YouVersion लोगो
खोज आइकन

रोमी 2:1-13

रोमी 2:1-13 NNRV

यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्‍यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्‍यही काम गर्छौ। यस्‍ता काम गर्नेहरूमाथि परमेश्‍वरको इन्‍साफ ठीकसँग पर्छ भनेर हामी जान्‍दछौं। ए मानिस, तिमीले यस्‍ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्‍यही काम गर्छौ भने, के परमेश्‍वरको इन्‍साफबाट उम्‍कन्‍छु भन्‍ने तिमी ठान्‍छौ? अथवा परमेश्‍वरको कृपाले तिमीलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्‍ततालाई तुच्‍छ ठान्‍छौ? तर परमेश्‍वरको धार्मिक इन्‍साफ प्रकट हुने त्‍यस क्रोधका दिनको लागि आफ्‍नो कठोर र अपश्‍चात्तापी हृदयले गर्दा तिमीले आफ्‍नो निम्‍ति क्रोध थुपारिरहेछौ। किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ। धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ। तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ। खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्‍ट र आपद्‌ आइपर्नेछ, पहिले यहूदीमाथि र अन्‍यजातिहरूमाथि पनि। तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्‍यजातिलाई पनि गौरव, इज्‍जत र शान्‍ति प्राप्‍त हुनेछ। किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न। सबै जसले व्‍यवस्‍थाविना पाप गरेका छन्, तिनीहरू व्‍यवस्‍थाविना नै नष्‍ट पनि हुनेछन्, र व्‍यवस्‍थामुनि रहेर पनि पाप गर्नेहरूको इन्‍साफ व्‍यवस्‍थाद्वारा नै हुनेछ। किनकि व्‍यवस्‍था सुन्‍नेहरू परमेश्‍वरको सामुन्‍ने धर्मी ठहरिँदैनन्, तर व्‍यवस्‍था पालन गर्नेहरू धर्मी ठहरिनेछन्‌।