जकरिया 12
12
एउटा ईश्वरवाणी
1इस्राएलको विषयमा परमप्रभुको वचन यही हो। आकाश फैलाउनुहुने, पृथ्वीको जग बसाल्नुहुने र मानिसको आत्मा त्यसभित्र रच्नुहुने परमप्रभु घोषणा गर्नुहुन्छ: 2“हेर, म यरूशलेमलाई त्यसका चारैतिरका मानिसहरूका निम्ति धरमराइदिने कचौरा तुल्याइदिनेछु। यरूशलेमको साथै यहूदा घेरामा पर्नेछ। 3त्यस दिन जब पृथ्वीका सबै जाति त्यसको विरुद्धमा जम्मा हुनेछन्, म यरूशलेमलाई सबै जातिहरूका निम्ति एउटा अटल चट्टान तुल्याइदिनेछु। त्यसलाई चलाउने सबैले साह्रै चोट पाउनेछन्। 4त्यस दिन म हरेक घोड़ालाई तर्साउनेछु र त्यसको सवारलाई पागल तुल्याइदिनेछु,” परमप्रभु भन्नुहुन्छ। “यहूदाको घरानामाथि म मेरो दृष्टि राख्नेछु, तर जाति-जातिको हरेक घोड़ालाई म अन्धो तुल्याइदिनेछु। 5तब यहूदाका अगुवाहरूले आ-आफ्नो हृदयमा यसो भन्नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्, किनकि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ’।
6“त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा आगोको मकलजस्तै र बिटाहरूका बीचमा जल्दोबल्दो राँकोजस्तै तुल्याउनेछु। तिनीहरूले चारैतिरका, दाहिने र देब्रे हाततिरका, सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेम आफ्नै स्थानमा कायम रहनेछ।
7“परमप्रभुले यहूदाका वासस्थानहरूलाई पहिले बचाउनुहुनेछ, र यसरी दाऊदका घरानाको गौरव र यरूशलेमका बासिन्दाहरूको गौरव यहूदाको भन्दा बढ्ता नहोस्। 8त्यस दिन परमप्रभुले यरूशलेमका बासिन्दाहरूको रक्षा गर्नुहुनेछ, अनि तिनीहरूमध्ये जो सबैभन्दा कमजोर छ त्यो दाऊदझैँ हुनेछ, र दाऊदको घराना परमेश्वरझैँ, र तिनीहरूका अगिअगि जाने परमप्रभुको स्वर्गदूतझैँ हुनेछ। 9त्यस दिन यरूशलेमको विरुद्धमा आउने सबै जाति-जातिहरूलाई सर्वनाश गर्ने मेरो युक्ति हुनेछ।
तिनीहरूले घोचेको जनको निम्ति शोक
10“अनि म दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्मेको पुत्रको निम्ति गरेजस्तै शोक गर्नेछन्। #मत्ती २४:३०; प्रका १:७ #यूह १९:३७; प्रका १:७ 11मगिद्दोको बेँसीमा हदद-रिम्मोनको जस्तो ठूलो रुवाबासी भएको थियो, त्यस्तै ठूलो विलाप त्यस दिन यरूशलेममा हुनेछ। 12देशभरि प्रत्येक घरानाले, त्यसका पत्नीहरूलेसहित अलग-अलग्गै शोक गर्नेछन्, दाऊदका घरानाकाहरू र तिनका पत्नीहरू, नातानका घरानाकाहरू र तिनका पत्नीहरू, 13लेवीका घरानाकाहरू र तिनका पत्नीहरू, शिमीका वंश र तिनका पत्नीहरू, 14बाँकी रहेका सबै वंशहरू र तिनका पत्नीहरू विलाप गर्नेछन्।”
अहिले सेलेक्ट गरिएको:
जकरिया 12: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012