YouVersion लोगो
खोज आइकन

प्रकाश 19:11-16

प्रकाश 19:11-16 NNRV

मैले स्‍वर्ग उघ्रेको देखें र त्‍यहाँ एउटा सेतो घोडा थियो। त्‍यसमाथि सवार हुनुहुने “विश्‍वासयोग्‍य” र “सत्‍य” कहलाइनुहुन्‍छ। धार्मिकतामा उहाँले इन्‍साफ र युद्ध गर्नुहुन्‍छ। उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्‍वरको वचन” थियो। स्‍वर्गका सेनाहरू सेता र स्‍वच्‍छ मलमलका वस्‍त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे। जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्‍कन्‍छ, र उहाँले फलामको डन्‍डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वरका क्रोधको दाख-कुण्‍ड उहाँले कुल्‍चनुहुन्‍छ। उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।