१ इतिहास 11
11
दाऊद इस्राएल र यहूदाका राजा हुन्छन्
(२ शमूएल ५:१-१०)
1इस्राएलका सबै मानिसहरू हेब्रोनमा दाऊदकहाँ गएर तिनलाई भने, “हामी तपाईंका हाडनाता हौं। 2बितेका समयमा शाऊल राजा हुँदा पनि तपाईंले इस्राएलका मानिसलाई लडाइँमा अगुवाइ गर्नुभएको हो र परमप्रभु तपाईंका परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि तपाईंले उहाँको प्रजालाई डोर्याउनुहुनेछ र तिनीहरूका राजा हुनुहुनेछ।” 3यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊद राजाकहाँ आए। तिनले तिनीहरूसँग एउटा पवित्र सन्धि गरे। तिनीहरूले दाऊदलाई अभिषेक गरे र जसरी परमपभुले शमूएलद्वारा प्रतिज्ञा गर्नुभएको थियो, त्यसरी उनी इस्राएलका राजा भए।
4 #
यहोशू 15:63; न्यायकर्ता 1:21 दाऊद राजा र सबै इस्राएलीहरू गएर यरूशलेम सहरमाथि आक्रमण गरे। त्यस सहरलाई त्यति बेला यबूस भनिन्थ्यो र त्यस देशका आदिवासी यबूसीहरू त्यहीँ बास गरिरहेका थिए। 5यबूसीहरूले दाऊदलाई तिमी यस सहरमा कहिल्यै पस्न सक्नेछैनौ भने तर दाऊदले तिनीहरूको सियोनको किल्ला कब्जा गरे र त्यो “दाऊदको सहर” भनी कहलाइन लाग्यो। 6दाऊदले भने, “कुनै यबूसीलाई मार्ने पहिलो व्यक्ति सेनापति बनाइनेछ!” योआब, जसकी आमा सरूयाह थिइन्, लडाइँ गर्दै अघि बढे र सेनापति भए। 7दाऊद गएर किल्लामा बसेका हुनाले त्यसलाई ‘दाऊदको सहर’ भन्न लागे। 8डाँडाको पूर्वपट्टि माटो भरेर जमिन ठीक पारेको ठाउँमा सुरु गरी उनले सहर नयाँ बनाए। योआबले सहरको बाँकी भाग सुधारे। 9दाऊद झन्-झन् शक्तिशाली हुँदैगए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्थ्यो।
दाऊदका प्रसिद्ध वीरहरू
(२ शमूएल २३:८-३९)
10दाऊदका नाम चलेका सिपाहीहरू यिनीहरू हुन्। इस्राएलका बाँकी मानिसहरूसित मिलेर परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार तिनीहरूले उनलाई राजा हुन सघाए र उनको राज्य दरिलो बनाइराखे।
11सबैभन्दा पहिला हक्मोनी गोत्रका याशोबाम, जो ‘तीन प्रख्यात’ का अगुवा कहलाउँथे। उनी एक्लै एउटा युद्धमा भाला लिएर तीन सय जनासँग लडे र सबैलाई मारे। 12ती प्रसिद्ध ‘तीन प्रख्यात’ दोस्रो थिए— अहोही गोत्रका दोदैको छोरो एलाजार। 13उनले पलिश्तीहरूसित पास-दम्मीमको लडाइँमा दाऊदपट्टि भएर लडे। इस्राएलीहरू भाग्न थाल्दा उनी एउटा जौ-बारीमा थिए। 14बारीका बीचमा उनी र उनका सैनिकहरू खडा भए र पलिश्तीहरूसित लडे। परमप्रभुले उनलाई ठूलो विजय दिनुभयो।
15एक दिन ‘तीस जना मुख्य’ सिपाहीहरूमध्ये तीन जना चट्टानमा गए, जहाँ अदुल्लामको गुफामा दाऊद बसेका थिए। पलिश्तीहरूको एक दल त्यस बेला रपाईको बेसीमा छाउनी हालेर बसेको थियो। 16त्यस बेला दाऊद एउटा सुरक्षित डाँडामा थिए र एक दल पलिश्तीहरूले बेथलेहेम कब्जा गरेका थिए। 17दाऊदलाई घरका मायाले सतायो र उनले भने, “आहा! मलाई कसैले बेथलेहेमको ढोका छेउको कुवाको पानी पिउन ल्याइदिए त कस्तो हुन्थ्यो!” 