YouVersion लोगो
खोज आइकन

रूथ 2:8-19

रूथ 2:8-19 NNRV

तब बोअजले रूथलाई भने, “ए मेरी छोरी, सुन त, अरू खेतमा गएर शिला-बाला नखोज, टाढ़ा पनि नजाऊ, तर मेरा ठिटीहरूसँग यतै खोज। मानिसहरूले फसल काटेका ठाउँमा हेर, र शिला-बाला बटुल्‍नेहरूका पछिपछि लाग। तिमीलाई नछुनू भनी मैले यी मानिसहरूलाई आज्ञा दिएको छु। तिमीलाई तिर्खा लाग्‍यो भने गएर मानिसहरूले भरिराखेका गाग्राहरूको पानी खाऊ।” तब रूथ तिनको सामुन्‍ने झुकिन्, र तिनलाई दण्‍डवत्‌ गरेर भनिन्, “म विदेशी हुँ भनी जानेर पनि हजूरले किन यति कृपा गर्नुहुन्‍छ?” बोअजले भने, “आफ्‍नो पतिको मृत्‍युपछि तिमीले आफ्‍नी सासूप्रति गरेका सबै काम मलाई मानिसहरूले भनेका छन्‌। तिमी आफ्‍ना आमा-बुबा र आफ्‍नो जन्‍मभूमि छोड़ेर अपरिचित जातिकहाँ आयौ। परमप्रभुले तिम्रो कामको पुरस्‍कार तिमीलाई देऊन्। जसको छत्रछायामुनि शरण लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इस्राएलका परमेश्‍वरले प्रशस्‍त उपहार देऊन्।” तिनले भनिन्, “म हजूरकी कमारी नभए तापनि हजूरले साँच्‍ची नै मलाई शान्‍ति दिनुभएको छ र दयाको कुरा गर्नुभएको छ। हजूरको निगाह पाइरहूँ।” जब खाने बेला भयो तब बोअजले तिनलाई भने, “यहाँ आएर केही खाऊ, र तिम्रो रोटी सिर्कामा चोप।” तब तिनी कटनी गर्नेहरूसँगै बसिन्, र बोअजले तिनलाई केही भुटेको अन्‍न दिए। तिनले पेटभरि खाइन्‌ र केही उबारेर राखिन्‌। अनि जब तिनी शिला-बाला बटुल्‍नलाई उठिन्‌ तब बोअजले आफ्‍ना मानिसहरूलाई यसो भनेर आज्ञा दिए, “त्‍यसलाई बिटाहरूका बीच-बीचमा पनि शिला-बाला बटुल्‍न देओ। त्‍यसलाई नहप्‍काओ, बरु अन्‍न बाँधेका बिटाहरूबाट तिमीहरूले केही निकालेर छोड़िदेओ, र त्‍यसलाई नहप्‍काईकन टिप्‍न देओ।” यसैले रूथ साँझसम्‍मै खेतमा शिला-बाला बटुल्‍दैरहिन्, अनि जब तिनले बटुलेका शिला-बाला माड़िन्‌ तब पाँच पाथी जति भयो। अनि त्‍यो बोकेर तिनी सहरमा आइन्, अनि तिनकी सासूले तिनले बटुलेर ल्‍याएकी धेरै शिला-बाला देखिन्‌। त्‍यसपछि रूथले आफूले खाएर उबारेको कुरो पनि निकालेर तिनलाई दिइन्‌। तिनकी सासूले तिनलाई सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्‍यौ? तिमीले कहाँ काम गर्‍यौ? ती मानिस धन्‍यका होऊन्‌ जसले कृपा गरी तिम्रो हेरचाह गरे।” यसैकारण तिनले आफ्‍नी सासूलाई आफू कसकहाँ काम गरिन्‌ भनी बताइदिइन्‌। तिनले भनिन्, “मैले साथै काम गरेका मानिसको नाउँ बोअज रहेछ।”