YouVersion लोगो
खोज आइकन

१ इतिहास 22

22
1यसकारण दाऊदले भने, “यस ठाउँमा परमप्रभु परमेश्‍वरको मन्‍दिर हुनुपर्नेछ, यहाँ वेदी पनि रहनेछ, त्‍यहाँ इस्राएलका मानिसहरूले होमबलि चढाउनेछन्।”
मन्‍दिर बनाउने तयारी
2दाऊद राजाले इस्राएल देशमा रहेका सबै विदेशीहरूलाई एकसाथ भेला हुने आज्ञा गरे र तिनीहरूलाई काम गर्न लाए। तिनीहरूमध्‍ये कतिले मन्‍दिर बनाउन ढुङ्गाका टुक्राहरू तयार पारे। 3उनले काठका ढोकाहरूको निम्‍ति किला र चेपुवाहरू बनाउन धेरै फलाम दिए। कसैले जोख्‍न नसक्‍ने गरी उनले काँसा दिए। 4उनले टुरोस र सीदोनका मानिसहरूबाट प्रशस्‍त मात्रामा देवदारुका मूढाहरू ल्‍याउने प्रबन्‍ध गरे। 5दाऊदले मनमा सोचे, “मेरो छोरो सोलोमनले बनाउने मन्‍दिर गौरवशाली र सारा जगत्‌मा प्रसिद्ध हुनुपर्छ। तर त्‍यो कलिलै र अन्‍जान छ र मैले नै त्‍यसको लागि तयार गर्नुपर्छ।” त्‍यसो भनेर आफू मर्नुअघि दाऊदले प्रशस्‍त सामान जगेडा गरिदिए।
6उनले आफ्‍नो छोरो सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए। 7#2 शमूएल 7:1-16; १ इतिहास 17:1-14दाऊदले आफ्‍नो छोरोलाई भने, “छोरो, परमप्रभु मेरा परमेश्‍वरको आदरमा म एउटा मन्‍दिर बनाउन चाहन्‍थें। 8तर परमप्रभुले मलाई भन्‍नुभयो, ‘तैँले धेरै युद्ध गरिस् र मानिसहरूलाई मारिस्।’ यसरी मैले धेरै रगत बगाउने काम गरेको हुनाले उहाँले आफ्‍नो लागि मेरो हातले मन्‍दिर बनाउन दिनुभएन। 9तर उहाँले मसित एउटा प्रतिज्ञा गर्नुभयो। उहाँले भन्‍नुभयो, ‘तेरो एउटा छोरो हुनेछ। त्‍यसले शान्‍तिमा राज्‍य गर्नेछ किनभने म त्‍यसलाई त्‍यसका सबै शत्रुहरूबाट शान्‍ति दिनेछु। त्‍यसको नाम सोलोमन हुनेछ किनभने त्‍यसका राज्‍यकालमा म इस्राएललाई शान्‍ति-सुरक्षामा राख्‍नेछु। 10त्‍यसले मेरो निम्‍ति एउटा मन्‍दिर बनाउनेछ, त्‍यो मेरो छोरो हुनेछ र म त्‍यसको बुबा हुनेछु। त्‍यसको वंशले सदाकाल इस्राएलमा राज्‍य गर्नेछ’।”
11दाऊदले अरू भने, “मेरो छोरो, अब परमप्रभु तिम्राहरूका परमेश्‍वर तिमीसित होऊन् र उहाँको निम्‍ति एउटा मन्‍दिर बनाउन तिमीलाई सफल तुल्‍याउने उहाँको प्रतिज्ञा पूरा गरून्। 12अनि परमप्रभु तिम्रा परमेश्‍वरले उहाँका नियमअनुसार इस्राएलमाथि राज्‍य गर्ने बुद्धि र अन्‍तर्दृष्‍टि तिमीलाई देऊन्। 13#यहोशू 1:6-9परमप्रभुले इस्राएलका निम्‍ति मोशाद्वारा दिनुभएका सबै नियमहरू तिमीले पालन गर्‍यौ भने तिमी सफल हुनेछौ। सङ्कल्‍प गर र भरोसा राख र केही कुराको डर नमान। 14मन्‍दिरको कुराचाहिँ मैले आफ्‍नो मेहनतले मन्‍दिर बनाउनलाई ३,४०० टन सुन र ३४,००० टन चाँदी बटुलेको छु। त्‍यसबाहेक प्रशस्‍त काँसा र फलाम बटुलेको छु। मैले काठ र ढुङ्गा पनि तयार गरेको छु तर तिमीले अझै जोहो गर्नुपर्नेछ। 15तिमीसित काम गर्ने मानिसहरू धेरै छन्। ढुङ्गाको खानिमा काम गर्नेहरू, सिकर्मी, डकर्मीहरू र हरेक प्रकारका कारिगरहरू धेरै सङ्‍ख्‍यामा छन्। 16सुन र चाँदी, काँसा र फलामका काम गर्ने कारिगरहरू धेरै छन्। अब काम सुरु गर र परमप्रभु तिमीसित रहून्।”
17दाऊदले सोलोमनलाई सघाउने आज्ञा इस्राएलका सबै अगुवाहरूलाई दिए। 18उनले भने, “परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित रहनुभएको छ र सबैतिर तिमीहरूलाई शान्‍ति दिनुभएको छ। यस देशमा बास गर्ने सबै मानिसहरूमाथि उहाँले मलाई विजय दिनुभयो र अब तिनीहरू तिमीहरू र परमप्रभुको अधीनमा भएका छन्। 19अब आफ्‍ना सारा मन र प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गर। मन्‍दिर बनाउन सुरु गर र त्‍यसमा परमप्रभुको करारको सन्‍दुक र उहाँलाई पुज्‍दा प्रयोग गरिने सबै पवित्र थोकहरू राख।”

अहिले सेलेक्ट गरिएको:

१ इतिहास 22: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्