनन् भने परमेश्‍वरले ख्रीष्‍टलाई पनि बिउँताउनुभएन। ख्रीष्‍ट बिउँताइनुभएको होइन भने तिमीहरूको विश्‍वास पनि झूटो हो र तिमीहरू अझै आफ्‍नै पापमा छौ। त्‍यसो हो भने ख्रीष्‍टमा विश्‍वास गरेर मर्नेहरू पनि सबै नष्‍ट भए। ख्रीष्‍टमा हाम्रो आशा यस जीवनमा मात्र छ र यस जीवनपछि छैन भने हामी सबै मानिसहरूभन्दा दयालाग्‍दाहरू हौं। तर ख्रीष्‍ट त मरेर बिउँतनुभएकै हो। उहाँ मरेकाहरूमध्‍ये बिउँतने पहिलो हुनुभएकोले अरू मरेकाहरू पनि बिउँताइन्‍छन् भन्‍ने उहाँ नै प्रमाण हुनुहुन्‍छ किनभने एक जना मानिसले गर्दा सबैले मर्नुपर्‍यो। त्‍यसरी नै एकै जना मानिसले गर्दा मरेकाहरू पनि बिउँतनेछन्। जसरी आदममा सबै मर्छन्, त्‍यसरी नै ख्रीष्‍टमा सबैले फेरि जीवन पाउँछन्। तर सबै आ-आफ्‍नो क्रमअनुसार सबैभन्दा पहिले ख्रीष्‍ट बिउँतनुभयो अनि ख्रीष्‍ट फेरि आउनुहुँदा उहाँका विश्‍वासीहरू बिउँतनेछन्। त्‍यसपछि अन्‍त हुनेछ। त्‍यस बेला सबै अरू शासन, अधिकार र शक्तिलाई खारिज गरेर उहाँले आफ्‍नो पूरा राज्‍य परमेश्‍वर पितालाई सुम्‍पिनुहुनेछ। परमेश्‍वरले सबै शत्रुहरूलाई हराएर तिनीहरूलाई उहाँका खुट्टामुनि नपारुञ्‍जेल ख्रीष्‍टले राज गर्नुहुनेछ। सबैभन्दा पछि हराउनुपर्ने शत्रुचाहिँ मृत्‍यु नै हो किनभने धर्मशास्‍त्रले भन्‍छ, “परमेश्‍वरले सब थोकलाई उहाँको खुट्टामुनि पार्नुहुनेछ।” यो भनेको परमेश्‍वर पनि अधीनमा पर्नुहुनेछ भनेको त होइन, तर परमेश्‍वरले नै सबै कुरा ख्रीष्‍टको अधीनमा पारिदिनुहुनेछ भनेको हो। सबै कुरा ख्रीष्‍टको अधीनमा परेपछि परमेश्‍वरका पुत्र ख्रीष्‍ट आफैंचाहिँ उहाँकै खुट्टामुनि सबै कुरा राख्‍नुहुने परमेश्‍वरको अधीनमा रहनुहुनेछ अनि परमेश्‍वरले नै सबैमाथि राज्य गर्नुहुनेछ। फेरि नबिउँतने भए मर्नेको लागि बप्‍तिस्‍मा लिने मानिसहरूलाई के फाइदा भयो? यदि मरेकाहरू बिउँतदैनन् भने किन तिनीहरूलाई त्‍यसको लागि बप्‍तिस्‍मा दिइयो? म पनि किन घरीघरी खतरामा पर्नु? भाइहरू, तिमीहरू र प्रभु येशू ख्रीष्‍टमा भएको मेरो घमण्‍डले म यो भन्‍न सक्‍छु ‘म प्रतिदिन मर्दछु’। मान्‍छेकै भनाइमा ‘मैले एफिससका जङ्गली जनावरसँग लडाइँ गरें भन्दा मलाई के फाइदा भयो? मरेको मानिस बिउँतदैन भने मानिसले भनेझैँ ‘खाऔं, पिऔं, मज्‍जा गरौं भोलि त मरिहालिन्‍छ।’ धोखामा नबस। खराब संगतले असल मानिस पनि बिग्रन्‍छ। होशमा आओ। पाप गर्न छोड। तिमीहरूका लागि लाजको कुरा हो, तर म भन्‍छु तिमीहरूमध्‍ये कतिले परमेश्‍वरलाई चिनेका छैनौ।

१ कोरिन्थी 15 पढ्नुहोस्