18ती ‘तीन प्रख्यात’ सिपाहीहरू आफ्ना पाखुराका बलले पलिश्तीहरूका छाउनी बीचबाट छिरेर गए र त्यस कुवाबाट केही पानी उघाएर दाऊदकहाँ ल्याए। तर उनले पानी पिउन मानेनन् बरु त्यो परमप्रभुलाई भेटीस्वरूप चढाए 19र भने, “म यो पानी कहिल्यै पिउन सक्दिनँ! यो पिउनु त यो लिनलाई आफ्ना प्राण खतरामा हाल्ने यी मानिसहरूको रगत पिएजस्तै हुनेछ!” यसकारण उनले पानी पिउन इन्कार गरे। ती ‘तीन प्रख्यात’ सिपाहीहरूका वीरताका काम यी हुन्।
20योआबको भाइ अबीशै ‘तीस जना मुख्य’ का अगुवा थिए। उनले भाला लिएर तीन सय जनासँग लडे। तिनीहरू सबैलाई मारे र ‘तीस जना मुख्य’ का बीचमा प्रसिद्ध भए। 21‘तीस जना मुख्य’ मध्ये उनी सबैभन्दा प्रसिद्ध थिए र तिनीहरूका अगुवा भए तर उनी ‘तीन प्रख्यात’ जतिचाहिँ प्रसिद्ध भएनन्।
22कब्सेलका यहोयादाको छोरो बनायाह एउटा नामी योद्धा थिए। उनले वीरताका धेरै काम गरे, उनले दुई जना ठूला मोआबी योद्धाहरूलाई समेत मारेका थिए। एक चोटि हिउँ परेको दिनमा उनले एउटा खाडलभित्र पसेर एउटा सिंहलाई मारे। 23उनले ठूलो जिउ भएको दुई मिटरभन्दा अग्लो एउटा मिश्रीलाई पनि मारे। त्यस मिश्रीका हातमा एउटा असाध्यै लामो भाला थियो। बनायाहले हातमा एउटा लाठो लिएर त्यसमाथि हमला गरे, मिश्रीका हातबाट भाला खोसे र त्यसैले त्यसलाई मारे। 24बनायाहका वीरताका काम त्यस्ता थिए र उनी ‘तीस जना मुख्य’ मध्ये एक जना थिए। 25‘तीस जना मुख्य’ मा उनी प्रमुख थिए तर ‘तीन प्रख्यात’ जति प्रसिद्ध थिएनन्। दाऊदले उनलाई आफ्ना अङ्गरक्षकहरूका कप्तान बनाए।
26-47अरू प्रमुख सिपाहीहरू यी नै थिए— योआबको भाइ असाहेल, बेथलेहेमका दोदैको छोरो एल्हानान, हारोरीको शम्मोत, पेलोनी हेलेस, तकोका इक्केशको छोरो ईरा, अनातोतको अबीएजेर, हूशातीको सिब्बकै अहोही ईलै, नतोपाती महरै, नतोपाका बानको छोरो हेलेद, बेन्यामीनका गिबाबाट रीबैको छोरो ईथै, पिरातोनी बनायाह, गाशका छेउका बेसीबाट हूरै, अर्बाती अबीएल, बहूरीमको अज्मावेत, शाल्बोनी एल्याहबा, गीजोनी हाशेम, हरारी शागेको छोरो जोनाथन, हरारी साकारको छोरो अहीआम, ऊरको छोरो एलीपाल, मकेराती हेपेर, पेलोनी अहियाह, कर्मेलको हेस्रो, एज्बैको छोरो नारै, नातानको भाइ योएल, हग्रीको छोरो मिभार, अम्मोनी सेलेक, बेरोती नहरै, योआबका हात-हतियार बोक्ने यित्रीका ईरा र गारेब, हित्ती उरियाह, अहलैको छोरो जाबाद, शीजाको छोरो अदीना (रूबेन कुलका एक जना मुखिया र उनका आफ्नै तीस सिपाहीको दल थियो), माकाको छोरो हानान, मित्नी योशापात, अस्तेराती उज्जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल, तिजबाट शिम्रीका छोराहरू येदीएल र योहा, महाबी एलीएल, एल्नामका छोराहरू यरीबै र योशब्याह, मोआबी यित्मा, मेजोबी एलीएल, ओबेद र यासीएल।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 11: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.