YouVersion लोगो
खोज आइकन

प्रकाश 22

22
जीवनको नदी
1तब तिनले मलाई स्‍फटिकजस्‍तै चहकिलो जीवनका पानीको नदी देखाए। त्‍यो नदी परमेश्‍वरको र थुमाको सिंहासनबाट निस्‍की #इज ४७:१; जक १४:८ 2त्‍यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो। त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए।#उत २:९; इज ४७:१२ 3अबदेखि उसो त्‍यहाँ कहिल्‍यै सराप हुनेछैन। परमेश्‍वर र थुमाको सिंहासन त्‍यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्‌।#जक १४:११ 4तिनीहरूले उहाँको मुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। 5त्‍यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्‍यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूको उज्‍यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्‍य गर्नेछन्‌।#यशै ६०:१९; दान ७:१८
6तिनले मलाई भने, “यी वचन भरपर्दा र सत्‍य छन्‌। अब चाँड़ै हुन आउने कुराहरू आफ्‍ना दासहरूलाई देखाउन परमप्रभु, अगमवक्ताहरूका आत्‍माका परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो।”
येशू चाँडै आउँदैहुनुहुन्छ
7 “हेर, म चाँड़ै आउँदैछु। यस पुस्‍तकको अगमवाणीका वचन पालन गर्ने धन्‍यको हो।”
8यी कुरा सुन्‍ने र देख्‍ने म यूहन्‍ना हुँ। जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने स्‍वर्गदूतको पाउमा दण्‍डवत्‌ गर्न म घोप्‍टो परें। 9तर तिनले मलाई भने, “हेर, तिमीले यसो गर्नुहुँदैन। म त तिम्रो र अगमवाणी बोल्‍ने तिम्रा भाइहरू र यस पुस्‍तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर।”
10तब तिनले मलाई यसो भने, “यस पुस्‍तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ। 11दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस्, अश्‍लील काम गर्नेले अश्‍लील काम गरिरहोस्, धर्मात्‍माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्‌।”#दान १२:१०
12 “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ। #यशै ४०:१०; ६२:११; भज २८:४; यर १७:१० 13म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ। #प्रका १:८,१७; २:८; यशै ४०:६; ४८:१२
14 “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्‍न पाऊँ भनी आफ्‍ना वस्‍त्र धुनेहरू धन्‍यका हुन्‌। #उत २:९; ३:२२ 15बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌।
16 “म येशूले आफ्‍ना दूतलाई तिमीकहाँ मण्‍डलीहरूका निम्‍ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्‍तान, अनि बिहानको चहकिलो तारा म नै हुँ।” #यशै ११:१,१०
17पवित्र आत्‍मा र दुलही भन्‍नुहुन्‍छ, “आउनुहोस्‌।” जसले सुन्‍छ त्‍यसले भनोस्, “आउनुहोस्‌।” जो तिर्खाउँछ त्‍यो आओस्, जसले इच्‍छा गर्छ त्‍यसले जीवनको पानी सित्तैँमा लिओस्‌।#यशै ५५:१
18यस पुस्‍तकको अगमवाणीका वचन सुन्‍ने हरेक मानिसलाई म चेताउनी दिन्‍छु:
यदि कसैले तिनमा थप्‍यो भने यस पुस्‍तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्‍यसमाथि थपिदिनुहुनेछ। 19अनि कसैले यस अगमवाणीको पुस्‍तकका वचनबाट केही घटायो भने, यस पुस्‍तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्‍यसले पाउने हिस्‍सा परमेश्‍वरले त्‍यसबाट खोस्‍नुहुनेछ। #व्‍य ४:२; १२:३२
20यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, “निश्‍चय, म चाँड़ै आउँदैछु।”
आमेन, आउनुहोस्, हे प्रभु येशू।
21प्रभु येशूको अनुग्रह सबै सन्‍तहरूसँग रहोस्‌। आमेन।

अहिले सेलेक्ट गरिएको:

प्रकाश 22: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्